• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights बागमती राजनीति

    भरतपुरको मेयरमा फेरी छोरी रेनुलाई उठाउने प्रचण्डको तयारी

    1K
    SHARES


    चितवन । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुर महानगरपालिकाको मेयरमा फेरी आफ्नै पुत्री रेनु दाहाललाई उठाउने घुमाउरो संकेत गरेका छन् ।

    उनले स्थानीय तह निर्वाचनमा सत्तारुढ दलबीच गठबन्धन हुने बताएका छन् । साथै भरतपुर महानगरपालिकाको मेयरमा पनि माओवादीको दाबी रहने उनले घोषणा गरे ।

    भरतपुर विमानस्थलमा बुधबार बिहान पत्रकारहरुसँग कुरा गर्दै दाहालले भने, ‘अब स्थानीय चुनावमा आवश्यक तालमेल हुन्छ ।’ नेपाली कांग्रेसको मंगलबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले आवश्यकताअनुसार स्थानीय तहमा तालमेल हुन सक्ने निर्णय गरेको थियो ।

    ‘महानगरपालिका र उपमहानगरपालिकामा सकेसम्म केन्द्रबाटै तालमेल गर्ने छलफल चलेको छ । भोलि हाम्रो गठबन्धनको बैठक बस्दै छ । सम्भवत: महानगरपालिकाको बारेमा केही न केही निर्णयमा पुग्छौं । तालमेलकै निर्णय हुन्छ, भरतपुरको मेयरमा हाम्रो दाबी रहन्छ,’ दाहालले भने ।

    यसअघिको स्थानीय तहको चुनावमा भरतपुर महानगरपालिकामा कांग्रेस र माओवादीबीच तालमेल भएको थियो । माओवादीबाट दाहालकी छोरी रेणु दाहाल मेयरमा निर्वाचित भएकी थिइन् भने कांग्रेसकी पार्वती शाह उपमेयरमा निर्वाचित भएकी थिइन् ।

    के भन्छिन रेनु ?
    भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले फेरि पनि मेयरमा उठ्ने व्यक्तिगत रहर नभएको तर पार्टीले चाहे उठ्न सकिने बताएकी छन्। मंगलबार मेयर दाहालले पाँच वर्षसम्म मेयरका रूपमा रहँदा जनताको अपेक्षा पूरा गर्न सक्दो कोसिस गरेको बताइन्।

    ‘मेरो व्यक्तिगत हिसाबले मलाई रहर छैन। मैले त आफ्नो ठाउँबाट सकेको कोसिस गरें। जनताले जे अपेक्षा गरेर भोट हालेर जिताउनुभयो, मैले आफ्नो कर्तव्य कति पालना गरेँ, पूरा गरेँ कि गरिनँ त्यसको समग्र मूल्यांकन जनताले गर्नुहुन्छ,’ दाहालले भनिन्, ‘म आफ्नो ठाउँबाट सन्तुष्ट छु। फेरि मेयरमा दोहोर्‍याउनुपर्ने मेरो व्यक्तिगत रहर छैन।’

    जनताले रेनु नै आउनुपर्छ भने र पार्टीले पनि त्यही निर्णय गर्‍यो भने पुनः मेयरमा उठ्न तयार रहेको उनले बताइन्। उनले आफूले गरेको काम देखेर जनस्तरबाट अब कम्तीमा एकचोटि राजनीतिभन्दा माथि उठेर तपाईं आइदिनुपर्‍यो भन्ने आवाज बढिरहेको बताइन्।

    ‘जनस्तरबाट राजनीतिक दलभन्दा माथि उठेर समग्र विकासलाई ध्यानमा राखेर एकचोटि तपाईंलाई यहाँबाट जाने छुट छैन भन्ने पनि छ। यहाँको वस्तुगत आवश्यकता पनि होला,’ उनले भनिन्,‘अहिलेको स्थितिलाई थेग्ने खालको ‘लिडरसीप’ अबको आवश्यकता हो। यसलाई निरन्तरता दिने खालको अहिलेको नेतृत्व अबको आवश्यकता र समयको माग हो।’

    दाहालले आगामी दिनको परिस्थिति कसरी अघि बढ्छ त्यसलाई हेरेर पार्टीले निर्णय गर्ने बताइन्। ‘यदि मेरो आवश्यकता यही हो भने जनता र पार्टीले भने हिजो सबै खाले चुनौतीमा त जनता र राष्ट्रको हितलाई केन्द्रमा राखेर होमिएको हो, अहिले पनि म तयारै छु,’ उनले भनिन्।

    मेयर दाहालले यहाँ भएका कामका कारण देशका अन्य महानगरपालिकको भन्दा भरतपुरको चर्चा परिचर्चा बढी हुने गरेको दाबी गरिन्।

    आफूले गरेका राम्रा कामका कारण राजनीतिक दलहरूले देशको राजधानी रहेको काठमाडौं महानगरपालिकालाई भन्दा भरतपुरलाई बढी प्रतिष्ठाको विषय बनाइरहेको उनले बताइन्।

    ‘देशमा त ६ वटा महानगरपालिका छन्। काठमाडौं देशको राजधानी त्यहाँको चर्चा छैन को उम्मेदवार उठ्ने भनेर। कुनै पनि राजनीतिक दलको प्रतिष्ठाको विषय बनेको छैन,’ उनले भने, ‘भरतपुर भने विगतमा पनि दलहरूको प्रतिष्ठाको विषय बन्यो अहिले पनि बनिरहेको छ को उम्मेदवार उठ्ने भनेर।’

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ