• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights

    पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश

    706
    SHARES


    काठमाडौँ । नाबालिग बलात्कारको अभियोगमा तनहुँ जिल्ला अदालतले अभिनेता पल शाहलाई थुनामा पठाउने आदेश दिएको छ । तनहुँ जिल्ला अदालतले अभियुक्त शाहलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको हो ।

    बुधबार र बिहीबार भएको थुनछेक बहसपछि न्यायाधीश हरिशचन्द्र ढुंगानाको इजलासले पललाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको हो । तत्काल प्राप्त प्रमाणबाट आरोपी कसूरदार देखिएको भन्दै अदालतले थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो ।

    अदालतको आदेशबाटै पललाई जिल्ला कारागार तनहुँमा पुर्पक्षका लागि थुनामा पठाइएको छ । मतियारका रुपमा मुद्दा दायर गरिएका पल शाहका म्यानेजर कृष्ण जोशीसँग भने एक लाख रुपैयाँ धरौटी माग गरिएको छ ।

    के-के छन् पलविरुद्धका प्रमाण ?

    पलविरुद्धको जबर्जस्ती करणी मुद्दामा केही समयअघि सञ्चारमाध्यममा सार्वजनिक भएका अडियो रेकर्डलाई अदालतमा प्रमाणका रुपमा पेश गरिएको थियो । पीडितको स्वास्थ्य परीक्षणले पनि उनको संवेदनशील अंगमा चोट रहेको देखाएको थियो ।

    पल शाहले तनहुँ र नवलपुरमा प्रहरीसमक्ष दिएको बयानमा दुईबीच विवाद बढेपछि ‘उमेर पुगेपछि विवाह गर्ने मौखिक सहमति’ भएको स्वीकारेका छन् । तर जबरजस्ती करणी चाहिं अस्वीकार गरेका थिए ।

    उनका अनुसार २०७८ सालको जेठ अन्तिमतिर पीडित किशोरीले फोन गरेर ‘तपाईं र मेरो सम्बन्ध अरुले थाहा पाए, महिनावारी रोकियो‘’ भन्दै म्यासेज गरेकी थिइन् ।

    त्यसपछि पीडितकी आमा, गायन क्षेत्रका दुर्गेश थापा, सरोज ओली, योगेश काजी, म्यानेजर कृष्ण जोशी र आफू बसेर छलफल गरेको भन्दै उनले बयानमा भनेका छन्, ‘मैले पीडितको उमेर पुगेपछि विवाह गरौंला, अहिले केटीको उमर पुगेको छैन भनेको थिएँ ।’

    पलले भने तनहुँमा घटना भएको भनिएका बेला पीडितलाई ‘बियर खान दिएर फेसवास लिएर आफ्नो कोठामा गएको’ जिकिर गरेका थिए। नवलपुरको गैंडाकोट रिसोर्टमा भने पीडितको कोठामा ‘हिजो डर लागेकाले राम्रोसँग सुत’ भन्नलाई मात्र गएको दाबी गरेको वयान दिएका थिए ।

    तनहुँमा शाहका म्यानेजर कृष्ण जोशीविरुद्ध पनि सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेको थियो । पीडितको बयान अनुसार जोशीले शाहसँग घुम्न जान र उनले भनेको मान्न भन्दै फकाउने गरेका थिए ।

    ‘भिडियो सुटिङका क्रममा विभिन्न स्थानमा रहँदा एउटै कोठामा बस्न बाध्य पारी जबरजस्ती करणी गर्ने कार्यमा जोशीले सहयोग गरेका थिए’ पीडित किशोरीले वयानका क्रममा भनेकी छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ