• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    पेट्रोलको हाहाकार मच्चिएपछि गृहमन्त्री खाँणले चाले यस्तो कदम

    721
    SHARES


    काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री तथा गृहमन्त्री बालकृष्ण खाँणले पेट्रोलियम पदार्थमा देखिएको समस्या तत्काल समाधान गर्न निर्देशन दिएका छन् ।

    उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. गणेश पाण्डे, नेपाल आयल निगमका कार्यवाहक महानिर्देशक विरेन्द्र गोइत र नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनका महासचिव विश्व अर्याललाई शनिबार टेलिफोन गरेर तत्काल समस्या समाधान गर्न निर्देशन दिएका उनको सचिवालयले जनाएको छ ।

    उनले अत्यावश्यक वस्तुमा समस्या देखिए सरकार नचाहँदा नचाहँदै कठोर हुन पर्ने पनि बताएका छन् । व्यवसायीहरूले पेट्रोलियम पदार्थ बेचे नबेचेको अनुगमन गर्न कार्यवाहक प्रधानमन्त्रीले आफूहरूलाई निर्देशन दिएको र आफूहरूले जिल्ला प्रशासन कार्यालय काठमाडौँको सहयोगमा अनुगमन गरेको निगमका कार्यवाहक महानिर्देशक गोइतले जानकारी दिए ।

    ‘मन्त्रीज्यूबाट पेट्रोलियम पदार्थ विक्रि वितरण भए नभएको काठमाडौँ जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा उपत्यकाका पम्पहरूमा अनुगमन गर्न निर्देशन भएको थियो,’ कार्यवाहक महानिर्देशक गोइतले भने, ‘हामीले उहाँको निर्देशन अनुरुप उपत्यकाका २० बढी पम्पहरूमा अनुगमन गरेका छौँ । केहीले बेचेको, केहीले नबेचेको पायौँ ।

    भोलि थानकोटको डिपो खुल्ला हुन्छ । त्यहाँ गएर ल्याएर बेच्न भनेर कागज गराएर आएका छौँ ।’ साँझ ५ बजे आन्दोलनरत पक्षसँग वार्ता गर्ने तयारी भइरहेको पनि गोइतले बताए ।

    डिलर्स एसोसिएसनका महासचिव विश्व अर्यालले पेट्रोलियम पदार्थमा देखिएको समस्या निगमसँग वार्ता गरेर टुंग्याउन निर्देशन दिएको जानकारी दिए । ‘पेट्रोलियम पदार्थमा देखिएको समस्या निगमसँग वार्ता गरे टुंग्याउन निर्देशन दिनुभएको हो,’ अर्यालले भने, ‘हामीले हाम्रा माग सामान्य छन्, निगमलाई भनिदिनुस्, हामी वार्तामार्फत सहमति गर्न तयार छौँ भन्यौँ ।’

    व्यवसायी र डिजेल ढुवानीकर्ताहरूले डिजेलको भाउ बढेपछि भाडा पनि बढाइनु पर्ने, डिजेल पेट्रोल बोक्ने टयांकरको भाडा बढाइनु पर्नेलगायतका माग राखेर पेट्रोलियम पदार्थ विक्री वितरण नगर्ने चेतावनी दिइरहेका छन् ।

    यता, एलपी ग्यासमा ९५३ रुपैयाँ घाटा रहेको निगमले जनाएको छ। हालको मूल्यसूची अनुसार १५ दिनमा १५ दिनमा ५ अर्ब २१ करोड घाटा हुने निगमको भनाइ छ। आईओसीले नयाँ मूल्यसूची दिएसँगै निगमको घाटा प्रतिमहिना १० अर्ब नाघेको छ ।

    उक्त नयाँ मूल्य सूची नेपाल आएसंगै काठमाडौँमा २०७२ को भारतीय नाकाबन्दीको झल्को दिने गरी पेट्रोलपम्पहरुमा लामो लाइन देखिएको छ। शनिबार बिहान काठमाडौंका पेट्रोलपम्पहरुमा लामो लाइन देखिएको छ।

    आगामी दिनमा पेट्रोल अभाव हुन सक्ने भन्दै मोटरसाइकल तथा साना सवारी चालकहरू पेट्रोल पम्पमा लाइन लाग्न थालेका हुन्। यसले पेट्रोलको हाहाकार हुने संकेत गरेको छ ।

    नेपाल आयल निगमसँग विभिन्न माग राख्दै व्यवसायीहरूले पेट्रोलियम पदार्थको ढुवानी देशभर ठप्प बनाएपछि थप अभाव भएको हो। अहिले नेपाली सेना, पुलिस र सशस्त्रको पम्पहरूमा सवारीको बाक्लो लाइन छ।

    इन्डियन आयल कर्पोरेसनले शुक्रबार नेपाल आयल निगमलाई पठाएको नयाँ मूल्य सूची अनुसार पेट्रोलको मूल्य घटे पनि एलपी ग्यास, डिजेल, मट्टितेललगायतको मूल्य ह्वात्तै बढेको छ।

    ग्यास मट्टितेलमा भएको मूल्यवृद्धिका कारण निगमको घाटा पनि चुलिएको छ। निगमद्वारा जारी विज्ञप्ति अनुसार पछिल्लो मूल्य सूची अनुसार एक महिनामै १० अर्ब रुपैयाँ घाटा हुने छ । निगमले आगामी दिनमा पेट्रोलियम आपूर्ति व्यवस्था सहज बनाइराख्न अत्यन्त कठिन हुने जनाएको छ ।

    खासमा नेपाल आयाल निगमले यसअघि डिलरहरूले खाइपाई आएको कमिसन कटौति गरेपछि आन्दोलित भएका ग्याँस डिलरहरूले पूर्ववत् अवस्थामा कमिसनको व्यवस्था नभए अनिश्चितकालका लागि पेट्रोलियम पदार्थको बिक्री वितरण रोक्ने चेतावनी दिएका हुन् ।

    पछिल्लो समय लगातारको मूल्यवृद्धिका कारण निगमले पेट्रोलियम पदार्थमा दिँदै आएको कमिसन फागुन १९ गतेदेखि कटौती गरेको छ । पेट्रोलियम पदार्थ ढुवानी ठप्प पारेसँगै काठमाडौँका धेरै पेट्रोल पम्पहरू बन्द छन् भने खुलेका पम्पहरुमा शुक्रबार साँझदेखि लाइन देखिएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ