• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    पत्रपत्रिका समाचार

    माओवादी र जसपाको छुट्टै गठबन्धन राजनीतिमा नयाँ तरङ्ग

    688
    SHARES


    काठमाडौ। स्थानीय निर्वाचनमा उम्मेदवारी दिने समय नजिकिएको छ । तर पाँच दलीय सत्ता गठबन्धनमा भागबण्डाबारेको मुद्दा अझै पेचिलो बन्दै गएको छ। यस क्रममा काँग्रेससँग कुरा नमिले सत्ता गठबन्धनभित्र जसपा र माओवादीको छुट्टै गठबन्धन बन्ने स्थिति देखिएको छ।

    पाँच दलको गठबन्धनभित्र यी दुई दलको बीचमा छुट्टै गठबन्धन रहेको भन्दा पनि हुन्छ । गठबन्धनमा राख्ने प्रस्ताव होस् या कुनै छलफलको विषय दुवै दलको समान विचार हुन्छ। यदि स्थानीय चुनावमा अन्य दलको बीचमा गठबन्धन हुन नसके यी दुई दलको बीचमा गठबन्धन हुने यी दुई दलले अनौपचारिक सहमति पनि गरिसकेका छन्।

    आइतबार सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, जसपाका अध्यक्ष एवं संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईबीच भएको छलफलले उक्त विषयमा सहमति भएको बताइन्छ।

    उक्त छलफलले मूर्त रूप लिने सङ्केत सिरहाको लहान नगरपालिकामा आइतबारै देखिएको छ। पाँच दलीय गठबन्धनबाट चुनाव नलड्ने काँग्रेसले निर्णय गरिसकेपछि जसपा र माओवादी केन्द्रबीच चुनावी गठबन्धन गर्ने निर्णय भएको छ।

    जसपाका नेता राकेश रोशन गुप्ताका अनुसार लहान नगरपालिकाको मेयर जसपाले लिनेछ भने उपमेयर माओवादी केन्द्रले लिनेछ। २४ वटा वडामध्ये १४ वटा जसपा र १० वटा माओवादी केन्द्रले लिने सहमति भएको नेता गुप्ताले बताए।

    यदि काँग्रेस र नेकपा एकीकृत समाजवादी पार्टीले धेरै भाव खाए यसरी जसपा र माओवादी केन्द्र अगाडि बढ्ने जसपाका नेता गुप्ताले बताए। माओवादी केन्द्रका मधेस प्रदेशका इन्चार्ज गणेश साहले पनि मधेस प्रदेशमा जसपा र माओवादी केन्द्रको निकटता बढेको स्वीकारे।

    उनले भने, काँग्रेसले जहाँसुकै आफ्नै हुनुपर्छ भन्छ भने नेकपा एकीकृत समाजवादी पार्टीले एमाले जति आफ्नो हुनुपर्ने भन्दै आइरहेको छ, त्यसरी त गठबन्धन बन्दैन नि। जहाँ जहाँ काँग्रेस र नेकपा एस सँग सहमति बन्दैन, त्यहाँ त्यहाँ जसपा र माओवादी केन्द्रबीच गठबन्धन बन्ने सम्भावना रहेको उनले बताए।

    यद्यपि अहिले पनि जनकपुरमा मधेस प्रदेशको गठबन्धनको बैठक बस्ने तयारी भइरहेको छ। कहाँ कहाँ गठबन्धन गर्ने नगर्ने आज टुंगो लाग्ने साहले बताए । नेकपा एसका नेता धर्मनाथ साहले मधेस प्रदेशको १३६ स्थानीय तहमध्ये २५ वटा आफूहरुले पाउनुपर्ने बताए।

    एमालेले जहाँ जहाँ जितेको छ, ती निकाय आफूहरुले पाउनुपर्ने प्रस्ताव गरिएको उनले जानकारी दिए ।२०७४ को स्थानीय चुनावमा काँग्रेस बलियो: मधेस प्रदेशमा गत २०७४ को स्थानीय चुनावमा काँग्रेस नै बलियो देखिएको थियो। १३६ स्थानीय तहमा ४० स्थानीय तहको प्रमुख पद तथा ३५ वटा उपप्रमुख काँग्रेस जितेको थियो।

    एक हजार २७१ वडामध्ये काँग्रेसले ३३८ वटा वडा जितेको थियो। दोस्रो स्थान तत्कालीन संघीय समाजवादी फोरम नेपाल अर्थात अहिलेको जसपाले ल्याएको थियो। सो पार्टीले २६ वटा पालिका प्रमुख तथा २५ वटा उपप्रमुख जितेको थियो। त्यस्तै १९१ वटा वडा जितेको थियो।

    मधेस प्रदेशमा तेस्रो स्थान तत्कालीन राजपा अर्थात् अहिलेको लोसपाले ल्याएको थियो। उसले २५ वटा प्रमुख, ३० वटा उपप्रमुख जितेको थियो भने १९४ वटा वडा पनि जितेको थियो । चौथो स्थान माओवादी केन्द्रले हात पारेको थियो।

    उसले मधेस प्रदेशको २१ वटा प्रमुख, २४ वटा उपप्रमुख जितेको थियो भने २३१ वटा वडा पनि जितेको थियो। नेकपा एमाले पाँचौ स्थानमा थियो। उसले १८ वटा स्थानीय तहमा प्रमुख र १९ उपप्रमुख जितेको थियो। त्यस्तै, २३० वटा वडा जितेको थियो।

    तत्कालीन समाजवादी पार्टी र राजपाबीच एकीकरण भई जसपा नेपाल बनेको थियो। दुईटै दल मिलाएर मधेस प्रदेशमा जसपाको ५१ स्थानीय तहको प्रमुख भएको थियो। यसले मधेसमा जसपा पहिलो पार्टी बने पनि दल विभाजन पछि लोसपा अलग भएर शक्ति घटेको छ।

    विभाजनपछि अहिले जसपाले ३४ वटा स्थानीय तहको प्रमुख हात पारेको छ भने लोसपा १७ वटा प्रमुखमा खुम्चिएको छ। यसरी अहिले माओवादी केन्द्रले लोसपालाई उछिन्दै तेस्रो स्थानमा पुगेको छ। त्यस्तै एमालेसँग स्थानीय तहका १८ वटा प्रमुखमध्ये पार्टी विभाजन भई नेकपा एकीकृत समाजवादी पार्टीले दुईवटा मात्र तान्न सक्यो।

    मधेस प्रदेशमा यी दलहरु जुनसुकै स्थानमा भएपनि चुनावको मिति घोषणा भएसँगै गठबन्धनमा रहेका दलहरूको स्थानीय तहको प्रतिनिधि यताउती भएका छन्, जसमा एमालेको स्थानीय तहको प्रतिनिधिमा वृद्धि भएको छ।

    मधेस प्रदेशको अधिकांश स्थानीय तहमा माओवादी केन्द्र र जसपाबीच गठबन्धन हुने देखिएको छ। स्थानीय तहमा जितेका साबिकको सङ्ख्यालाई हेर्दा जसपा र माओवादी केन्द्र मिलेपछि काँग्रेसलाई घाटा हुने देखिएको छ।

    जसपा र माओवादी केन्द्रको साबिकको स्थानीय तहमा जितेको प्रमुखको सङ्ख्या जोड्दा ५५ हुन्छ। मधेसमा काँग्रेसको मत घटेमा राष्ट्रिय रूपमा कमजोर हुने देखिन्छ। यद्यपि काँग्रेसले मधेस प्रदेशमा एक्लै लड्दा पनि अरू दल भन्दा बढी सिट ल्याउने दाबी गरिरहेको छ।

    त्यही दाबी गर्दै गठबन्धन गर्न आनाकानी गरिरहेको छ। अधिकांश पालिकामा काँग्रेसका पालिका समितिले एक्लै चुनाव लड्ने निर्णय गरिसकेको र सो बारे केन्द्रलाई पनि जानकारी गराइसकेको छ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ