काठमाडौँ । अमेरिकाले झन्डै डेढ महिनाअघि युक्रेनमाथि आक्रमण गरेको रूसविरूद्ध थप आर्थिक प्रतिबन्धहरू लगाएको छ।
युक्रेनको राजधानी किएभनजिकैको बुचामा दर्जनौं युक्रेनीका शव भेटिएको घटनापछि अमेरिकाले रूसमाथि बुधबार थप प्रतिबन्ध घोषणा गरेको समाचार संस्था रोयटर्सले जनाएको छ।
यसपालिको प्रतिबन्धमा अमेरिकाले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनकी दुई छोरीलाई पनि समेटेको छ। पुटिनकी छोरीहरू क्याटरिना र मारियाले बाबुको सम्पत्ति लुकाएको भन्दै उनीहरूमाथि प्रतिबन्ध लगाइएको अमेरिकी अधिकारीहरूले बताएका छन्।
अमेरिकी अधिकारीहरूका अनुसार पुटिनकी छोरी क्याटरिना रूसी सरकार र उसको प्रतिरक्षा प्रणालीलाई सघाउने प्रविधि कम्पनीकी कार्यकारी प्रमुख हुन् भने मारियाले रूसी सरकारको अनुदानमा जेनेटिक अनुसन्धान कार्यक्रम चलाइरहेकी छन्।
पुटिनकी यी दुबै छोरीको विवाह भइसकेको छ। पुटिनले सन् १९८३ मा ल्युडमिला एलेक्सान्ड्रोभ्ना ओकेरेत्नायासँग विवाह गरेका थिए। उनीहरूबी सन् २०१४ मा पारपाचुके भएको थियो।
पुटिनले कहिले पनि आफ्नी छोरीहरूका बारेमा सार्वजनिक जानकारी दिएका थिएनन्। श्रीमतीसँग पारपाचुकेपछि उनले सन् २०१५ मा आफ्ना छोरीहरू रूसभित्रै रहेको बताएका थिए।
अमेरिकाले बुधबार घोषणा गरेको प्रतिबन्धमा रूसी विदेश मन्त्री सर्जेई लाभरोकी श्रीमती र छोरीलाई पनि समावेश गरिएको छ। उता युक्रेनकी उपप्रधानमन्त्रीले पूर्वीयुक्रेन— खार्किभ, लुहान्स्क र दोनेत्स्कका वासिन्दालाई ती क्षेत्र तत्काल खाली गर्न अनुरोध गरेकी छिन् ।
रुसी सेनाले सो क्षेत्रमा हमला तीब्र पार्ने त्रासबीच उपप्रधानमन्त्री इरिना भेरेश्चुकले सो अनुरोध गरेकी हुन् । ‘यो अहिले नै गर्नुपर्छ किनभने पछि मानिसहरू आगोमा पर्नेछन् र मृत्युको धम्कीको सामना गर्नेछन्’, उपप्रधानमन्त्री भेरेश्चुकले भनिन् ।
सरकारको अनुरोधपछि ती ती क्षेत्रबाट सर्वसाधारण नागरिक सुरक्षित क्षेत्रतर्फ जान थालेका छन् रुसले आफ्नो आक्रमणको केन्द्रबिन्दु पूर्वीयुक्रेनलाई बनाउने यसअघि नै संकेत गरेको थियो । रुसी सेना पूर्वी युक्रेनलाई चारैतिरबाट हमला गर्ने योजनमा रहेको बताइन्छ ।
यसैबीच, अमेरिकाले रुसी राष्ट्रपतिका दुई वयस्क छोरीहरु र रुसी बैंकमाथि प्रतिबन्ध लगाएको छ । युक्रेनमा रुसले युद्ध अपराध गरेको आरोप लगाउँदै अमेरिकाले पछिल्लो कदम चालेको हो ।
त्यस्तै बेलायती प्रधानमन्त्री बोरिस जोनसनले बुचा सहरमा रुसी सेनाले सर्वसाधारणको नरसंहार गरेको बताएका छन् ।
प्रतिक्रिया