धादिङ । धादिङमा नेपाली कांग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्षलाई आफ्नै पार्टीका कार्यकर्ताहरूले आक्रमण गरेका छन्।
वैशाखमा हुने स्थानीय चुनावको उम्मेदवारबारे भएको छलफलमा विवाद हुँदा खनियावास गाउँपालिका अध्यक्ष रणबहादुर तामाङमाथि मंगलबार बेलुकी आक्रमण भएको हो।
कांग्रेसका पूर्वक्षेत्रीय सभापति राजु पाख्रीनलगायतको समूहले गाउँपालिका अध्यक्ष तामाङमाथि आक्रमण गरेको आरोप छ। कांग्रेस नेता तथा गाउँपालिका अध्यक्ष तामाङले आफूमाथि आक्रमण भएको बताए।
‘टिकटको विषयमा कुराकानी भइरहेको थियो, मैले पनि केही कुरा राख्दा आक्रमण गरे,’ उनले भने, ‘मलाई कचौराले हानेका हुन्। कुरा राख्दा आक्रमण होला भन्ने मैले सोचेकै थिइनँ।’
उनको अनुहारमा चोट लागेको छ। आक्रमणमा संलग्न रहेको आरोपमा प्रहरीले कांग्रेसकै नेता पाख्रीनलाई नियन्त्रणमा लिएको छ।
‘आक्रमण गर्नेलाई प्रहरीले पक्राउ गरिसक्यो, घटना सामान्य हो,’ गाउँपालिका अध्यक्ष तामाङले भने। घटना हुनुभन्दा पहिले पेस्तोल पड्केको दाबीसमेत उनले गरेका छन्।
यसबारे प्रहरीले अनुसन्धान अगाडि बढाएको जनाएको छ। गाउँपालिका अध्यक्ष तामाङले आफू फेरि पनि पार्टीबाट उम्मेदवार हुन चाहेको कुरा राखेपछि विवाद भएको थियो।
यस्तै धादिङको बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष तथा इन्चार्ज पुन: नेकपा माओवादी केन्द्रमा फर्किएका छन्। अध्यक्ष पित्तबहादुर डल्लाकोटी (हरि) ले एक विज्ञप्ति जारी गर्दै आफू माओवादी केन्द्रमा फर्किएको बताएका छन्।
उनी सोमबारमात्रै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवास पुगेर पार्टी प्रवेश गरेका थिए। तर आफूभित्र क्षणिक आक्रोश र आवेगमा आएर राजनीतिक रूपमा गम्भीर गल्ती-कमजोरी हुन गई पुन: पार्टीमा फर्किएको उनले बताए।
‘मभित्र क्षणिक आक्रोश र आवेगमा आई राजनीतिक रूपमा गम्भीर गल्ती कमजोरी हुन गई समग्र पार्टी, बेनीघाट रोराङ र धादिङको पार्टी पंक्तिमा पर्न गएको क्षतिप्रति गम्भीर रूपमा आत्माआलोचना गर्न चाहन्छु,’ उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘र आगामी दिनमा माओवादी केन्द्रमा रही पार्टीको निर्णय अनुसार क्रियशील हुन्छु।’
प्रतिक्रिया