काठमाडौं । स्थानीय तह निर्वाचनको मनोनयनको दोस्रो दिन सोमबार १२ बजेसम्म १६ हजार ५६८ जनाको मनोनयन दर्ता भएको छ । निर्वाचन आयोगका अनुसार आइतबार दिनभर र सोमबार दिउँसो १२ बजेसम्म सबै प्रदेशमा गरी १६ हजार ५६८ जनाको मनोनयन दर्ता भएको हो ।
जसमध्ये नगर प्रमुखमा ७६८ जना, गाउँपालिका अध्यक्षमा ६१४ जना, नगरपालिका उपप्रमुखमा ३८३ र उपाध्यक्षमा ३३४ जनाले मनोनयन दर्ता गराएका छन् । त्यस्तै वडाध्यक्षमा चार हजार ४३९ जना, महिला सदस्यमा दुई हजार ५४१, वडा सदस्यमा पाँच हजार ४३० जनले उम्मेदवारी दर्ता गराएका आयोगले एक सूचना मार्फत जानकारी दिएको छ ।
यता ललितपुर । नेपाली कांग्रेसले ललितपुर महानगरपालिकाको मेयरमा चिरिबाबु महर्जनलाई नै उठाउने भएको छ । महर्जन ललितपुरका वर्तमान मेयर हुन् । कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार विहान महर्जनलाई टिकट पक्का गरेका हुन् ।
मेयरको उम्मेदवारका लागि महर्जनसँगै प्रेमकृष्ण महर्जन र चन्द्र महर्जनको नाम छलफलमा थियो । यस्तै नेकपा एमालेका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका छन् । मेयर पदमा हरिकृष्ण व्यञ्जनकार र उपमेयर पदमा मञ्जली शाक्य बज्राचार्यको उम्मेदवारी दर्ता भएको हो ।
उम्मेदवारी दर्ता गर्नुअघि उनीहरुले शताव्दी पुरुष सत्यमोहन जोशी र सिद्धीलाल सिंहलाई भेटेका थिए ।
प्रतिक्रिया