काठमाडौँ । संविधानसभा सदस्य समेत रहेकी नेकपा माओवादी केन्द्रकी नेतृ लक्की शेर्पा नेकपा एमालेमा प्रवेश गरेकी छन् । शेर्पा नेकपा माओवादी केन्द्रको सिफारिसमा नेपालका लागि अष्ट्रेलियाको राजदूत समेत बनेकी थिइन् ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा आयोजित एक कार्यक्रममा शेर्पालाई खादा ओढाएर स्वागत गरेका थिए । यस्तै माओवादी केन्द्रका केन्द्रीय सदस्य धर्मदत्त देवकोटालाई पनि ओलीले एमाले प्रवेश गराएका छन् ।
तवनको भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले पदबाट राजीनामा दिएकी छन् । सत्ता गठबन्धनबाट मेयरमा उम्मेदवारी दिनका लागि नेतृ दाहालले शुक्रबार राजीनामा दिएकी हुन् ।
स्थानीय तहको चुनावमा उम्मेदवारीअघि जनप्रतिनिधिले राजीनामा दिनुपर्ने प्रावधान निर्वाचन आयोगले बनाएको छ । मेयर दाहालले उपमेयर पार्वती शाह ठकुरीलाई राजीनामा बुझाएकी हुन् ।
बिहीबार सत्ता गठबन्धनले स्थानीय चुनावमा भरतपुर महानगरपालिकाको मेयर सिट नेकपा माओवादी केन्द्रलाई दिने निर्णय गरेको थियो ।
त्यस्तै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले पार्टीभित्र पनि केही राम्रा कम्युनिस्ट रहेको बताएका छन् ।
पेरिसडाँडामा आयोजित नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमाले भन्दैमा सबै खराब नभएको बताए ।
‘नेकपा एमालेका कमरेडलाई म स्मरण गर्न चाहन्छु । एमालेका नेता/कार्यकर्ताले विश्वास र भरोस गरेका थिए । एमाले भन्दैमा सबै खराब छैनन् । त्यहाँ पनि राम्रा कम्युनिस्ट छन्,’ अध्यक्ष प्रचण्डले भने ।
एमालेको नेतृत्वमा गलत व्यक्ति बसेका कारण धेरैलाई एमाले पार्टी नै खराब हो भन्ने परेको उनले जनाए । एमालेको नेतृत्वमा गलत व्यक्ति पर्दा त्यहाँ रहेका इमानदार कम्युनिस्टलाई फुत्किन गाह्रो भएको उनले बताए ।
‘आज पार्टी स्थापना दिवसको अवसरमा सम्पूर्ण एमाले भित्रका ती इमानदार कम्युनिस्ट जुन साँच्चै बाम गठबन्धनको पक्षमा अहिले हुनुहुन्छ, कम्युनिस्टहरूको एकता आवश्यक छ भन्ने ठान्नुहुन्छ उहाँहरूलाई गलत प्रकृतिविरुद्ध संघर्ष गर्न प्रेरणा मिलोस्,’ अध्यक्ष प्रचण्डले भने ।
प्रतिक्रिया