चितवन । सत्तारुढ गठबन्धनमा रहेका ५ दलले आगामी स्थानीय तहको चुनावमा सबै पालिकामा तालमेल गर्ने भएका छन् । गठबन्धनको यो निर्णयले ओली समुहलाई भने धक्का लाग्नसक्छ ।
सोमबार कांग्रेसका चितवन सभापति राजेश्वर खनालको अध्यक्षतामा बसेको गठबन्धनको बैठकले चितवनका ७ वटै पालिकामा तालमेल गर्ने निर्णय गरेको हो । बैठकले सबै स्थानीय तह र जिल्ला समन्वय समितिको चुनावमा पनि तालमेल गर्ने निर्णय गरेको छ ।
जिल्लाका ७ वटै पालिकामा गठबन्धनका दलहरूको बैठक बसेर संयन्त्र निर्माण गरिने पनि सोमबारको बैठकपछि जारी संयुक्त विज्ञप्तिमा जनाइएको छ ।
संयुक्त संयन्त्रको संयोजनको जिम्मा भने नेपाली कांग्रेसका पालिका सभापतिलाई दिने निर्णय गरिएको छ । चितवनका अन्य पालिकामा खासै विवाद नभए पनि भरतपुर महानगरपालिकामा भने कांग्रेस र माओवादी केन्द्र दुवैले दाबी गरेका छन् ।
सत्तारूढ दलहरूबीच चुनाबी गठबन्धन भए पनि नेपाली कांग्रेस चितवनले भरतपुर महानगरपालिकामा आफ्नो दलले मेयर पद पाउनु पर्ने अडान राख्दै आएको छ ।
भरतपुर महानगरपालिका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको क्षेत्रसमेत हो । भरतपुरमा दाहालले छोरी रेणुलाई पुन: उम्मेदवार बनाउन खोजेका छन् ।
भरतपुरको मेयरमा आफ्नो पार्टीको दाबी कायमै रहेको उनले बताएका छन् । आइतबार बसेको जिल्ला कार्य समितिको बैठकले भरतपुरमा मेयर नपाए एकल रूपमै चुनावमा जाने घोषणा गरेको थियो ।
यसअघिको स्थानीय चुनावमा चितवनका ७ मध्ये भरतपुर महानगरसहित माडी नगरपालिकामा माओवादीले जितेको थियो । त्यस्तै ४ वटा नगरपालिकामा एमालेले जितेको थियो भने इच्छाकामना गाउँपालिकामा कांग्रेसले जितेको थियो ।
प्रतिक्रिया