काठमाडौँ । ललितपुरको ग्वार्कोमा ट्याङ्करको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा मङ्गलबजार बस्ने ४२ वर्षीय राज महर्जन रहेका छन् ।
ठक्करबाट घाइते उनलाई उपचारको लागि पाटन अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । शनिबार बेलुकी पौने ८ बजे बा २ ख ६५१० नम्बरको ट्याङ्करले पैदलयात्रीलाई ठक्कर दिएको थियो ।
ठक्कर दिने ट्याङ्करसहित चालक महानगरीय प्रहरी वृत्त सातदोबाटोको नियन्त्रणमा रहेका छन् । उता अछाममा घर पोत्ने माटो खन्ने क्रममा एक महिलाको मृत्यु भएको छ ।
जिल्लाको मंगलसेन नगरपालिका वडा नं. ७ कि धनसरा जैशीको माटो खन्ने क्रममा ढिस्कोले पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ ।
चैते दसैँको लागि घर लिपपोत गर्न माटो खन्ने क्रममा माटो खाडलमा पुरिएर उनको ज्यान गएको हो । जाल्पादेवी सामुदायिक वन क्षेत्रमा पर्ने सो घटनामा घाइते सोही गाँउकी ४ बर्षिया किशोरी चन्द्रा जैशीको जिल्ला अस्पताल मंगलसेनमा उपचार भइरहेको छ ।
प्रतिक्रिया