• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    गठबन्धनमा सहमतिपछि माओवादीले पठायो विशेष सर्कुलर

    596
    SHARES


    काठमाडौँ। सत्ता गठबन्धनमा चुनावी तालमेलको मापदण्ड र आधार तय भएपछि नेकपा माओवादी केन्द्रले पार्टी पंक्तिमा विशेष सर्कुलर पठाएको छ। पार्टी अध्यक्ष प्रचण्डले बुधबार पार्टी पंक्तिमा विशेष सर्कुलर जारी गरेको एक नेताले जानकारी दिए।

    ती नेताका अनुसार मंगलबार बालुवाटारमा भएको सहमतिपत्रसमेत संलग्न गरेर पार्टी पंक्तिमा सर्कुलर भएको छ। जुन सहमति तथा निर्णय कार्यान्वयन गर्न तथा गराउन प्रचण्डले निर्देशन दिएका छन्।

    पाँच दलीय गठबन्धनका बीच सीट बाँडफाँड देहाय बमोजिमको संयन्त्रले गर्ने भनिएको बुँदा नम्बर २ को हकमा जिल्ला स्तरीय संयन्त्रले प्रदेश संयन्त्रलाई सिफारिस गर्ने कुरा उल्लेख गरिएको प्रचण्डको सर्कुलरमा भनिएको छ। ‘हाम्रो पार्टीबाट संयन्त्रमा पालिकास्तरमा सम्बन्धित पालिकाका इन्चार्ज र अध्यक्ष सहभागी हुने।

    जिल्ला स्तरीय संयन्त्रमा जिल्ला इन्चार्ज र संयोजक सहभागी हुने र प्रदेश स्तरीय संयन्त्रमा प्रदेश इन्चार्ज र अध्यक्ष सहभागी हुने’, सर्कुलरमा भनिएको छ, ‘जिल्ला संयन्त्रको बैठकमा आवश्यकता अनुसार पालिका इन्चार्ज र अध्यक्षलाई आमन्त्रण गर्ने।

    त्यसैगरी प्रदेशस्तरीय संयन्त्रको बैठकमा आवश्यकता अनुसार जिल्ला इन्चार्ज र संयोजकलाई आमन्त्रण गर्न पनि भनिएको छ। अन्य सबै कार्यहरु ५ दलीय गठबन्धनको ७ बुँदे आधारहरू र सिट बाँडफाँड सम्बन्धि ६ बुँदे निर्देशन अनुसार गर्न प्रचण्डले निर्देशन दिएका छन्।

    यस्तै सर्कुलर काँग्रेस, एकीकृत समाजवादी पार्टी लगायतले पनि पठाउने बताइएको छ। पाँच दलीय सत्तारुढ गठबन्धनको मंगलबारको बैठकले स्थानीय तहमा तालमेल गर्ने निर्णय गरेको थियो।

    मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले गठबन्धनभित्र मात्रै तालमेल गर्ने र अन्य दलहरूसँग गठबन्धन नगर्ने निर्णय गरेको थियो। सो निर्णयअनुसार गठबन्धनभित्र सिट बाँडफाँटका आधारहरू र मापदण्ड पनि तय गरिएको थियो।

    त्यसैगरी, प्रमुख विपक्षी नेकपा एमाले र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच स्थानीय तह निर्वाचनमा गठबन्धन गर्ने सहमति भएकाे छ। दुवै दलका नेताहरुबीच बुधवार भएको छलफलपछि ५ बुँदे सहमतिमा हस्ताक्षर भएको छ।

    एमालेका स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र राप्रपा नेपालका स्थानीय निकाय परिचालन विभागका प्रमुख सुशीलकुमार श्रेष्ठले ५ बुँदे सहमतिमा हस्ताक्षर गरेका हुन्। सहमति अनुसार देशभर सम्भव गएको ठाउँमा एमाले र राप्रपा नेपालबीच तालमेल हुनेछ र राप्रपा नेपालका उम्मेदवारले पनि सूर्य चिह्न लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्नेछन्।

    दुइ दलबीच सहमतिको पहिलो बुँदामा देशभरिका तालमेल सम्भव भएका पालिकाहरूमा आपसी तालमेल गरेर उम्मेदवार उठाउने उल्लेख छ। आफ्ना उम्मेदवार नभएका ठाउँमा राप्रपा नेपालले एमाले उम्मेदवारलाई सघाउने, राप्रपा नेपालका उम्मेदवारलाई पनि एमालेले सघाउने सहमति भएकाे छ।।

    यसैगरी एमाले र राप्रपा नेपालका जिल्ला कमिटीहरूले आपसमा छलफल गर्ने र सहकार्यका लागि प्रस्ताव तयार गर्ने र आ-आफ्नो पार्टी केन्द्रमा पठाउने, केन्द्रीय तहको अनुमतिपश्चात सहमति कार्यान्वयन गर्ने सहमति भएकाे छ। राप्रपा नेपालका उम्मेदवारहरूले सूर्य चिन्ह लिएर निर्वाचनमा प्रतिष्पर्धा गर्ने र निर्वाचित भएपश्चात पनि राप्रपा नेपालमा आवद्ध हुने सहमति भएकाे छ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ