• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति समाचार

    प्रधानमन्त्री देउवालाई अर्को झट्का, पोखराबाट आयो नमिठो खबर

    738
    SHARES


    पोखरा। स्थानिय तहको चुनावको मुखमै प्रधानमन्त्री देउवालाई अर्को झट्का लागेको छ । एकीकृत समाजवादीलाई मेयर दिएपछि नेपाली कांग्रेस पोखरा महानगरपालिकाका वडा सभापतिहरू आन्तरिक बैठक बसेका छन्। उनीहरूले संयुक्त धारणा बनाएर मेयर कांग्रेसले नै पाउनुपर्ने दबाब दिने भएका छन्।

    बैठक बस्र छलफल हुन्छ। सहमतिमा हाम्रा एजेन्डा सार्वजनिक गर्छौं, सचिव गणेशबहादुर थापाले भने, एकै मुख बनाएर हामी संघर्ष गर्छौं। अहिले लेकसाइडमा सभापतिहरूको बैठक बसिरहेको छ।

    बैठकले केन्द्रलाई दबाब दिने, नभए अर्को उम्मेद्वार उठाएर जाने थापाले बताए। सकेसम्म रुख चिन्हबाटै चुनाव लड्न लगाउने अर्को विकल्पबारे पनि छलफल भइरहेको छ।

    आसन्न स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले तीन महानगरपालिकामा मात्रै मेयरको उम्मेद्वार उठाउने भएको छ। पाँच दलीय गठबन्धनबीच भागबन्डा मिलाउँदा कांग्रेसको भागमा काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिका परेको हो।

    जहाँ यसले मेयरका लागि मात्र उम्मेदवारी दिन पाउनेछ। त्यस्तै तीन उपमेयरका लागि उम्मेदवारी दिन पाउनेछ। वीरगञ्ज, पोखरा र भरतपुर महानगरपालिकामा कांग्रेसको भागमा उपमेयर परेको छ।

    यस हिसाबले ६ वटा महानगरमा कांग्रेसले तीन महानगरमा मेयर र तीन महानगरमा उपमेयरको सिट पाएको हो। जबकि २०७४ सालको स्थानीय तह निर्वाचनमा कांग्रेसले ललितपुर र विराटनगर महानगरपालिकामा मेयर र उपमेयर दुबैमा जितेको थियो।

    त्यस्तै पोखराबाहेक सबै महानगरपालिकामा उपमेयर जितेको थियो। २०७४ को निर्वाचनमा महानगरमा मेयर र उपमेयर गरी सातजना जितेको कांग्रेसले २०७९ को स्थानीय तह निर्वाचनका लागि मेयर र उपमेयर गरी ६ सिट पाएको छ।

    त्यसमा पनि सबै सिटमा जित हात पार्छ भनेर अहिले नै भन्न सकिने अवस्था छैन। जति सिट पाएको छ ती सबैमा जिते पनि कांग्रेस महानगरमा अघिल्लो चुनावको तुलनामा कम सिटमा जित्नेछ।

    कांग्रेसले २०७४ सालको स्थानीय तह निर्वाचनमा ललितपुर महानगरपालिका मेयर र उपमेयर दुबैमा जितेको थियो। मेयरमा चिरिबाबु महर्जनले २४ हजार ६ सय ४२ मत लिएर जितेका थिए।

    एमालेका उम्मेदवार हरिकृष्ण व्यन्जनकार ३२६ मतान्तरले पराजित भएका थिए। उनले २४ हजार ३१६ मत पाएका थिए। उपमेयरमा पनि कांग्रेसकै गीता सत्याल १९ हजार ८१९ मत पाएर विजयी भएकी थिइन्।

    साझा पार्टीकी शोभा शाक्य ५ हजार ५७९ मतान्तरले पराजित भएकी थिइन्। उनले १४ हजार २४० मत ल्याएकी थिइन्। ललितपुरमा २०७४ सालको निर्वाचनमा एक लाख १२ हजार ९२३ मतदाता थिए।

    अहिले एक लाख २२ हजार ८९० मतदाता छन्।काठमाडौं महानगरपालिकामा २०७४ सालका निर्वाचनमा एमालेका उम्मेदवार विद्यासुन्दर शाक्य विजयी भएका थिए। उनले ६४ हजार ९१३ मत पाएका थिए।कांग्रेस उम्मेदवार राजुराज जोशीले ४५ हजार २६९ मत पाएका थिए।

    विद्यासुन्दरले १९ हजार बढी मतान्तरले जोशीलाई पराजित गरेका थिए।उपमेयरमा भने कांग्रेसकी हरिप्रभा खड्गी विजयी भएकी थिइन्। उनले ५८ हजार ९५२ मत पाउँदा उनका प्रतिद्वन्द्वी राप्रपाका राजाराम श्रेष्ठले ३४ हजार ८५४ मत पाएका थिए।

    काठमाडौं महानगरपालिकामा २०७४ सालमा दुई लाख ७९ हजार ३०९ मतदाता थिए। अहिले तीन लाख २४२ मतदाता छन्। त्यस्तै कांग्रेसले मेयरमा दाबी गरेको अर्को महानगर हो, विराटनगर। विराटनगर महानगरपालिकामा मेयर र उपमेयर दुवै कांग्रेसले जितेको थियो।

    मेयरमा कांग्रेसका भीम पराजुली र उपमेयरमा इन्दिरा कार्की इन्दु विजयी भएका थिए। पराजुलीले २३ हजार ३१ मत पाएका थिए भने उनका प्रतिस्पर्धी एमालेका विनोद ढकालले १७ हजार ३२१ मत पाएका थिए।

    उपमेयरमा कार्की २० हजार १४६ मत पाएर विजयी भएकी थिइन्। उनका प्रतिस्पर्धी माओवादी केन्द्रकी नमिता न्यौपानेले ११ हजार ५२४ मत पाएकी थिइन्। २०७९ को निर्वाचनका लागि विराटनरगमा कांग्रेसले मेयरको लागि मात्र सिट पाएका छ।

    उपमेयर भने जसपाले पाएको छ। २०७४ को निर्वाचनमा एक लाख १३ हजार ७६१ मतदाता थिए भने अहिले एक लाख ३३ हजार १४२ मतदाता छन्।२०७४ को निर्वाचनमा मेयर र उपमेयर एमाले विजयी भएको पोखरा महानगरपालिकामा यसपालि कांग्रेसको भागमा उपमेयर परेको छ।

    एकीकृत समाजवादीको भागमा मेयर परेको छ। जसले गर्दा त्यहाँ अहिले पनि विवाद चलिरहेको छ। कांग्रेस नेता कार्यकर्ताहरूले पार्टी कार्यालयमा तालाबन्दी नै गरेका छन्।वीरगञ्ज महानगरपालिकाको उपमेयर कांग्रेसको भागमा परेको छ।

    २०७४ सालको निर्वाचनमा कांग्रेसकै शान्ति कार्की १९ हजार ६०० मत पाएर विजयी भएकी थिइन्। मेयरमा भने तत्कालीन संघीय समाजवादी फोरम नेपालका विजयकुमार सरावगी विजयी भएका थिए। उनी अहिले एमाले प्रवेश गरेका छन्।

    एमालेको तर्फबाट उनले नै टिकट पाउने प्रबल सम्भावना छ। सत्तारूढ गठबन्धनबाट भने जसपाको भागमा मेयरको सिट परेको छ। महानगरमा घाटा, उपमहानगरमा फाइदै फाइदा: ११ वटा उपमहानगरपालिकाको भागबन्डा भने टुंगिन सकेको छैन।

    नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाबीच उपमहानगरको भागबन्डा मिल्न सकेको छैन। त्यसका लागि पाँचदलीय गठबन्धनको बैठक बसिरहेको छ। दलहरू आ-आफ्नै अडान कायम राखेपछि भागबन्डा मिल्न नसकेको हो।

    प्रस्तावित खाकाअनुसार ६ वटा उपमहानगरको मेयर कांग्रेसको भागमा परेको छ। त्यस्तै तीन उपमेयर कांग्रेसको भागमा परेको छ भने जनकपुर र नेपालगञ्ज उपमहानगरको भागबन्डा टुंगिन बाँकी छ।

    २०७४ सालको निर्वाचनमा सुरुमा कांग्रेसले दुईवटा उपमहानगरमा मात्र मेयर जितेको थियो। तीन उपमेयरमा विजयी भएको थियो। पछि उपनिर्वाचनमा कांग्रेसले धरानको मेयर पनि जितेको थियो।

    २०७४ सालको निर्वाचनमा कांग्रेस धनगढी र कलैया उपमहानगरको मेयरमा विजयी भएको थियो। धनगढी, नेपालगञ्ज र कलैयामा उपमेयर जितेको थियो। धनगढी र कलैया कांग्रेसले मेयर र उपमेयर दुवै पदमा जितेको थियो।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ