• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    गण्डकी समाचार

    बालिका बलात्कार मुद्दामा शाहको दोस्रो पटक डीएनए परीक्षण गर्न आदेश

    681
    SHARES


    काठमाडौँ । धनुषा जिल्ला अदालतमा ३४ महिनादेखि जारी बला’त्कारसम्बन्धी मुद्दामा प्रतिवादीको दोस्रो पटक डीएनए परीक्षण गर्ने आदेश आएको छ ।

    धनुषा क्षीरेश्वरनाथ–५, महेन्द्रनगरकी १४ वर्षीया बालिका बला’त्कृत भएकामा किटानी जाहेरीपछि स्थानीय राजकुमार शाहको डीएनए परीक्षण २०७६ फागुनमै भएको थियो । त्यसबेला ‘ढिला गरी नमुना संकलन गरिएको’ भन्दै नतिजा सार्वजनिक गरिएको थिएन ।

    प्रादेशिक अस्पताल जनकपुरले फागुन ४ मा प्रतिवादीको रगत संकलन गरेकामा फागुन १४ मा मात्रै केन्द्रीय प्रहरी विधिविज्ञान प्रयोगशालामा नमुना परीक्षणका लागि पठाएको थियो ।

    हालसम्म थुनामै रहेका शाहलाई लिएरै रगत संकलन तथा नमुना फाराम भर्नका लागि आगामी वैशाख १४ मा केन्द्रीय प्रहरी विधिविज्ञान प्रयोगशालामा लैजानू भन्ने आदेश जिल्ला न्यायाधीश ध्रुवराज कार्कीको सोमबारको इजलासले दिएको छ ।

    प्रतिवादीका कानुन व्यवसायीसमेतले पुनः डीएनए परीक्षणमा सहमति दिएपछि इजलासले डीएनएको प्रबन्ध गर्ने आदेश दिएको हो ।

    पीडितका बाबुको किटानी जाहेरी र त्यसपछिको अनुसन्धानबाट प्राप्त प्रारम्भिक प्रमाणका आधारमा २०७६ जेठ ८ मा जिल्ला अदालतमा दर्ता भएको मुद्दामा २२ पटक सुनुवाइ स्थगित भइसकेको छ ।

    जिल्ला अदालतका सरकारी वकिल धर्म कोइरालाले वैशाख १४ मा डीएनए प्रक्रिया टुंगिएपछि र त्यसको नतिजा आएपछि मात्रै अर्को चरणको अदालती प्रक्रिया अघि बढ्ने बताए ।

    पछिल्लो पटक गोदामचौर घटनामा ललितपुरको जिल्ला अदालत र उच्च अदालत दुवैले डीएनए नमिले पनि अभियुक्तलाई दोषी ठहर गरी सजाय सुनाएको नजिर रहे पनि धनुषा जिल्ला अदालतले भने दोहोर्‍याउँदै प्रतिवादीको डीएनए जाँच गराउन आदेश दिएको छ ।

    यही डीएनएको जिकिरमा उभिने भएर कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार र हत्याको मुद्दा अझै दर्ता हुन सकेको छैन ।

    बलात्कारजस्तो अत्यन्त संवेदनशील मुद्दालाई निरन्तर सुनुवाइ गरी फास्ट ट्र्याकबाट टुंग्याउन सर्वोच्च अदालतले फैसलामार्फत दिएका निर्देशनविपरीत यो मुद्दामा पीडितलाई लामो समयदेखि न्यायबाट वञ्चित गराइएको छ ।

    जबर्जस्ती करणीसम्बन्धी मुद्दाको सुनुवाइ तथा प्राथमिकतासमेत सत्ता र शक्तिको पहुँचका आधारमा ‘मान्य’ देखिएको उदाहरण पछिल्ला वर्षमा माओवादी नेता कृष्णबहादुर महरा र धार्मिक गुरु सिद्धबाबाका हकमा पुष्टि भइसकेको छ ।

    महेन्द्रनगरमा कपाल काट्ने पेसाका भरमा २ छोरी, १ छोरा र श्रीमतीको परिवार धान्दै आएका अभिभावक झन्डै तीन वर्षयता आफ्नो मुद्दाको सुनुवाइका निम्ति पर्खिरहेका छन् ।

    ‘मेरी १४ वर्षीया छोरीमाथि बला’त्कार भएको र १२ वर्षीया छोरीलाई ज्यान मार्ने उद्योगमा बेहोस बनाइएको दसीप्रमाण सबै संकलित छ, प्रतिवादीले दिएको बयान तथा वारदात स्थलका प्रमाणहरू सुरक्षित छन्,’ पीडित नाबालकका बाबुले भने, ‘अहिले आएर दोस्रो पटक प्रतिवादीको रगत जाँच्नु भनिएको रहेछ । भित्रभित्रै के भइरहेको छ भन्ने म गरिबले थाहा पाउन सकेको छैन ।’

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ