• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    भरतपुरमा लफडा- उम्मेदवारी फिर्ता लिन जगन्नाथलाई देउवा, पौडेल र प्रचण्डले दवाव दिएको खुलासा

    1.3K
    SHARES


    काठमाडौँ । नेपाली कांग्रसका असन्तुष्ट कार्यकर्ताको तर्फबाट भरतपुरको मेयरमा उम्मेदवारी दिएका जगन्नाथ पौडेल सत्ता गठबन्धनका लागि टाउको दुखाइको विषय बनेका छन्।

    पौडेलको उम्मेदवारीले नेकपा माओवादी केन्द्र सबैभन्दा बढी आत्तिएको छ। उसले जसरी पनि पौडेललाई फिर्ता गराउन कांग्रेसलाई दवाव दिइरहेको छ।

    बुधबार पाँच दलका शीर्ष नेताहरुले गठबन्धन भित्रका दलका सदस्यले स्वतन्त्र हैसियतमा दर्ता गरेका उम्मेदवारीहरु फिर्ता गराउन सम्बन्धित दलले आवश्यक काम गर्ने सहमतीमा हस्ताक्षर गरेका थिए।

    सहमतिलगत्तै कांग्रेसका नेता बालकृष्ण खाण भरतपुर विमानस्थलमा ओर्लिए। पार्टी सभापतिका दूत बनेर ‘आवश्यक काम’ गर्न भरतपुर आएका खाणले बुधबार अपरान्हबाटै पौडेललाई फिर्ता गराउने कसरत थालेका छन्।

    मंगलबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुटुक्क भरतपुर आएर करिब ५ घण्टा बसेर फर्किएका थिए। उनको उद्देश्य भरतपुरको मेयरको उम्मेदवार छोरी रेनु दाहालको विरुद्धमा उठ्ने बागीलाई फकाउनु थियो।

    यसका लागि प्रचण्डले चितवन कांग्रेस सभापति, पदाधिकारीहरुलाई गोप्यरुपमा भेटेका थिए। प्रचण्डको सन्देश बोकेर जिल्ला सभापति राजेश्वर खनाल, उपसभापति राजिव न्यौपाने, सचिव सूर्य अर्याल लगायतको टोली जगन्नाथ पौडेललाई भेट्न गएको थियो।

    तर पौडेललाई उम्मेदवारी फिर्ता लिन घोषणा गर्दा भन्दा बढी सकस छ। जिल्ला पार्टी कार्यालयमा कांग्रेसका सयौं असन्तुष्ट कार्यकर्ताहरुको भेलामा पौडेलले भरतपुरको मेयरमा उम्मेदवारी घोषणा गरेका थिए। ती कार्यकर्ता हातमा कांग्रेसको झण्डा र चुनाव चिन्ह रुख अंकित झण्डा बाकेर पौडेलको उम्मेदवारी दर्ता गर्न मूख्य निर्वाचन कार्यालय पुगेका थिए।

    ‘घोषणा गर्दाको समयमा उहाँ बाहेकका अन्य नेता पनि उम्मेदवार बन्न तयार थिए। उहाँले अघि बढ्छु भनेपछि सबैले समर्थन गरे,’ पौडेल समर्थक एक जिल्ला नेता भन्छन्, ‘अब फिर्ता लिन घोषणा गर्दाको जस्तो सजिलो छैन। आफूलाई उम्मेदवार बनाउने कार्यकर्ताहरुलाई चित्त बुझाए फिर्ता लिन सहज छ जस्तो मलाई लाग्दैन।’

    ती नेताले आफूलाई समर्थन गर्ने कार्यकर्ताको चित्त नबुझाई उम्मेदवारी फिर्ता लिँदा पौडेलले कुनै कुराको बार्गेनिङका लागि उम्मेदवारी दिएको अर्थ लाग्ने बताए।

    ‘मैले तपाई नेताहरुको प्रभावमा परेर फिर्ता हुँदै हुनुहुन्छ रे भन्ने सुनियो। के हो कुरा। तपाईलाई बोकेर हिँड्ने हामी जस्ता कार्यकर्तालाई नढाँटी भन्नुप¥यो भन्दा उहाँले त्यस्तो केही होइन म प्रभावित हुँदिन ढुक्क हुनुस् भन्नुभएको छ,’ पौडेल निकटका अर्का एक नेताले भने, ‘उहाँले यति भनेपछि हामीले विश्वास गरेका छौं।’

    कांग्रेसका शीर्ष नेताहरु भने पौडेललाई फिर्ता गराउन सक्दो प्रयास गरिरहेका छन्। कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, माओवादीका अध्यक्ष प्रचण्ड र केही मन्त्रीहरुसँग कुराकानी भइरहेको पौडेलले बताए।

    ‘राजनीतिक अवस्थालाई सहज तरिकाबाट अघि बढाउन, बाधा व्यवधान हटाउने विषयमा सहयोग गर्नुपर्‍यो भनेर शीर्ष नेताहरुले आग्रह गर्नुभएको थियो,’ पौडेलले भने, ‘मैले मेरो उम्मेदवारी एउटा स्वतन्त्र व्यक्तिको हिसावले दिएको हुँ। अन्याथा केही होइन। संबिधान प्रदत्त हकको प्रयोग गरेको हुँ भनें।’

    उनले आफू सानो मान्छे भएकाले ठूलो कुरा गर्छु भनेर नलागेको बताए। ‘म सानो मान्छे हुँ, मलाई पार्टीले कारबाही गर्न पनि सक्छ। तर म चितवन कांग्रेसलाई अग्रगतिमा लिएर जानकालागि, कांग्रेसका समर्थकको मनोवल बढाउनका निमित्त आफूले गर्नसक्ने प्रयत्न गरिरहेको छु। निरन्तर जारी रहनेछ,’ उनले भने, ‘मैले कुनै अवसर लिन, केही प्राप्त गर्न यो गरेकै होइन।’

    देशको राजनीति ठीक बाटोमा हिँडेको छैन भन्ने लागेको भन्दै उनले यसै कारणले चितवनका धेरै जनताले आफूले स्वतन्त्र उम्मेदवारी दिँदा साथ दिएको बताए।

    बुधबार भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै गृहमन्त्रीसमेत रहेका कांग्रेस नेता खाँणले असन्तुष्ट कार्यकर्तालाई सम्झाउन चितवन आएको बताए। विशेष अवस्थामा अन्य पार्टीले साथ दिएर कांग्रेसले सरकारको नेतृत्व गरेको भन्दै उनले गठबन्धनमा भएका निर्णयलाई कार्यकर्ताले स्वीकार गर्छन् भन्ने आशा राखेको बताएका थिए।

    ‘म कुनै प्याकेज लिएर त आएको छैन। तर म मन लिएर आएको छु। चितवनका नेता कार्यकर्तासँग मेरो विशेष खालको सम्बन्ध छ,’ उनले भने, ‘उहाँहरुलाई सम्झाउन सक्छु जस्तो लाग्छ।’

    लगत्तै जिल्ला पार्टी कार्यालय पुगेका खाणलाई कार्यकर्ताले भरतपुरको मेयर किन फेरि माओवादी केन्द्रलाई दिइयो भनेर प्रश्न गरेका थिए। उनले माओवादी केन्द्रले एक मात्रै महानगर प्रमुखमा दाबी गर्दा भरतपुर नछाडेकाले गठबन्धनलाई अघि बढाउन सहमति गर्नुपरेको जवाफ दिएका थिए।

    त्यसपछि खाणकोसमेत उपस्थितिमा बसेको कांग्रेस जिल्ला समितिको बैठकले मेयरमा उम्मेदवारी दिएका पूर्व सांसद जगन्नाथ पौडेललाई पार्टीको मूलप्रवाहमा समावेश हुन आग्रह गर्ने निर्णय गरेको थियो। स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिएकाले फिर्ता लिने समय अब एक दिनमात्रै बाँकी छ।

    यो अवस्थामा भरतपुरमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका जगन्नाथ पौडेल माथि कांग्रेसका शीर्ष नेताहरुले दवाव बढाएका छन्। यो प्रयास बिहीबार दिनभर रहने देखिन्छ। खाण चितवनमा बागीलाई फिर्ता गर्न पूर्ण अधिकार बोकेर आएको उच्च स्रोतले बतायो।

    ‘उहाँलाई भविष्यमा कहाँ कसरी व्यवस्थापन गर्ने देखि फिर्ता नभए कारबाही गर्नेसम्मको अधिकारी लिएर खाँण चितवन आएका हुन्,’ उक्त स्रोतले भन्यो, ‘पौडेललाई राष्ट्रिय सभा वा समानुपातिक सांसद बनाउने आश्वासन दिइने संभावना छ। कसै गरे पनि नमान्ने अवस्था आएर पार्टीले कारबाही गर्नसक्छ।’

    खाण पौडेललाई भेट्न बिहीबार उनकै निवासमा जाँदैछन्। मंगलबार भरतपुरमा प्रचण्डसँग भेटेका भरतपुर महानगरपालिकाको उपमेयर पदका उम्मेदवार चित्रशेन अधिकारीले गठबन्धनलाई एक ढिक्का बनाएर लैजान प्रचण्डले प्रयास गरेको बताए।

    ‘उहाँले कांग्रेस र नेकपा एकीकृत समाजवादीका नेताहरुलाई भेटेर गठबन्धनलाई प्रभावकारी बनाउने विषयमा कुरा गर्नुभएको थियो,’ अधिकारीले भने, ‘अन्तिम समयमा सबै कुरा मिल्छ होला। त्यस्तै तरिकाले कुराकानी अघिबढिरहेको छ।’

    प्रचण्डले चितवनमा भएका कुरा गठबन्धनको बैठकमा राखेपछि कांग्रेस सभापति देउवाले खाँणलाई भरतपुर पठाएका हुन्।
    पौडेलको उम्मेदवारीले नेकपा एमालेको चुनावी रणनीतिमा पनि असर पर्न सक्छ। एमाले भरतपुरमा रेनु दाहाललाई मन नपराउने कार्यकर्तालाई आफूतिर तान्न लागेको छ।

    अघिल्लो निर्वाचनमा नेकपा एकालेका उम्मेदवार देवीप्रसाद ज्ञवालीले असन्तुष्ट कांग्रेस कार्यकर्ताको पनि मत पाएका थिए। आफ्ना वडाध्यक्षहरुले पाएको भन्दा ५ हजार बढी मत ज्ञवालीले पाएका थिए। त्यतिखेर कांग्रेसले माओवादीलाई साथ दिँदा बागी उम्मेदवार थिएनन्।

    ‘तर यसपालि कांग्रेस कार्यकर्ताले दाहालको विकल्पमा आफ्नै पार्टीका नेतालाई भोट हाल्न पाउँदासम्म हामीलाई भोट दिन्नन् कि जस्तो लाग्छ,’ एमालेका एक नेता भन्छन्। एमालेका उम्मेदवार विजय सुवेदी अहिले कांग्रेसका असन्तुष्ट कार्यकर्ताको मत तान्न सकृय देखिन्छ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ