काठमाडौँ । नेकपा माओवादी केन्द्रले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका मेयर र उपमेयरका उम्मेदवारका लागि सिफारिस गरेको छ ।
मेलम्ची नगरपालिका मेयर र उपमेयर ३/३ जनाको नाम सिफारिस भएको केन्द्रीय सदस्य युवराज दुलालले बताए । सोमबार बसेको नगरपालिकाको बैठकले सर्वसम्मत रुपमा उम्मेदवार चयन गर्न नसकेपछि ३/३ जनाको नाम सिफारिस गरिएको हो ।
दुलालका अनुसार मेयरका लागि चन्द्रबहादुर थापा, देबेन्द्र घोरासैनी र उदन आलेको नाम सिफारिस भएको छ। यस्तै उपमेयरमा मुनादेवी ढकाल, लक्ष्मी ढकाल, मिथिला सिग्देलको नाम सिफारिस भएको दुलालले बताए । यसअघि निर्वाचन माओवादी यस नगरमा तेस्रो भएको थियो।
यसैबीच निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरेको विषयमा नेकपा एकीकृत समाजवादीलाई स्पष्टीकरण सोधेको छ ।
सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले शनिबार भृकुटिमण्डपमा आयोजित कार्यक्रममा एकीकृत समाजबादीले आचारसंहिता उल्लंघन गरेको उजुरी प्राप्त भएको र सो विषयमा तीन दिनभित्र जवाफ दिन भनिएको जानकारी दिए ।
त्यस्तै आयोगले चुनाव खर्चबारे दिएको सार्वजनिक भनाइका विषयमा कांग्रेसका नेता डा. शशांक कोइरालासँग जवाफ मागेको छ । २०७४ को निर्वाचनमा कोईरालाको निर्वाचन खर्च विवरण २१ लाख ७५ हजार मात्र उल्लेख भएको र ६ करोड खर्च भएको अभिव्यक्ति दिएको भन्दै यस बिषयमा सात दिनभित्र जानकारी दिन भनिएको प्रवक्ता पौडेलले बताए ।
स्थानीय निर्वाचनका लागि २८ जिल्लाको ४५ लाख २२ हजार मतपत्र छपाइ कार्य सम्पन्न भएको प्रवक्ता पौडेलले जानकारी दिए। त्यस्तै सवै निर्वाचन अधिकृतले पाउनेगरि एक एक प्रति मतदाता नामावली पठाएसकेको उनले बताए।
त्यस्तै निर्वाचन आचारसंहिता लागू हुनुअघिसम्म २३ हजार ८ सय मतदाता थपिएको आयोगले जनाएको छ । केन्द्रबाट खरिद गर्नुपर्ने ३८ सामाग्री मध्ये ३५ सामाग्री खरिद भइ आइसकेको र अन्य सामाग्री आउने क्रममा रहेको आयोगले जानकारी दिएको छ ।
प्रतिक्रिया