• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    चुनाव नजिकिदै गर्दा एमालेले माओवादीलाई दियो यस्तो अफर, होलान त् प्रचण्ड सहमत ?

    1K
    SHARES


    मोरङ । मोरङको केराबारीमा ०७४ सालमा काँग्रेसका उम्मेदवार रोहित कोइरालाले ५ हजार ४ सय ९९ मत ल्याएर अध्यक्षमा बाजी मारे । त्यही पालिकामा उपाध्यक्ष पदमा भने एमालेकी शान्तिकुमारी लिम्बूले ५ हजार ७ सय ४७ मत ल्याएर विजयी बनिन् ।

    त्यसबेला माओवादी केन्द्रले एउटा वडाध्यक्ष जितेको थियो । झन्डै बराबरी मत रहेको काँग्रेस र एमालेले अहिले उक्त गाउँपालिकामा माओवादीलाई उपप्रमुखसहित ५ वटासम्म वडा दिने भन्दै ‘अफर’ गरिरहेका छन् । सो गाउँपालिकामा माओवादीले जसलाई सघाउँछ उसैले जित्ने अवस्था रहेको हिसाब दुवै दलले राखेका छन् ।

    मोरङकै कानेपोखरी गाउँपालिकामा पनि यस्तै अवस्था छ । नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका ताराबहादुर काफ्लेले ६ हजार ५ सय ८८ मत ल्याएर विजयी बन्दा माओवादी केन्द्र दोस्रो स्थानमा थियो । माओवादीका उम्मेदवार सूर्य धिमालले ४ हजार ६ सय ६७ मत ल्याएका थिए भने काँग्रेसका केदारबहादुर थापाले ४ हजार ३ सय ४७ मत ल्याएका थिए ।

    त्यहाँ पनि माओवादीसँग जसले तालमेल गर्‍यो उसैले सोलोडोलो जित्ने अवस्था छ । ‘एमालेका साथीहरूले पनि हामीसँग तालमेल गरौँ, ल उपाध्यक्षसहित कति वडा वडा लिने भनेर अनौपचारिक छलफल गरेका थिए,’ माओवादी कानेपोखरी गाउँपालिकाका इन्चार्ज अम्बिका अर्यालले भने, ‘मैले हामीलाई अध्यक्ष दिने हो भने मिल्ने भनेँ ।’

    उक्त गाउँपालिकामा काँग्रेस पनि कसरी तालमेल गर्ने भन्ने विषयमा छलफल गरिरहेको छ । ‘गाउँपालिकामा कसरी तालमेल गर्ने भन्ने विषय केही समय हेर्नुपर्छ, माओवादीले दोस्रो पोजिसन लिएर जाने हो भने सहज हुन्छ,’ सोही क्षेत्रबाट निर्वाचित काँग्रेसका प्रदेशसभा सांसद सूयर्माराज राईले भने, ‘बरु कुन कुन वडाध्यक्ष लिने हो सहमति गर्नुपर्छ ।’

    मोरङकै लेटाङ नगरपालिका होस् या मिक्लाजुङ गाउँपालिका सबैतिर तालमेल नगरी जितिँदैन भन्ने मनोविज्ञानमा काँग्रेस र एमाले रहेको त्यहाँका स्थानीय नेता बताउँछन् । लेटाङ नगरपालिका माओवादीका इन्चार्ज कृष्ण लम्साल अनन्तले दुवै पार्टीले आफूहरूलाई उपप्रमुख र केही वडाको अफर गरिरहेको बताउँछन् ।

    ‘हामीसँग दुवै पार्टीले सहकार्य गर्न चाहेको देखिन्छ,’ उनले भने, ‘एमालेले बढी जोड गरिरहेको छ ।’ एमाले नेता तथा मोरङका इन्चार्ज विनोद ढकाल आगामी चुनावमा घोषित गठबन्धन नगर्ने बताउँछन् । यद्यपि स्थानीयस्तरमा सहमतिहरू हुनसक्ने उनको भनाइ छ ।

    एमालेका जिल्ला अध्यक्ष ऋषिकेश पोखरेलले पनि गठबन्धनको अवस्था के हुन्छ हेरेर आफ्नो योजना बनाउने बताउँछन् । ‘पहिलो कुरा त गठबन्धन भनेको के हो, कस्तो हुन्छ ? मोरङमा हुन्छ कि हुँदैन ? त्यसलाई हेरेर मात्रै हामी निर्णय लिन्छौँ,’ पोखरेलले भने ।

    सत्ता गठबन्धन दलले केन्द्रमा गठबन्धन गरेर जाने निर्णय गरिसकेको छ । तर, मोरङका नेताहरूमा भने चुनावमा सहकार्य गर्ने कि नगर्ने भन्ने विषयमा अन्योल देखिन्छ । केही दिन अगाडि गठबन्धन दलका नेताहरूबीचमा विराटनगरको होटल इस्टर्नस्टारमा बैठक बसेको थियो । त्यहाँ ‘चिया गफ’ भन्दा अगाडि बढेर कुनै छलफल भएन ।

    बैठकमा सहभागी काँग्रेस बाहेकका दलका नेताहरूले गठबन्धन गर्ने विषयमा काँग्रेस इमानदार नहुने हो कि भन्ने शङ्का रहेको बताए । मोरङमा काँग्रेसले ०७४ सालको निर्वाचनमा पनि एक्लै १० वटा पालिका जितेको थियो । एमालेले ५ वटा जित्दा माओवादी र जसपाले १–१ वटा पालिका जितेका थिए ।

    गठबन्धन गर्दा एमालेले जितेका पालिकालाई विभाजन गरेर लिने र अन्य पालिकाहरू आ–आफ्ना पार्टीले जितेअनुसार चुनावमा जाने गरी छलफल गर्नुपर्ने ती नेताको भनाइ छ । ‘काँग्रेसले आफूले जितेको १० वटा पालिकाको प्रमुखको त कुरै छाडौँ उपप्रमुख वा उपाध्यक्ष पदमा पनि गठबन्धन नगर्ने गरी गतिविधि गरिरहेको छ,’ ती नेताले भने, ‘हामीलाई हेपेको अनुभूति गरेका छौँ, गठबन्धन चार दलमा भन्दा तीन दलबीचमा हुने सम्भावना बढेको छ ।’

    मोरङमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी नेपाल बीच मात्रै तालमेल हुने सम्भावना बढेको अर्का एक नेताले बताए । ‘काँग्रेस इमान्दारिताका साथ आएको छैन,’ उनले भने, ‘बरु हामी तीन दलबीच गठबन्धन गरेर जाने हो कि जस्तो देखिन्छ ।’

    काँग्रेस मोरङका सभापति डिकबहादुर लिम्बूले आफूहरूको जिल्ला भेला आगामी २४ गते राखिएको र सो भेलामा आउने सुझावका आधारमा मात्रै गठबन्धनबारे निर्णय गरिने बताए । लिम्बूले कतिपय जितेका स्थानीय तहमा उपमेयर तथा वडाध्यक्ष पनि किन दिने ? भन्ने सुझाव पनि प्राप्त भएको बताए ।

    माओवादी मोरङका संयोजक विजय विश्वासले काँग्रेसको २४ गतेको बैठकमा प्राप्त हुने सुझावलाई आफूहरूले पनि हेरिरहेको बताए । ‘काँग्रेसले २४ गतेसम्म पर्खिनु भनेको छ,’ विश्वासले भने, ‘त्यसपछि मात्रै पार्टीहरुबीचमा गठबन्धन कसरी गर्ने, त्यसको मोडालिटी कस्तो हुने भन्ने विषयमा अगाडि बढ्छ ।’

    माओवादी केन्द्र प्रदेश १ सदस्य तथा मोरङका नेता कुशल लिम्बूले गठबन्धन गर्ने हो भने केन्द्रमा जस्तै प्रदेश, जिल्ला र स्थानीय तहमा पनि संयन्त्र बनाउनुपर्नेमा जोड दिए ।

    लिम्बूले अन्तिम समयमा गठबन्धन गर्दा पनि नगर्दा पनि अन्योल बढ्ने भएकोले अहिलेदेखि नै तयारीमा लाग्नुपर्नेमा जोड दिए । ‘अहिले गठबन्धन गर्ने भन्ने, अलिक समयपछि नगर्ने भन्ने, फेरि गर्ने भन्ने जस्तो भयो भने, परिणाम राम्रो दिन सकिँदैन,’ लिम्बूले भने, ‘हामीलाई गोल गर्नका लागि रेफ्रीले समयमै सिट्ठी बजाउनु आवश्यक छ ।’

    यता, नेकपा एमाले भने स्थानीय निर्वाचनमा आफू एकल तयारीका साथ लागेको बताएको छ । एमाले मोरङका अध्यक्ष पोखरेलका अनुसार केन्द्रीय नेताको कमाण्डमा संघीय निर्वाचन क्षेत्र लक्षित, प्रदेशका नेताको कमाण्डमा पालिकास्तरमा र जिल्लाका नेताको कमाण्डमा वडा तहसम्म कार्यक्रम भइरहेको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ