• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    उम्मेदवारी मनोनयनकै दिन माओवादीलाई लाग्यो ठूलो झट्का

    1.7K
    SHARES


    काठमाडौँ । उम्मेदवारी मनोनयन दर्ताको अघिल्लो दिन नेकपा माओवादी केन्द्रलाई ठूलो झट्का लागेको छ । धनगढी उपमहानगरपालिका उपमेयरका आकांक्षीले पार्टी परित्याग गरेका छन् ।

    वडा नम्बर ३ को अध्यक्षबाट राजीनामा दिएका नेकपा माओवादी केन्द्रका नेता बलबहादुर ऐरले स्वतन्त्र रूपमा वडाध्यक्षमा उम्मेदवारी दिने भएका छन्।

    उनले माओवादी पार्टी छाडेर स्वतन्त्र रूपमा उम्मेदवारी दिन लागेका हुन्। यहाँ स्वतन्त्र रूपमा मेयर उठेका गोपाल हमालको टिमबाट उनले वडाध्यक्षमा उम्मेदवारी दिन लागेका छन्।

    उनले आज स्वतन्त्र रूपमा वडाध्यक्षम उम्मेदवारी दिने बताए। उनले शुक्रबार वडाध्यक्षबाट राजीनामा दिएका थिए। उनले माओवादीबाट धनगढीको उपमेयर उठ्ने भन्दै राजीनामा दिएका थिए। पार्टीले उपमेयरका लागि उनीसहित अन्य आकांक्षीको नाम पनि सिफारिस गरेको थियो।

    सत्तागठबन्धनको भागबन्डामा धनगढी उपमहानगरमा उपमेयर माओवादीलाई परेको छ। माओवादीले कसलाई उम्मेदवार बनाउने टुंगो लगाएको छैन। पार्टीले उपमेयर वा वडाध्यक्षमा पनि उम्मेदवार बनाउन नचाहेपछि उनले स्वतन्त्र रूपमा वडाध्यक्षमा उम्मेदवारी दिने भएका छन्।

    उनी शनिबार हमालको टिममा गएका थिए। ‘नेताहरुको चाकरी गर्न सकिएन। मेरो नैतिकताले त्यसो गर्न मिल्दैन पनि। चाकरी गर्नु नै परे जनताको गर्छु,’ उनले भने। उनीसहित वडाका माओवादीका २३ जना वडा कमिटी सदस्य र एक सय ७५ जना पार्टी सदस्यले माओवादी छाडेका छन्।

    उनीमध्ये अन्य चार जना वडा सदस्यमा चुनाव लड्ने भएका हुन्। ऐर ०६३ सालदेखि वाइसीएलमा वडा सहइन्चार्ज हुँदै वडाको पार्टी अध्यक्षसम्म भएका थिए।

    उनले पाँच बर्षसम्म जनतालाई दिएको सेवा र जनताकै चाहानाअनुरुप चुनाव लड्ने पनि बताए। मैले पाँच वर्ष गरेको कामको आधारमा जनताले फेरि चुनाव लड्नुहोस् भनेपछि मैले चुनाव लड्ने भएको हुँ,’ उनले भने।

    त्यस्तै सत्ता गठबन्धनमा तालमेल हुन नसकेपछि नेपाली काँग्रेस बाहिरिएको छ। गठबन्धनमा सहभागी चार दलमा चुनावी तालमेलका विषयमा सहमति हुन नसकेपछि गोरखामा काँग्रेस मित्रवत रुपमा प्रतिस्पर्धा गर्ने भन्दै पत्रकार सम्मेलन गरेर बाहिरिएको हो ।

    काँग्रेसका जिल्ला सभापति नन्दप्रसाद न्यौपानेले काँग्रेस लचिलो भएर संवादमा बसेपनि सहमती हुन नसकेपछि एकल रुपमा प्रतिस्पर्धा गर्ने बताए । कांग्रेसको यो निर्णयले गोरखामा माओवादी केन्द्रलाई झट्का लागेको छ ।

    ‘हामी गठबन्धन जिवित राख्न चाहन्थ्यौ । केही नेताको स्वार्थगत कारणले सहमती हुन सकेन अब आफ्नै तागतमा चुनाव लड्छौ।’ न्यौपानेले भने, ‘काँग्रेस गोरखाका ११ पालिका ९४ वडामा एकल उम्मेदवारी दिने छौ।’ यस्तै माओवादी केन्द्रले पनि गठबन्धनमा रहेका बाँकी दलसँग चुनावी तालमेल गर्ने जिल्ला अध्यक्ष लेखबहादुर थापाले बताए।

    ‘काँग्रेसले आफ्नो कुरा स्वभाविकै रुपमा राखिसक्यो। हामी अन्तिमसम्म पनि मिलेर जाने प्रत्यत्न गर्ने छौ’ थापाले भने,‘अब काँग्रेस बाहिरिएपनि गठबन्धनका अन्य दलसँग तालमेल गर्ने छौ।’ यस अघि निर्वाचनमा काँग्रेसले ९ र माओवादीले २ स्थानीय तह जितेका थिए। गोरखामा २ नगरपालिका सहित ११ स्थानीय तह छन्।

    देशैभरका ११ उपमहानगरपालिकामध्ये अधिकांशमा सत्तारुढ गठबन्धन र नेकपा एमालेले मेयर र उपमेयरका उम्मेदवार टुङ्गो लगाएका छन् । केहीमा भने उम्मेदवार टुङ्गो लाग्न बाँकी छ ।

    स्थानीय तह निर्वाचनका लागि आइतबार र सोमबार उम्मेदवारी मनोनयन दर्ताको समय तोकिएको छ । लुम्बिनी प्रदेश अन्तर्गत घोराही र तुलसी उपमहानगरमा दुवै पक्षले मेयर र उपमेयरको उम्मेदवार टुङ्गो लागिसकेको छ ।

    गठबन्धनबाट घोराही उपमहानगरको मेयरमा माओवादी केन्द्रका हेमराज शर्मा र उपमेयरमा नेपाली काँग्रेसका भुपबहादुर डाँगी उम्मेदवार बनेका छन् ।

    यस्तै एमालेबाट घोराहीको मेयरमा नरुलाल चौधरी र उपमेयरमा हुमा डिसी उम्मेदवार छन् । चौधरी दोस्रो कार्यकालका लागि मेयरमा उम्मेदवार बनेका हुन् ।

    तुलसीपुर मेयरमा गठबन्धनबाट काँग्रेसका गेहन्द्र गिरी र उपमेयरमा एकीकृत समाजवादीका जोखबहादुर राना उम्मेदवार बनेका छन् । एमालेबाट मेयरमा टिकाराम खड्का र उपमेयरमा स्यानी चौधरीले उम्मेदवारी घोषणा गरेका छन् । यो पालिकामा यसअघि मेयर र उपमेयर दुबै एमालेले जितेको थियो ।

    नेपालगञ्ज उपमहानगरको मेयर र उपमेयरमा सत्ता गठबन्धनले उम्मेदवार टुङ्गो लगाएको छैन । यो पालिकामा गठबन्धनबीचको भागबण्डामा मेयर काँग्रेसको भागमा तथा उपमेयर जसपाको भागमा परेको छ ।

    एमालेले भने यो पालिकाका लागि मेयर र उपमेयरको उम्मेदवार टुङ्गो लगाइसकेको छ । एमालेबाट मेयरमा पशुपति दयाल मिश्र र उपमेयरमा शान्तिदेवी ढकाल उम्मेदवार छन् । यहाँ यसअघि मेयरमा राप्रपा र उपमेयरमा काँग्रेसले जितेको थियो ।

    यस्तै बुटवल उपमहानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट काँग्रेसले उम्मेदवारी दिने भएको छ । काँग्रेसले मेयरका उम्मेदवार टुङ्गो लगाइसकेको छैन । उपमेयरमा भने एकीकृत समाजवादीबाट चिनबहादुर गुरुङ उम्मेदवार बनेका छन् ।

    एमालेबाट बाबुराम भट्टराईलाई मेयर र सावित्रादेवी अर्याल उपमेयरमा उम्मेदवार बनेका छन् । यसअघि मेयर र उपमेयर दुबै एमालेले जितेको थियो ।

    यस्तै सुदूरपश्चिम प्रदेश अन्तर्गत धनगढी उपमहानगरपालिकाको मेयरमा गठबन्धनबाट नेपाली काँग्रेसका नृपबहादुर वड र उपमेयरमा माओवादीकी शान्ति अधिकारी उम्मेदवार बनेका छन् ।

    वड मेयरबाट राजीनामा दिएर दोस्रो कार्यकालका लागि उम्मेदवारी दिन लागेका हुन् । यो पालिकामा स्वतन्त्र रुपमा गोपाल हमालले पनि उम्मेदवारी दिएका छन् । यसअघि निर्वाचनमा हमाल र वडबीच मुख्य प्रतिस्पर्धा भएको थियो ।

    बागमती प्रदेश अन्तर्गत हेटौंडा उपमहानगरपालिकाको मेयरमा सत्तारुढ गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका मिनाकुमारी लामा उम्मेदवार बनेकी छन् । उनी यसअघि एमालेबाट उपमेयरमा निर्वाचित भएकी थिइन् । एमाले विभाजन भएपछि उनले एकीकृत समाजवादी रोजेकी थिइन् ।

    यस्तै, हेटौंडाको उपमेयर काँग्रेसको भागमा परेको छ । काँग्रेसले सो पालिकामा उपमेयरको उम्मेदवार टुङ्गो लगाएको छैन । एमालेले हेटौंडाको मेयरमा अनन्त पौडेल र उपमेयरमा सुमित्रा काफ्लेलाई उम्मेदवार बनाएको छ । यसअघिको निर्वाचनमा यहाँ एमालेले मेयर र उपमेयर जितेको थियो ।

    मधेस प्रदेश अन्तर्गत जीतपुर सिमरा उपमहानगरको मेयरमा गठबन्धनबाट माओवादी केन्द्रका राजन पौडेल उम्मेदवार बनेका छन् । यो पालिकामा उपमेयर काँग्रेसको भागमा परे पनि उम्मेदवार टुङ्गो लाग्न बाँकी छ । एमालेले जीतपुर सिमराको मेयर र उपमेयर टुङ्गो लगाउन बाँकी छ । यसअघि यहाँ मेयर र उपमेयर दुवै एमालेले जितेको थियो।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ