एजेन्सी। अमेरिकि चेतावनीका बाबजुत भारत-चीन मिलेर पुटिनलाई झट्का लाग्ने खबर आएको छ। भारत र चीनले मौकामा चौका हानेका छन्। रुसले तेल र ग्याँस विक्री एशियामा केन्द्रित गर्न थालेको छ।
उसले भारी छूटमा भारत र चीनलाई कच्चा तेल बेचिरहेको खुलेको छ।विश्वको आधा जनसंख्या भएको भारतसहित दक्षिण एशिया र चीनमा रुसको ध्यान बढी खिचिनुमा यूरोपमा उसको तेल र ग्याँस खरिद कटौती हो।
अमेरिका र बेलायतले रुसको तेल र ग्याँस किन्न छाडेका छन्। यूरोपेली यूनीयनका कतिपय देशले पनि खरिदमा कटौती गरेका छन्। यूरोपेली यूनीयनका देशहरुले रुसी ग्याँस र तेल नै खरिद रोक्ने गरी तयारी गरिरहेका छन्।
यसलाई दृष्टिगत गरी रुसले भारत र चीनमा आफ्नो व्यापार बढाउन थालेको छ।रुसी तेल उत्पादक कम्पनीहरुले भारतलाई २५ देखि ३० डलर छूटमा प्रति ब्यारल तेल विक्री गरिरहेको खुलेको छ ।
भारी छूट पाएपछि भारतले रुससँग ६ महिनामा खरिद गर्ने गरेको तेल एक महिनामै खरिद गरिसकेको छ । रुसी कच्चा तेल बोकेको जहाजहरु समुन्द्रमा भारततर्फ बढिरहेको विषयहरु आएका छन् ।
यसैगरी, चीनले पनि रुससँग तेल खरिद बढाएको छ । उसले भारी छूटमा तेल खरिद गरिरहेको छ । चीनसँग रुसको ग्याँस पाइपलाइन पनि छ। हजारौं किलोमिटर दूरीको ग्याँस पाइपलाइन सञ्चालनमा छ ।रुसले यूरोपबाट आफ्नो ध्यान एशियामा बढाएको छ ।
रुस यूरोप र एशिया दुवैमा पर्छ । तर, उसको सामिप्यता यूरोपसँग रहँदै आएको छ । युक्रेनमाथि हमलापछि यूरोपेली देशहरुले रुसमाथि आर्थिक प्रतिबन्धहरु लगाएका छन्। यसकारण पनि रुसले एशियातर्फ ध्यान बढाएको हो।
त्यस्तै, रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँगको शान्ति वार्तामा गतिरोध आएको बताएका छन्। युक्रेनको राजधानी किभ आसपासबाट रुसी सेना पछि हटेपछि वार्ताका विषयमा पुटिनको पहिलो प्रतिक्रिया आएको हो।
उनले युक्रेनले रुसविरुद्ध युद्ध अपराधको झुठो आरोप लगाइरहेको दाबी समेत गरे। रुसी राष्ट्रपति पुटिनले पूर्वी युक्रेनमा रुसी भाषीको सुरक्षाका लागि सैन्य अभियान जारी राख्ने स्पष्ट पारें ।
उनले रुसको सुरक्षा सुनिश्चितताका लागि अतिरिक्त माग राखेका छन् । युक्रेनका राष्ट्रपतिका सल्लाहाकार मिखाइलो पोदोलेकले भने रुससँगको लेनदेनको विषयका कारण गतिरोध देखिए पनि वार्ता जारी रहेको बताएका छन्।
यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई तानाशाह भन्दै उनले युक्रेनमा नरसंहार मच्चाएको आरोप लगाएका छन् ।
तर यस विषयमा अन्तर्राष्ट्रिय रुपमा निर्णय गर्ने जिम्मा कानुनका ज्ञाताहरुलाई दिने भन्दै बाइडेनले तर आफुलाई भने रुसले युक्रेनमा नरसंहार मच्चाएको लागेको बताए ।
अमेरिकी अधिकारीहरुले भने रुसले युद्ध अपराध गरेको आरोप लगाए पनि आधिकारिक रुपमा नरसंहार मच्चाएको भनेका छैनन्।रुसले फिनल्यान्ड र स्वीडेनलाई पश्चिमा सैन्य सङ्गठन नेटोमा सामेल नहुन आग्रह गरेको छ ।
रुसले फिनल्यान्ड र स्वीडेन नेटोमा सामेल भए युरोपमा स्थायित्व नआउने चेतावनी दिएको बीबीसीले जनाएको छ।रुसी राष्ट्रपति कार्यालयका प्रवक्ता दिमित्री पेस्कोभले नेटो सङ्गठन रुससहित विभिन्न देशमा अस्थिरता निम्त्याउने माध्यमका रुपमा रहेको आरोप समेत लगाउनुभएको छ।
रुसले गएको फेब्रुअरी २४ देखि युक्रेनमा आक्रमण गर्दै आएको छ । युक्रेन नेटोमा सामेल हुन नहुने रुसको मुख्य माग छ। आउँदो जुनको सुरुमा फिनल्यान्ड र स्वीडेनको नेटो सदस्यबारे छलफल हुने सम्भावना छ ।
तर रुसले युक्रेनमा गरेको आक्रमणपछि फिनल्यान्ड र स्वीडेनमा नेटोमा सामेल हुने पक्षमा जनमत बढ्दो छ। सन् १९४९ मा सोभियत विस्तार खतराको सामना गर्न नेटोको गठन भएको थियो।
यता युद्धका कारण यो वर्ष युक्रेनको अर्थतन्त्र झन्डै ४५ प्रतिशतले घट्ने प्रक्षेपण गरिएको छ । विश्व बैंकको प्रक्षेपणले युद्धका कारण युक्रेनको अर्थ व्यवस्था कोरोना महामारी कारण पूर्वी युरोप र मध्य एसियामा परेको असर भन्दा बढी हुने देखाएको छ।
युक्रेनमा शासन चलाइराख्न अनि कठिनाइमा परेका मानिसलाई राहत दिन ठूलो परिमाणमा वित्तीय सहयोग तत्काल खाँचो भएको पनि विश्व बैंकले जनाएको छ।
युक्रेनका धेरैजसो काम गर्ने समूहका मानिस या त लड्न या त भाग्न बाध्य भएका छन्। व्यापार बन्द छन्। सडक, कारखाना अनि अन्य पूर्वाधार ध्वस्त भएका छन्। वर्षौँको प्रगति शून्यमा झरेको छ ।
युक्रेनले विश्वभरि नै गहुँ र सूर्यमुखीको तेल निर्यात गर्ने गर्थ्यो जुन अहिले ठप्प भएको बीबीसीले उल्लेख गरेको छ । यसले गर्दा विश्वभरि नै खाद्यान्नको मूल्य बढ्ने अनुमान छ।
प्रतिक्रिया