काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा आनन्दराज जोशीले उम्मेदवारी दर्ता गराएका छन् । काठमाडौं महानगरपालिकामा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जोशीले पहिलो उम्मेदवारी दर्ता गराएका हुन् ।
उनले राष्ट्रिय यथार्थवादी पार्टी नेपालबाट उम्मेदवारी दर्ता गराएका हुन् । ३७ वर्षीय जोशीले सरोज शाहीको प्रस्ताव र सरला शाहीको समर्थनमा उम्मेदवारी दर्ता गराएका हुन् । जोशी काठमाडौं महानगरपालिका-१९ निवासी हुन् ।
यस्तै र्यापर बालेन शाहले काठमाडौं महानगरपालिकाको मेयरका लागि उम्मेदवारी दर्ता गराएका छन् । राष्ट्रिय सभा गृहमा स्थापना गरिएको काठमाडौं महानगरपालिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर उनले उम्मेदवारी दर्ता गराएका हुन् ।
उनले उम्म्द्वारी दर्ता गराउनुअघि घोषणा पत्र सार्वजनिक गरेका थिए । शाहले नयाँ पुस्ताको चिन्ता गर्नेहरुले नयाँ पुस्तालाई नै भोट दिने विश्वास व्यक्त गरेका छन् । यस्तै विवेकशील साझा पार्टीले काठमाडौं महानगरपालिकाको मेयर र उपमेयरमा उम्मेदवारी दर्ता गराएको छ ।
आइतबार दिउँसो निर्वाचन कार्यालय पुगेर मेयरमा समीक्षा बाँस्कोटा र उपमेयरमा कीर्ति तुलाधरले उम्मेदवारी दर्ता गराएका हुन् । यस्तै नेपाली कांग्रेसले काठमाडौं महानगरपालिकाको मेयरमा सिर्जना सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । सिंह प्रकाशमान सिंहकी पत्नी हुन् ।
उनी आज दिउँसो शान्तिबाटीकामा भेला भएर उम्मेदवारी दर्ता गराउन जाने काठमाडौं कांग्रेसका एक नेताले बताए ।
प्रतिक्रिया