• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    पत्रपत्रिका

    भिडन्तमा परि शान्ति मिसनमा गएका ७२ नेपाली सेनाले ज्यान गुमाए

    2.6K
    SHARES


    बिबिसी। कंगोस्थित संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा खटिएका नेपाली सेनाका ७२ जना सिपाहीले दोहोरो गोली हानाहानमा परि ज्यान गुमाएका छन्। यस्तै एक जना नेपाली सैनिकको मंगलबार मृत्यु भयो, मृत्यु हुनेमा सुर्खेतको गुर्माकोट–१४ का सिपाही अनिल गुरुङ रहेका छन्।

    कंगोको विद्रोही समूहले चलाएको गोली लागि उनको मृत्यु भएको हो। नेपाली सेनाका प्रवक्ता सहायक रथि नारायण सिलवालका अनुसार गुरुङ्गको मृत्युसँगै राष्ट्रसंघको शान्ति मिसनमा खटिने क्रममा वीरगती प्राप्त गर्ने नेपाली सैनिकको संख्या ७२ पुगेको हो।

    नेपाल सन् १९५५ मा राष्ट्रसंघको संघको सदस्य भएपछि त्यसको चार वर्ष बित्न नपाउँदै शान्ति सैनिक पठाउन थालेको हो। नेपालले पहिलो पटक सन् १९५८ मा सैन्य पर्यवेक्षकको रुपमा पाँच जना सैनिकलाई लेबनानमा पठाएको थियो।

    नेपालले राष्ट्रसंघको शान्ति मिसनमा शान्ति सेना पठाउन थालेको ६४ वर्ष पुगेको छ। यो अवधिमा १ लाख ४० हजार २०२ जना नेपाली शान्ति सैनिक राष्ट्रसंघीय मिसनमा खटिएका छन्, जसमध्ये ७२ जनाको शान्तिस्थापनाका क्रममा ज्यान गुमाएका हुन्।

    नेपालले हालसम्म राष्ट्रसंघका ४३ वटा मिसनमा आफ्ना सैनिक पठाइसकेको छ। अहिले राष्ट्रसंघको शान्ति मिसनमा सबैभन्दा बढी सैनिक पठाउने राष्ट्रको सूचीमा नेपाल दोस्रो नम्बरमा रहेको सेनाले जनाएको छ।

    ‘नेपाली सेनाले जहिले पनि चुनौतीलाई स्वीकार गर्दै कठिन अपरेशनमा भाग लिएको छ। यस सिलसिलामा आजसम्म ७२ जना सैनिकले वीरगती प्राप्त गरेका छन् भने ६६ जना अपाङ्ग भएका छन्,’ नेपाली सेनाका प्रवत्ता सिलवालले जानकारी दिए।

    हाल विश्वका ११ देशका रहेका १२ वटा राष्ट्रसंघीय शान्ति मिसनमा करिव ५ हजार ५ सय नेपाली सेना खटिएको उनले जनाए । खटिने सैनिकमा २५० जना महिला सैनिक रहेका छन्।

    अहिले सिरिया, वेस्टर्न सहारा, माली, कंगो, सेन्ट्रल अफ्रिकन रिपब्लिक, लेबनान, इराक, लिविया, इजरायल, यमन, सुडान र दक्षिण सुडानमा रहेका शान्ति मिसनमा नेपाली सेना खटिएका छन्।

    सिरियामा ४११, वेस्टर्न सहारामा ३, मालीमा १७५, कंगोमा १ हजार १५४, सेन्ट्रल अफ्रिकन रिपब्लिकमा ७५६, लेबनानमा ८७२, इराकमा ७७, लिवियामा २३५, इजरायलमा ३, सुडानमा २१ र दक्षिण सुडानमा १ हजार ७५२ जना।

    सैनिक हाल तैनाथ रहेको प्रवक्ता सिलवालले जनाए। यसको अलवामा हाल राष्ट्रसंघको शान्ति मिसनमा नेपालको तर्फबाट १९६ जना सशस्त्र प्रहरी र ३७ जना नेपाल प्रहरी खटिएका छन्।

    बढी फौज पठाउने दोस्रो राष्ट्र नेपाल
    सन् १९५८ मा पाँच जना सैनिक पर्यवेक्षकसहित राष्ट्रसङ्घीय शान्ति मिसनहरूमा खटिन थालेको नेपाली सेनाले हालसम्म एक लाख ४० हजारभन्दा बढी फौज राष्ट्रसङ्घीय मिसनहरूलाई उपलब्ध गराएको छ।

    ज्यानुअरीसम्मको तथ्याङ्क अनुसार नेपालबाट ५,६०० भन्दा बढी सैनिक र प्रहरीहरू राष्ट्रसङ्घीय मिसनमा कार्यरत छन्। उक्त आँकडाले नेपाललाई बाङ्गलादेशपछि सबैभन्दा बढी शान्ति सैनिक तथा प्रहरी उपलब्ध गराउने देशको सूचीमा पुर्‍याएको छ। नेपालले संयुक्त राष्ट्रसङ्घले अनुरोध गरेमा एक पटकमा १०,००० सम्म शान्ति सैनिक खटाउनसक्ने जनाएको छ।

    आकर्षक तलब र सुविधा हुने भएकाले शान्ति सेनामा सहभागिताप्रति नेपाली सेनामा उच्च आकर्षण रहेको पाइन्छ। प्रत्येक शान्ति सैनिकलाई मासिक १,४२८ डलर दिने निर्णय राष्ट्रसङ्घले गरेको छ। मिसनबाट खटिँदा सैनिकहरूबाट सङ्कलित हुने रकमको निश्चित प्रतिशत सेनाले आफ्नो कोषमा जम्मा गर्ने गरेको छ। र त्यसबाट प्राप्त हुने ब्याजबाट नेपाली सेनाले आफ्नो कल्याणकारी कार्य सञ्चालन गर्दै आएको छ।

    नेपाली शान्ति सैनिकको प्रशंसा
    सन् २००८ मा नेपालको भ्रमण गरेका संयुक्त राष्ट्रसङ्घका तत्कालीन महासचिव बान कि मुनले सन् २००५ को जुनमा कङ्गोको मिसनमा ज्यान गुमाएका एक जना नेपाली मेजरले प्रदर्शन गरेको बहादुरीको चर्चा गरेका थिए।

    सामुहिक बलात्कारको अनुसन्धान गरिरहेका मानवअधिकारकर्मीहरूको एउटा टोलीलाई सुरक्षा दिन मेजर कबिन्द्रजङ्ग थापा खटिएका थिए। उक्त टोली फर्कन लाग्दा सयौँ सशस्त्र विद्रोहीले हेलिकोप्टरलाई घेरेर गोली चलाएको उल्लेख गर्दै बानले सबै जना सुरक्षित भएर हेलिकोप्टर चढ्ने कुरा उनले सुनिश्चित गरेको उल्लेख गरेका थिए।

    थापाको सम्मानमा तत्कालीन राष्ट्रसङ्घीय महासचिवले भनेका थिए, “सबैभन्दा अन्तिममा चढ्नेमा उनी थिए। तर हेलिकोप्टरभित्र प्रवेश गरे लगत्तै उनलाई गोली लाग्यो र उनी मारिए। “मेजर थापाले आफ्ना सहकर्मीको सुरक्षा गर्दै ज्यान गुमाए। उनले शान्ति र मानवअधिकारको रक्षा गर्दा गर्दै ज्यान गुमाए। उनले राष्ट्रसङ्घको सुरक्षा गर्दै ज्यान गुमाए।”

    नेपालले शान्ति मिसनमा योगदान पुर्‍याएको ५० वर्ष पुगेको अवसरमा राष्ट्रसङ्घका महासचिवले नेपालको सहभागीतालाई अनुपम उदाहरण भनेका थिए। कङ्गो मिसनमै खटिएकी नेपाल प्रहरीकी नायब उपरीक्षक संज्ञा मल्ललाई राष्ट्रसङ्घको उत्कृष्ट महिला प्रहरीको सम्मान दिएको थियो।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ