काठमाडौं । आर्थिक संकटबाट जुधिरहेको बेला श्रीलंकाका मन्त्रीहरुले सामूहिक राजीनामा दिएका छन् । प्रधानमन्त्री महिन्दा राजापाक्षे बाहेक श्रीलंकाका सबै २६ जना मन्त्रीहरुले सामूहिक राजीनामा दिएको बीबीसीले जनाएको छ । प्रधानमन्त्री महिन्दा राजापक्षे र राष्ट्रपति गोटाबाया राजापाक्षे दाजुभाइ हुन् ।
चरम आर्थिक संकटका कारण श्रीलंकाका नागरिकहरुको आक्रोश बढ्दो छ । सरकारविरुद्ध सडकमा प्रदर्शन हुन थालेपछि र लुटपाटका घटना बढेपछि देशभर कर्फ्यु लगाइएको छ । सो कर्फ्युकोसमेत उल्लंघन गर्दै श्रीलंकाका नागरिकहरु प्रदर्शनमा उत्रिएका छन् ।
प्रदर्शन रोक्ने प्रयासमा सडकमा सेना परिचालन गरिएको छ । कर्फ्यु उल्लंघन गर्दै प्रदर्शन भएलगत्तै मन्त्रीहरुले सामूहिक राजीनामा दिएका हुन् । शिक्षामन्त्री दिनेश गुणवर्धनले मन्त्रिपरिषदका सदस्यहरुले आइतबार प्रधानमन्त्री समक्ष राजीनामा पत्र बुझाएको जानकारी दिएका छन् ।
सन् १९४८ मा ब्रिटेनमा स्वतन्त्र भएपछिकै खराब आर्थिक स्थितिबाट श्रीलंका गुज्रिरहेको छ । डलरको कमीका कारण श्रीलंकाले अत्यावश्यक खाद्यान्न, औषधि, इन्धन लगायतका वस्तुसमेत आयात गर्न सकेको छैन । यसअघि कपि र मसी किन्ने पैसा अभावका कारण विद्यालयको परीक्षा स्थगित गरिएको छ । पेट्रोलपम्प र खाद्यान्न पसलहरुमा मानिसहरुको लामो लाइन देखिन्छ ।
यस्तै चरम विदेश मुद्रा अभावले महँगी बढ्नुका साथै, इन्धन र विजुलीसमेतको अभाव भएपछि संकटकाल घोषणा गरिएको थियो। श्रीलंकामा अभाव सिर्जना भएसँगै हिंसात्मक आन्दोलनसमेत सुरु भएका थिए । गत बिहीबारमात्रै राजधानी कोलम्बोस्थित राष्ट्रपति गोताबाया राजापाक्षको निवास नजिकै आन्दोलनकारीले प्रदर्शन गरेका थिए ।
शुक्रबार केही प्रदर्शनकारी पक्राउ परेका छन् । बीबीसीका अनुसार संकटकाल घोषणा भएसँगै हिंसात्मक प्रदर्शनमा संलग्नलाई वारेन्टविनै पक्राउ गर्न भनिएको छ । अहिले श्रीलंका ठूलो आर्थिक संकटबाट गुज्रिरहेको छ । देशमा दैनिक १३ घण्टा लामो समयसम्म विद्युत कटौती हुने गरेको छ ।
इन्धनको अभाव छ, अत्यावश्यक खानेकुरा र औषधिको अभावका माझ जनताको आक्रोश नयाँ चरम विन्दुमा पुगेको छ । देश आर्थिक संकटमा फसेसँगै औषधि र अन्य आवश्यक स्वास्थ्य सामग्रीको अभाव भएपछि पूर्वनिर्धारित शल्यक्रियासमेत रोकिएको छ ।
श्रीलंकाको पेराडेनिया शिक्षण अस्पतालले औषधिको अभावमा शल्यक्रिया रोकेको हो । अस्पतालका निर्देशक एचएम अर्जुना तिलकरत्नेले भने, ‘हामीसँग रहेको औषधि र सामग्री आकस्मिक सेवामा आउने बिरामीको ज्यान बचाउनका लागि राख्दै अरु पूर्वनिर्धारित शल्यक्रिया रोकेका छौं ।’ उनले स्वास्थ्य सामग्री उपलब्ध गराउने निकायमा यसबारेमा जानकारी गराइसकेको बताए ।
श्रीलंकामा औषधि अभावमा शल्यक्रिया रोकिएको खबर सार्वजनिक भएपछि भारतले आवश्यक सहयोग गर्ने तयारी गरेको छ । भारतका विदेशमन्त्री एस जयशंकरले भारतका उच्चायुक्तलाई यसबारेमा छलफल गर्न र यसबारेमा भारतले के सहयोग गर्न सक्छ भन्ने बारेमा बुझ्न भनेका छन् ।
विदेशी मुद्राको संचिती घट्दै गएपछि श्रीलंका गम्भीर आर्थिक संकटमा फसेको छ । र त्यहाका साढे २ करोड नागरिकमा यसको प्रत्यक्ष असर परेको छ । पैसा अभावकै कारण कागज किन्न नसकेपछि यसअघि श्रीलंका ४५ लाख विद्यार्थीको परीक्षा रोकिएको थियो । – एजेन्सीको सहयोगमा
प्रतिक्रिया