• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    राजधानी किभ कब्जा गर्न असफल भएपछि रुसले चाल्यो यस्तो फरक कदम, अब के हुन्छ ?

    1.5K
    SHARES


    काठमाडौँ। केही घण्टामै सम्पूर्ण युक्रेन कब्जा गरी आफ्नो कठपुतली सरकार बनाउने उद्देश्यले युक्रेनमाथि आक्रमण थालेको रुसले अहिले पूर्वी युक्रेन कब्जा गर्न भीषण सैन्य कारवाही थालेको छ।

    गत फ्रेबुअरी २४ देखिसुरु भएको रुसी आक्रमण राजधानी किभ कब्जा गरीभोलोदिमिर जेलेन्स्की नेतृत्वको लोकतान्त्रिक सत्ता सत्ताच्युत गर्न असफल भएसँगै अहिले पूर्वी डोनबास क्षेत्रमा केन्द्रित भएको छ। रुसले आक्रमण गरेको ४९ दिनसम्म पनि कुनै युक्रेनी ठूला शहर कब्जा गर्न असफल भएपछि रुसी राष्ट्रपति भ्लादीमिर पुटिन दबाबमा छन्।

    उनी आफैले बनाएको पिँजडामा आफै परेको धेरै विश्लेषकहरूले अनुमान गर्न थालेका छन्। पुटिनले युक्रेनमा आफ्नो सैन्य लक्ष्यहरू उत्तम रहेको र हासिल गरिने बताएका छन्। मङ्गलबार पूर्वी रूसको भोस्टोचनी कोस्मोड्रोममा बेलारूसी राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोसँगको भेटका बेला पुटिनले सैन्य कारवाही सही कदम भएको र रुससँग अन्य कुनै विकल्प नरहेको दाबी गरेका छन्।

    रुसले भीषण युद्ध शुरु गर्दै युक्रेनका अधिकांश शहरहरूमा आक्रमण जारी राखेको युद्धले भयावह रूप लिइसकेको छ। ४९ दिन कटिसकेको युद्ध तत्कालै रोकिने कुनै संकेत देखिएको छैन। शुरुमा सेना तीव्र गतिका साथ अगाडि बढेको रुसी सेनाले २ दिनभित्रै सम्पूर्ण युक्रेन कब्जा गर्दै आफ्नो कठपुतली सरकारको स्थापित गर्ने उद्देश्य बोकेको थियो।

    राजधानी किभ कब्जा गर्नका लागि रुसी सेना आक्रमणको पहिलो दिन नै प्यारासुटको सहाराले किभ नजिकैको प्रमुख हवाई शिविर कब्जा गरेर राजधानीलाई घेराबन्दी थालेपनि अन्तत: युक्रेनी प्रतिरोधका कारण पछि हट्न बाध्य भयो। युद्ध लम्बिँदै जाँदा अन्तर्राष्ट्रिय स्तरमा रुसको निन्दा र युक्रेनप्रति ऐक्यबद्धता बढिरहेको छ। युरोपेली नेताहरू जोखिमपूर्ण यात्रा गर्दै युक्रेनको राजधानी किभमै पुगी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटेका छन्। रुसले आक्रमण गरेको ४५ औं दिन बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन गत अप्रिल ९ मा युक्रेनको राजधानी किभ पुगे।

    प्रधानमन्त्री जोन्सनले राष्ट्रपति जेलेन्स्कीसँग किभमा वार्ता गर्दै सडकमै गएर आफ्नो ऐक्यबद्धता देखाए। युक्रेनप्रति ऐक्यबद्धताको प्रदर्शन गर्न बेलायती प्रधानमन्त्रीले जोखिम मोल्दै किभमै पुगेर रुसलाई युक्रेन एक्लो नरहेको सन्देश दिएका हुन्। राजधानी किभको सडकमै हिँडेर पुटिनलाई सन्देश दिएका जोनसनले थप १ सय २० वटा हतियारसहितका गाडी लगायत अन्य सैन्य हतियार सहयोग गर्ने घोषणा गरे। प्रधानमन्त्री जोनसनले राष्ट्रपति जेलेन्स्कीको नेतृत्व र साहसको प्रशंसा गरेका थिए। बेलायत युक्रेनको पक्षमा अडिग रहेको र पछिसम्म साथमै रहने वाचा पनि उनले गरे।

    यसअघि युरोपेली परिषद् प्रमुख उर्सुला भोन डेर लेयन र युरोपेली युनियनको विदेश मामिला प्रमुख जोसेप बोरेल अप्रिल ८ गते किभमै पुगी राष्ट्रपति जेलेन्स्कीसँग भेटेका थिए। उनीहरूले रुसले बर्बर आक्रमण गरेको क्षेत्रहरूको समेत स्थलगत अवलोकन गर्दै रुसले मानव अधिकारको चरम उलङ्घन गरेको बताए। युरोपेली परिषद्की प्रमुख लेयनले युरोप बुचामा भएको रुसी नरसंहारको विरुद्ध आवाज उठाउने र लड्ने बताउँदै रुसले निन्दनीय अपराध गरेको दाबी गरिन्।

    यसअघि मार्च १५ मा रुसले बमबारी तीव्र पारेकै बेला युक्रेनको छिमेकी देश पोल्याण्डका प्रधानमन्त्री मातेयुस मोरावेस्की, चेक गणतन्त्रका प्रधानमन्त्री पिटर फिआला र स्लोभिनियाका प्रधानमन्त्री यानेज यान्शा जोखिमपूर्ण यात्रा गर्दै राजधानी किभ पुगेर राष्ट्रपति जेलेन्स्कीसँग भेट्दै ऐक्यबद्धता जनाएका थिए।

    रुसी आक्रमणको डटेर सामना गरेसँगै भोलोदिमिर जेलेन्स्की युद्धको नायकका रूपमा उदाएका छन्। उनको संसारभरबाट प्रशंसा भइरहेको छ। राजनीतिक अनुभव विना हास्य कलाकार जेलेन्स्की युक्रेनको राष्ट्रपति बनेपछि धेरैले हल्का रूपमा हेरे पनि अहिले उनको छवि विश्वसनीय युद्धनायकभन्दा माथि पुगेको छ। उनकै साहसी नेतृत्वमा युक्रेनले शक्तिशाली रुसी सेनालाई रोक्न सफल भएको छ।

    युक्रेनी सेनाको सशक्त प्रतिकारले रुसको योजना अलपत्रमात्र पारिदिएको छैन, रुसतर्फ ठूलो क्षति पुर्‍याएको छ। युक्रेनमा युद्ध सुरु गरेको डेढ महिनासम्म पनि कुनै अपेक्षित लक्ष्य हात नलागेपछि र धेरै सैनिकहरूको हताहती भएपछि रुसले कमान्डर नै हेरफेर गरेको छ। रुसले नयाँ कमान्डरमा सिरिया युद्धको अनुभव भएका जनरल अलेकसान्डर डीभोर्निकोभलाई युक्रेन आक्रमणको जिम्मा दिएको छ।

    रुसी सेना किभ, चेर्निहिभ, इर्पिन, बुचा, होस्टोमेल लगायत क्षेत्रबाट फिर्ता हुँदै पूर्वी युक्रेन नियन्त्रणमा लिन अघि बढेका छन्। रुसी सेनाले भोगेको क्षति र हताहतीले उसका लागि युक्रेन युद्ध निकै महँगो परिरहेको छ। रुसले युक्रेन आक्रमणकै कारण कडा आर्थिक प्रतिबन्धहरूको सामना गरिरहेकाले समग्र अर्थतन्त्रनै ध्वस्त हुन सक्ने अवस्था छ।

    विश्व बैंकले रुस–युक्रेन युद्धले केही देशमा प्रत्यक्ष आर्थिक मन्दी ल्याउने प्रक्षेपण गरेको छ। विश्व बैंकले युद्धका कारण युक्रेनको अर्थतन्त्रमा यो वर्ष करीब ४५.१ प्रतिशतले सङ्कुचित हुने र अन्तर्राष्ट्रिय आर्थिक प्रतिबन्धहरूका कारण रुसको अर्थतन्त्र ११.२ प्रतिशतले सङ्कुचित हुने प्रक्षेपण गरेको हो। रुसी सेना युक्रेनमा जथाभावी आक्रमण गर्नु र सफलता हासिल गर्न नसक्नुमा पुटिन आफैले संस्थाबाहिरका केही विश्वासिला अधिकारीहरूमार्फत प्रारम्भिक सैन्य योजना बनाउनु हो।

    जसमा सैनिक अधिकारीहरू अनविज्ञ रहेको विज्ञहरूको अनुमान छ। पुटिनले युक्रेनलाई निकै कमजोर ठानी गोपनीयतामा जोड दिँदै सैन्य योजना बनाएपनि समन्वय र सैनिक अधिकारीहरूको संलग्नता बेगर परिणाम भद्रगोल देखिएको हो। रुसी सेनाले युक्रेनको राजधानी किभ केही घण्टाभित्रै कब्जा गर्ने र राष्ट्रपति भोलोदिमिर जेलेन्स्की भागिहाल्ने अनि नयाँ कठपुतली सरकार गठन गर्ने योजना युक्रेनी सेनाको सशक्त प्रतिकारका कारण सफल हुन सकेन।

    युक्रेनी सेनालाई कम्जोर ठान्दै आक्रमण थालेका रुसी सैन्य कमान्डरहरू सशक्त प्रतिरोधका लागि तयार नभएको र युक्रेनीको सशक्त सैन्य प्रतिकारलाई कसरी रोक्ने भन्ने नै योजना नभई परिचालित भएको जस्तो देखिएको छ। राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको नेतृत्व र सेनाको शक्ति अनपेक्षित भएर सर्वसाधारण समेत देश जोगाउन हतियार बोकेर सडकमा उत्रेपछि रुसी सेना गैरसैनिक निशानाहरूमाथि समेत ब्यापक आक्रमण गरी क्षति पुर्या्उन थालेको छ।

    युक्रेनी सरकारलाई नाजी, फाँसीवादी भन्दै आफ्नो कठपुतली सरकार बनाउने पुटिनको चाहनामा ठेस लागेसँगै अब युक्रेन तटस्थ रहनुपर्छ भन्ने अवस्थामा आइपुगेको छ। रुसले अहिले युद्धविरामका लागि बिभिन्न शर्तहरु अनौपचारिक माध्यममार्फत राखेको छ । जसमा रुसी भाषाको प्रयोगलाई संरक्षित गरिनुपर्ने, रुसी भाषामा पढाउन लगाइएको प्रतिबन्ध खुल्ला गर्नुपर्ने, क्राइमियालाई रुसमा गाभिएको आधिकारिक रूपमा स्वीकार गर्नुपर्ने,

    रुस समर्थित पृथकतावादीहरूको नियन्त्रणमा रहेको पूर्वी क्षेत्रहरु लुह्यान्स्क र डोनेट्स्कलाई स्वतन्त्र मान्नुपर्ने, युक्रेनले नेटोको सदस्यता लिन नपाउने, युक्रेन युरोपेली युनियनमा आवद्ध हुन नहुन, राष्ट्रिय फौजबाट एजोभ बटालियनलाई हटाउनुपर्ने, युक्रेनको आक्रामक सैन्य क्षमता र आधुनिकीकरण रोक्नुपर्ने, युक्रेनी सेनाले ठूला हतियार खरिद गर्न या सहयता लिन नपाउने, युक्रेनले तटस्थ विदेश नीति लिनुपर्ने लगायतका शर्तहरू राखेको छ जुन युक्रेनले पूरा गर्न मुस्किल छ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ