काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाण बागी उम्मेदवारलाई फकाउन चितवन पुगेको विषय आफ्नो नोटिसमा रहेको निर्वाचन आयोगले जनाएको छ। सार्वजनिक पदमा रहेको व्यक्ति फिल्डमा पुग्नु आचारसंहिता अनुकुल नहुने आयोगको भनाइ छ ।
‘गठबन्धन र त्यस सन्दर्भको कुरालाई लिएर र उहाँहरुको हिसावलमा उठ्न नपर्ने मान्छेहरु उठिदिनुभयो, अफ्ठ्यारो भयो भन्ने हिसावले मन्त्रीज्यूहरु नै गएको भन्ने जुन कुरा छ । पक्कैपनि आयोगको ध्यानाकर्षण भएको छ’, आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बिहीबारको पत्रकार सम्मेलनमा भने, ‘पब्लिक पोस्ट र पब्लिक रिसोर्सिजमा पक्लिक रिस्पोन्सिबिलिटिज हुन्छ । त्यो हिसाबले हाम्रो आचारसंहिताले त्यो खालको अपेक्षा गर्दैन । यसबारे आयोगले थप निर्णय गर्नेछ ।’
भरतपुर महानगरपालिकाको मेयरमा काँग्रेसका नेता जगन्नाथ पौडेलले बागी उम्मेदवारी दिएपछि उनीसँग डिल गर्न बुधबार चितवन पुगेका थिए ।
राज्यमन्त्री उमेश श्रेष्ठले भरतपुर महानगरमा गठबन्धनकी मेयर उम्मेदवार रेनु दाहालविरुद्ध बागी उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता जगन्नाथ पौडेललाई भेटेका छन् ।
भरतपुर महानगरपालिका-७ कृष्णपुरस्थित पौडेलकै घरमा पुगेर राज्यमन्त्री श्रेष्ठले उम्मेदवारी फिर्ताबारे छलफल गरेका हुन् । छलफलपछि पत्रकारहरूलाई प्रतिक्रिया दिंदै राज्यमन्त्री श्रेष्ठले जगन्नाथ पौडेल सकारात्मक रहेको बताए ।
‘उहाँ पोजेटिभ हुनुहुन्छ । थप कुरा हुन्छ त्यसपछि निर्क्यौल हुन्छ,’ राज्यमन्त्री श्रेष्ठले भने, ‘गृहमन्त्री पनि आउँदै हुनुहुन्छ उहाँसँग पनि कुरा हुन्छ, छलफलपछि निचोड निस्किन्छ ।’
राज्यमन्त्री श्रेष्ठले आफू चितवनबाटै पार्टी केन्द्रीय सदस्य भएकोले पार्टीमा समस्या परेकोबेला समाधान गर्न जिल्ला आएको बताए । अझै ४ दिनसम्म चितवनमै रहने उनले बताए । राज्यमन्त्री श्रेष्ठले भेटेपछि पौडेललाई भेट्न गृहमन्त्री बालकृष्ण खाँण पनि उनको निवास जाँदैछन् ।
भरतपुरको मेयरमा उम्मेदवारी दिएका जगन्नाथ पौडेल सत्ता गठबन्धनका लागि टाउको दुखाइको विषय बनेका छन्। पौडेलको उम्मेदवारीले नेकपा माओवादी केन्द्र सबैभन्दा बढी आत्तिएको छ। उसले जसरी पनि पौडेललाई फिर्ता गराउन कांग्रेसलाई दवाव दिइरहेको छ।
प्रतिक्रिया