• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    यी हुन् आजदेखि दैनिक १८ घन्टा सञ्चालनमा आउने विमानस्थल

    290
    SHARES


    काठमाडौँ । रात्रिकालीन उडानयोग्य पूर्व भद्रपुरदेखि सुदूरपश्चिम धनगढीसम्मका विमानस्थलमा अब राति १२ बजेसम्म सेवा सञ्चालन हुने भएको छ। नियामक प्राधिकरणले आजबाट भद्रपुर, विराटनगर, जनकपुर, सिमरा, भैरहवा, नेपालगञ्ज र धनगढी विमानस्थललाई दैनिक १८ घन्टा सञ्चालनमा ल्याउने निर्णय गरेको हो।

    हालसम्म १२ घण्टा मात्र सञ्‍चालन हुँदै आएका यी विमानस्थलहरू आजबाट बिहान ६ देखि राति १२ बजेसम्म सञ्चालन हुने भएका हन्। यसले काठमाडौँ विमानस्थलको विद्यमान उडान चाप पनि व्यवस्थापन हुने तथा कोभिड कहरपछि जुर्मुराउँदै गरेको पर्यटन क्षेत्रलाई राहत पुग्ने प्राधिकरणको विश्वास छ।

    प्रादेशिक रूपमा आर्थिक गतिविधि बढ्नेछन्। उडान चापले यात्रा डिले हुँदा घन्टौंसम्म यात्रुले विमानस्थलमा निकै सास्ती व्यहोर्दै आएका छन्। उडान ढिलाइ भएकै कारण घन्टौं यात्रुले विमानस्थलको भुइँमा बस्नुपर्ने, बालबालिकाले व्यहोर्नुपर्ने सास्ती हटेर जाने बताइन्छ। रात्रि उडानका लागि नेपालमा उडान भर्ने आन्तरिक र अन्तर्राष्ट्रिय एयरलाइन्ससँग छलफल भइसकेको प्राधिकरणले जनाएको छ।

    अन्तर्राष्ट्रिय विमानस्थल जेठ १५ गतेदेखि २४ सै घन्टा
    अन्तर्राष्ट्रिय विमानस्थल आगामी जेठ १५ गतेदेखि २४ सै घन्टा सञ्चालनमा आउने भएका छन्। बढ्दो हवाई उडान चाप व्यवस्थापनका लागि नियामक नेपाल नागरिक उड्डययन प्राधिकरणले अन्तर्राष्ट्रिय विमानस्थललाई २४ सै घन्टा सञ्चालन गर्ने तयारी गरेको हो।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए)सहितगौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पनि अब २४सै घन्टा सञ्चालन हुने प्राधिकरणले जनाएको छ। प्राधिकरणका महानिर्देशक इञ्जिनीयर प्रदीप अधिकारीले जेठ १५ गते गणतन्त्र दिवसका दिनदेखि टिआइएलाई २४सै घन्टा सञ्चालन गर्न लागिएको जानकारी दिए। उनले कोभिड महामारीपछि बढेको हवाई चापलाई व्यवस्थापन गर्न काठमाडौंको विमानस्थललाई २४सै घन्टा सञ्चालन गर्ने निर्णय भएको बताए।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको विशेष चासो र सक्रियतामा मुलुकको हवाई उड्डयन क्षेत्रमा सुधारात्मक प्रयास भइरहेको छ। त्यसैको प्रतिफलस्वरूप तीन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशैभरका विमानस्थलको पूर्वाधार विकास र सेवा सुदृढीकरणका लागि प्राधिकरण लागिपरेको प्राधिकरणले जनाएको छ।

    विमानस्थलको आधुनिकीकरण र व्यवसायीकरणका लागि पर्यटन मन्त्री आलेले सहजीकरण गरिदिएका छन्। मन्त्री आलेकै पालामा टिआइए २४ घन्टा सञ्चालनमा आउन लागेको हो। ‘पर्यटन मन्त्री आलेको बोर्ड बैठकमा पटकपटकको निर्देशनबमोजिम प्राधिकरणले आन्तरिक गृहकार्य गरेर यो योजना सार्वजनिक गरेको हो,’ सञ्चारकर्मीसँग कुरा गर्दै महानिर्देशक अधिकारीले भने।

    कोभिडपछि अन्तर्राष्ट्रिय विमानस्थल र आन्तरिक विमानस्थलमा उडान चाप बढेको छ। उडान चाप बढ्नु सुखद् पक्ष पनि हो। हवाई यातायातको बढोत्तरी मुलुकको अर्थतन्त्रका लागि पनि धेरै राम्रो अवसर भएको प्राधिकरणको बुझाइ छ। साथै यसको व्यवस्थापनमा चुनौती उत्तिकै छन्। त्यसैले विमानस्थलको प्रभावकारी व्यवस्थापनका लागि आफूहरु जुटिरहेको महानिर्देशक अधिकारीले बताए।

    उनले भने, ‘अन्तर्राष्ट्रिय र आन्तरिक सबै विमानस्थलमा व्यापक पूर्वाधार सुधार र सेवा स्तरीकरणको खाँचो छ, नेपालको आकाश सुरक्षित रहेको सन्देश पनि दिनुछ, अहिले टिआइएमा कुनै अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्ने इच्छा देखाएमा स्लट दिन सक्दैनौं।’

    यसअघि २०७५ जेठमा तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीले टिआइए २१ घन्टा सञ्चालनमा ल्याएका थिए। बिहान ६ देखि राति १२ बजेसम्म १८ घन्टा सञ्चालन हुँदै आएको उक्त विमानस्थललाई तीन घन्टा थपेर २१ घन्टासम्म सञ्चालनमा ल्याइएको थियो। ्य

    द्यपि टिआइएको धावनमार्गको जीर्णोद्धारको काम सुरू भएपछि पुनःउडान सञ्चालन अवधि घटेको थियो। त्यसपछि कोभिडका कारण देशभर बन्दाबन्दी लागू भएपछि अन्तर्राष्ट्रिय र आन्तरिक उडान कटौती हुँदै जाँदा विमानस्थल सञ्चालन समय घटाइएको थियो।

    कूल ९२ लाख यात्रु क्षमताको टिआएमा सन् २०१८ मा ७२ लाख हवाई यात्रुले सेवा लिएका थिए। कोभिड महामारी नभएको भए विमानस्थलको क्षमताले यात्रु धान्नसक्ने अवस्था थिएन। काठमाडौँ विमानस्थलको विकल्पका रूपमा पनिगौतम बुद्ध विमानस्थललाई हेरिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल,गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल अब २४सै घन्टा सञ्चालन हुने प्राधिकरणले जनाएको छ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ