रूपन्देही । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले अव्यवस्थित बसोबासी तथा भूमिहीन सुकुम्बासीको समस्याप्रति वेवास्ता गरेको बताएका छन्।
रूपन्देहीको तिलोत्तमामा निर्माण गरिएको बहुउद्देश्यीय भ्युटावरको उद्घाटन गर्दै उनले गठबन्धन सरकारले आयोग खारेज गरेर विभिन्न बहाना खोजिरहेको बताए। सरकारले सुकुम्बासी समाधान आयोगमा बन्चरो चलाएर अघिल्लो सरकारले फाइल लुकाएको बहाना बनाउँदै हिँडेको बताए।
‘भूमिहीन सुकुम्बासीको समस्या समाधानका लागि अघिल्लो सरकारले गठन गरेको आयोगलाई नै खारेज गरेर गठबन्धन सरकारले अघिल्लो सरकारको फाइल लुकाएको बहाना बनाउँदै हिँडेको छ,’ उनले भने।
उनले अघिल्लो सरकारले फाइल लुकाएको भन्दै हिँडेकाहरू अहिले फाइल खोज्न दिल्ली जान थालेको व्यंग्य समेत गरे। ‘उहाँहरूले केही बहाना नपाएर अघिल्लो सरकारले फाइल लुकाएको भन्दै हिँड्नु भएको छ,’ उनले भने, ‘त्यही फाइल खोज्न शुक्रबार दिल्ली जाँदै हुनुहुन्छ।’
Euro
ओलीले पहिले र अहिलेको विकासको चेतनाको अवधारणामा परिवर्तन आएको भन्दै यो परिवर्तन एमालेले ल्याएको दाबी गरे। ‘२०५१ सालमा बनेको नौ महिने सरकारले आफ्नो गाउँ आफै बनाउँ भनेर विकासको अभियान सुरू गरेकाले अहिले पनि गाउँगाउँमा विकासका कामले निरन्तरता पाएका छन्। त्यतिबेला एमालेको सरकार बन्दैनथ्यो भने अहिलेको विकासको लहर आउने थिएन,’ उनले भने।
उनले निर्वाचनमा जनताको घरआँगन जाँदा एमाले सरकारमा आएपछि देशभर के परिवर्तन भयो, विकास निर्माणका काम के के भए भन्ने कुराहरू लिएर जान नेता कार्यकर्तालाई आग्रह गरे। ओलीले भौतिक विकासले मात्रै समृद्ध नेपाल बन्न नसक्ने भन्दै चेतनाको विकास पनि सँगसँगै लैजानुपर्ने बताए।
त्यस्तै विषादीको प्रयोग भएका खानेकुराले मानिसलाई रोगी बनाइरहेको भन्दै त्यस्ता खानेकुरालाई आयात गर्न बन्द गर्नुपर्ने उनले बताए। त्यसैले विषादीरहित खानेकुराका लागि उत्पादनमा आत्मनिर्भर हुनुपर्ने बताए।
‘चेतनामा विकास भएपछि भौतिक विकासले आफैं पछ्याउँछ, घरअगाडि चिल्ला सडक छन् तर भान्सामा विषादी भित्रिएको छ भने त्यस्तो विकासको के अर्थ,’ उनले भने।
प्रतिक्रिया