काठमाडौं । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । निर्वाचन आचार संहिता लागू भएपछि मन्त्री झाँक्रीले अमेरिका भ्रमण गरेको विषयमा स्पष्टीकरण सोधेको आयोग स्रोतले बताएको छ ।
‘आचारसंहिता लागू भएपछि सरकारी पदाधिकारीहरु आयोगको अनुमति नलिई विदेश भ्रमणमा जान पाइदैन’, आयोग स्रोतले भन्यो, ‘उहाँ निर्वाचन आयोगसँग अनुमति त परैको कुरा, कुनै जानकारी पनि नदिई भ्रमणमा जानुभएको देखियो ।’
मन्त्री झाँक्रीको विषयमा उजुरी परेपछि आयोगले अध्ययन गरेको थियो । प्रारम्भिक अनुसन्धानमा उनी विदेश भ्रमणमा गएको पुष्टी भएपछि स्पष्टीकरण सोधेको आयोग स्रोतको भनाइ छ । यो बिषयले झाँक्रीको पार्टीभित्र ओअनि खैलाबैला मच्चाएको छ ।
मन्त्री झाँक्रीले आयोगले पठाएको स्पष्टीकरणको जवाफसमेत दिएको आयोग स्रोतले बतायो । तर जवाफ आयोगले खोलिसकेको छैन । जवाफ चित्तबुझ्दो नभए आयोगले उनलाई बोलाएर स्पष्टीकरण सोध्न सक्नेछ ।
झाँक्री शुक्रबार साँझ अमेरिका गएकी हुन् । अमेरिकाको न्यूयोर्कस्थित यूएन ह्याबिटेटको मुख्यालयमा आयोजित उच्चस्तरीय बैठकमा सहभागी हुने भन्दै झाँक्री अमेरिका गएकी हुन् ।
उनले आगामी अप्रिल २८ तारिखमा उक्त बैठकलाई सम्बोधन गर्ने मन्त्रालयका प्रवक्ता सहसचिव विष्णुप्रसाद शर्माले जानकारी दिए । यूएन ह्वाबिटेट अन्तर्गत सञ्चालित न्यू अर्बन एजेण्डा २०१५ को कार्यान्वयनको अवस्थाबारे बैठकमा छलफल हुने पनि उनले बताए ।
मन्त्री झाँक्रीसँगै कार्यक्रममा शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक पद्मकुमार मैनाली, उपमहानिर्देशक दिलिप भण्डारी सहभागी हुनेछन् । मन्त्री झाँक्री अप्रिल ३१ तारिखमा स्वदेश फिर्ता हुने प्रवक्ता शर्माले जानकारी दिए ।
प्रतिक्रिया