सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा खाना पकाउने ग्याँसको सिलिन्डर पड्किएर घरमा आगलागी हुँदा तीन बालबालिकाको मृत्यु भएको छ ।
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–८ मानेश्वाराका मिनबहादुर तामाङको घरमा आइतबार बेलुकी ७ बजे ग्याँस सिलिण्डर पड्किएर घरमा आगलागी हुँदा उनका १० वर्षीय छोरा इशाक, कुमार तामाङका ६ वर्षीय छोरा सरगम र छिमेकी पदम तामाङका साढे २ वर्षीया छोरी दिव्याको मृत्यु भएको हो ।
आगोमा जलेर उनीहरूको घरभित्रै मृत्यु भएको प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए । आगलागीमा मीनबहादुर पनि घाइते भएका छन् । उनको उपचार जारी छ । यस्तै डोटीको पूर्वीचौकी गाउँपालिका-३ गैरागाउँमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
स्थानीय बजार साँझघाटबाट गैरा गाउँ जाने क्रममा से १ ज ८३९ नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक (एसपी) शारदाप्रसाद चौधरीले जानकारी दिए । उनका अनुसार दुर्घटनामा चार जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल डोटीमा ल्याइदैछ । मृतकहरूको सनाखत हुन सकेको छैन ।
यस्तै तनहुँको भानु नगरपालिका–९ डुम्रीखर्कमा ट्याक्टरबाट खसेर एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका २३ वर्षीया एलिना श्रेष्ठ रहेको इलाका प्रहरी कार्यालय भानुले जनाएको छ । ग १ त ५४४५ नम्बरको ट्याक्टरबाट खसेर घाइते उनको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचारका क्रममा राति मृत्यु भएको प्रहरी निरीक्षक प्रकाश भुसालले जानकारी दिए ।
गएराति दाउरा लिन गएका बेला ट्याक्टरबाट खसेर श्रेष्ठ घाइते भएकी थिइन् । ट्याक्टर र चालक प्रहरी नियन्त्रणमा छन् । यस्तै दाङमा इनारमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-२ रामपुर निमोरियाका ३४ वर्षीय होमनारायण चौधरी रहेका छन् ।
चौधरीले आइतबार बिहान साढे ८ बजे इनारमा हामफालेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि नेपाली सेना र प्रहरी टोली घटनास्थलमा पुगेर शव निकाल्ने काम भइरहेको नेपाली सेना रण सिंह दल गणका प्रमुख सेनानी रवीन्द्र महर्जनले जानकारी दिए ।
इनारमा पानी लगभग २५ फिट भएपनि पानी धेरै भएकोले शव निकाल्न समय लागेको प्रमुख सेनानी महर्जनले बताए । चौधरीले के कारणले इनारमा हाम फालेका हुन् भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । एक स्थानीयका अनुसार चौधरीले गाउँमा अनैतिक क्रियाकलाप गरेको जानकारी पाएपछि गाउँलेले छानबिन गर्न बैठक बोलाएका थिए । सोही कारण उनी इनारमा हामफालेको हुन सक्ने स्थानीयको अनुमान छ ।
प्रतिक्रिया