विराटनगर । नेकपा एमालेले विराटनगर महानगरपालिकाको मेयरको उम्मेदवार टुंगो लगाएको छ । एमाले मोरङ सचिव रुपेश खतिवडाका अनुसार मेयरको टिकट नगर कमिटी अध्यक्ष सागर थापालाई दिने निर्णय भएको छ ।
विराटनगरको मेयरमा लालबाबु पण्डित, गुरु बराल, जीवन घिमिरे, पर्शुराम बस्नेत, बाबुराम कार्की, रामलाल साहलगायत आकांक्षी थिए । तर हेबी वेट आकांक्षीलाई पछि पार्दै थापाले टिकट पाएका हुन् ।
थापा दुई महिना अघिदेखि नै चुनावको तयारीका लागि भन्दै घरदैलो अभियानमा थिए । ‘उम्मेदवार फाइनल भएको जानकारी फोनमा आयो,’ उनले सोमबार बिहान अनलाइनखबरसँग भने । उनले आज दिउँसो उम्मेदवारी मनोनयन दर्ता गर्ने बताए ।
नेकपा एमालेले उम्मेदवारको टुंगो लगाए पनि नेपाली कांग्रेसले उम्मेदवारको टुंगो लगाइसकेको छैन । कांग्रेसबाट नागेश कोइराला, भीम पराजुली र अमृत अर्याल मेयरको प्रमुख दाबेदार छन् ।
गठबन्धनमा रहेका दलहरुले भागबन्डा गर्दा विराटनगरको मेयर कांग्रेस र उपमेयर जसपाको भागमा परेको थियो । जसपाले अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्रलाई उपमेयरमा अघि सार्ने तयारी गरेको छ ।
त्यस्तै एमालेले पोखरा महानगरपालिकाको मेयरमा दीपक पौडेलको टिकट खोसेर कृष्ण थापालाई दिएको छ। उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र केन्द्रीय सदस्य खगराज अधिकारीको टकरावका कारण पोखराको मेयर बदलीएको हो।
गुरुङ प्यानलबाट शनिबार पौडेललाई टिकट दिएपछि उनको पुरानो भिडियोहरु शेयर गर्दै चौतर्फी आलोचना र विरोध भएको थियो । अन्ततः उनको टिकट फिर्ता लिएर खगराज प्यानलका थापालाई टिकट दिइएको हो ।
उपमेयरमा भने पुनः मन्जु गुरुङ नै उम्मेदवार बनेकी छिन् । यसअघि गुरुङले आफू उम्मेदवार नबन्ने बताए पनि अहिले मौन छिन् । थापा र गुरुङ दुवै जना केन्द्रीय सदस्य हुन् ।
थापालाई रोक्न पृथ्वी सुब्बाले प्रदेश सरकार आफ्नो बन्ने र त्यहाँ मत नपुग्ने कार्ड फालेका थिए । तर उनको कार्ड सफल हुन सकेन । अन्ततः थापालाई टिकट दिइएको छ । थापा २०५४ सालमा पनि पोखराको मेयर भएर काम गरेका व्यक्ति हुन् । २०७० मा भने कास्की २ बाट चुनावमा पराजित भएका थिए ।
प्रतिक्रिया