काठमाडौं । अर्थमन्त्रीले एकाएक राजीनामाको घोषणा गरेका छन् । श्रीलंकामा अर्थमन्त्री नियुक्त भएको २४ घण्टा नपुग्दै अली साबरीले राजीनामा दिएका छन् । राष्ट्रपति गोताबाया राजापाक्षलाई पत्र लेख्दै राजीनामाको घोषणा गरेका हुन् ।
श्रीलंकाको अंग्रेजी अनलाइन पोर्टल डेली मिरर श्रीलंकाले जनाएअनुसार उनले आफूले अन्तरिम रुपमा मात्र मन्त्रीको जिम्मेवारी सम्हालेको भन्दै पदबाट राजीनामा दिएका हुन् ।
उनले यदी राष्ट्रपति राजापाक्षले संसदीय प्रणालीबाहिर गई समस्याको समाधान खोजेको भए आफू सांसद पदबाट समेत राजीनामा दिन तयार रहेको बताएका छन् ।
यसअघि श्रीलंकाका सबै २६ मन्त्रीहरूले सामूहिक राजीनामा दिएका थिए । मन्त्रीहरूको राजीनामापछि राष्ट्रपतिले साबरी सहित चार जनालाई हिजोमात्र विभिन्न मन्त्रालयको जिम्मेवारी दिई शपथ ग्रहण गराएका थिए ।
मन्त्रीहरुको सामूहिक राजीनामापछि राष्ट्रपतिले जारी समस्या समाधान गर्न संसद्मा रहेका सबै दलहरूलाई सरकारमा सहभागी हुन आह्वान गरेका थिए । यद्यपि विपक्षीले भने राष्ट्रपतिको आग्रह अस्वीकार गरेको जनाइएको छ ।
चरम आर्थिक संकट एवम् अत्यावश्यक वस्तुको अभावका कारण श्रीलंकामा प्रायः नियमितजसो प्रदर्शन हुँदै आएको छ । यसअघि प्रदर्शनकारीले राष्ट्रपति राजापाक्षको घरमै पुगी हिं’सा’त्मक प्रदर्शन गरेका थिए । प्रदर्शनबीच त्यहाँ आपतकाल लगाइएको छ ।
आपतकालका बावजुद प्रदर्शन जारी रहेको बताइएको छ । त्यस्तै श्रीलंकाका राष्ट्रपति गोताबाया राजपाक्षेले पार्टीका वरिष्ठ सदस्यहरूलाई आफूले पदबाट राजीनामा नदिने तर बहुमत जुटाउने जुनसुकै पार्टीलाई पनि सरकार हस्तान्तरण गर्ने बताएका छन् ।
श्रीलंकाबाट प्रकाशित हुने अंग्रेजी अखबार डेली मिररको अनलाइन संस्करणले जनाएअनुसार राष्ट्रपति राजपाक्षेले संसद्मा कायम २२५ सिटमध्ये ११३ सिटको बहुमत जुटाउने जुनसुकै पार्टीलाई सरकार हस्तान्तरण गर्न तयार रहेको जनाएका हुन् ।
गत आइतबार श्रीलंकाको मन्त्रिपरिषद्मा रहेका २६ मन्त्रीहरुले सामूहिक राजीनामा बुझाएका थिए । त्यसमथि मंगलबार सरकारको समर्थन गर्ने ४१ सांसदहरु सत्ताधारी गठबन्धनबाट बाहिरिएर स्वतन्त्र सांसदको हैसियतमा रहने बताएसँगै त्यहाँ राजनीतिक संकट चुलिएको छ ।
आर्थिक संकट तथा अत्यावश्यक वस्तुको चरम अभावबीच श्रीलंकामा सरकारविरोधी प्रदर्शन तीव्र भएको छ । संकट समाधान गर्न असक्षम रहेको भन्दै विपक्षीहरुले राष्ट्रपति एवम् सरकारको राजीनामा माग गर्दै आएका छन् ।
प्रतिक्रिया