काठमाडौँ । युक्रेनमा जारी युद्धमा हालसक्क १५ हजार रुसी सैनिक मारिएको दाबी गरिएको छ । नेटोको एक वरिष्ठ अधिकारीले न्युज एजेन्सी एपीलाई दिएको जानकारीमा युक्रेनमाथि रुसको हमलाको एक महिनापछि यो युद्धमा ७ हजारदेखि १५ हजार रुसी सैनिक मारिएको जानकारी दिए ।
अधिकारीले ३० हजारदेखि ४० हजार रुसी लडाकू मारिएको र घाइते भएको हुनसक्ने मान्यता राखेका छन् । यद्यपि, रुसले २ मार्चदेखि हालसम्म यो हमलामा कतिजना मारिए भनेर अहिलेसम्म कुनै पनि आधिकारिक आँकडा जारी गरेको छैन ।
यसलाई एक सन्दर्भमा बुझ्ने हो भने अफगानिस्तानको आफ्नो १० वर्षको कब्जामा रुसका लगभग १५ हजार सैनिक मारिएका थिए । युक्रेन पनि आफ्ना मारिएका व्यक्तिको आँकडाको विषयमा अस्पष्ट रहेको छ । युक्रेनका राष्ट्रपतिले दुई हप्ता अघि १३ सय युक्रेनी सैनिक यो युद्धमा मारिएको बताएका थिए ।
हालै अमेरिकाले १२ रुसी कूटनीतिज्ञहरुलाई देश निकाला गर्ने घोषणा गरेको थियो। युक्रेनमा आक्रमण गरेको भन्दै अमेरिकाले रुसमाथि कडा आर्थिक प्रतिबन्ध लगाएको छ। वासिङ्टनले रुसी तेल र ग्यास निर्यात गर्न छाडिसकेको छ।
हरेक हिसाबले रुसलाई दबाब दिइरहँदा अमेरिकाले रुसी कूटनीतिज्ञलाई पनि देश निकाला गर्ने बताएको हो। उता क्रेमलिनले पनि प्रतिक्रिया स्वरुप रुसबाट अमेरिकी कूटनीतिज्ञहरुलाई देश निकाला गरिदिने घोषणा गरेको छ।
गत महिना अमेरिकाले न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि रुसी कूटनीतिज्ञलाई राष्ट्रिय सुरक्षामा खतरा बढेको भन्दै स्वदेश फर्कन भनेको थियो। यस्तै राष्ट्रसंघकै अन्य कूटनीतिज्ञलाई पनि जासुस भन्दै अमेरिकाले देश निकाला गरिदिएको थियो। रुसले कतिजना अमेरिकी कूटनीतिज्ञलाई देश निकाला गर्ने भनेर खुलाएको छैन।
युक्रेनी सेनाले लगातार रुसको प्रतिकार गरिरहेको छ। यस्तोमा रुसले युक्रेनमा आक्रमण थप सशक्त बनाउन र दबाब सिर्जना गर्नको लागि बेलारुसी सेनाको सहायता लिनसक्ने पनि अमेरिकी आशंका गरेको छ।
आफूले हारेको महसुस गरेको खण्डमा रुसले बिभिन्न बहाना खोज्दै परमाणु हतियार पनि प्रयोग गर्नसक्ने अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका छन्। रुस–युक्रेन द्वन्द्वको ३० दिन पुरा भइरहँदा युक्रेनी सेनाको कारवाहीमा हालसम्म १५ हजार रुसी सेना मारिएको नेटोले जनाएको छ।
उता रुसी सेनाको प्रतिकार गर्दा युक्रेनका चार हजार सेना मारिएको अमेरिकी भनाइ छ। रुसको ३० देखि ४० हजार सेना घाइते भएको पनि नेटोको दाबी छ। रुसले भने मार्च २ यता आफ्ना सेनामा भएको हताहतीबारे कुनै जानकारी दिएको छैन। त्यसबेला रुसले आफ्नो चार सय सेना मारिएको बताएको थियो। युक्रेनमा ३० दिनमै १५ हजार सेना मारिनु रुसको लागि धक्का हो।
किनभने यसअघि रुसले अफगानिस्तान १० वर्ष कब्जा गर्दा पनि १५ हजार रुसी सेना मारिएका थिएनन्। एक महिनाको अन्तरालमा जब रुसले युक्रेनमा बेजोडका साथ आक्रमण जारी राखेको थियो त्यसबेला अमेरिका र बेलायतले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र उनका परिवारलाई भागेर आफ्नो देशको शरणमा आउन प्रस्ताव राखेको थियो।
उनले देश छाड्न चाहेमा अमेरिका र बेलायतले त्यसको व्यवस्था गर्ने थिए। तर जेलेन्स्कीले अमेरिका र बेलायतको त्यो प्रस्ताव अस्वीकार गर्दै आफूलाई ‘देश छाडेर भाग्न विमान होइन देशको रक्षा गर्न हतियार चाहिएको’ बताएका थिए।
जेलेन्स्कीले आफू राजधानी किभमै भएको र त्यहीँबाट रुसी सेनको प्रतिकार गर्ने बताउँदै आएका छन्। आफ्नो देशमा आक्रमण भएको एक महिना पुग्दैगर्दा जेलेन्स्कीले आज बिहानै विश्वका जनतालाई सम्बोधन गर्दै रुसविरुद्ध सडकमा उत्रिएर विरोध गर्न आह्वान पनि गरेका छन्।
उनले आफ्नो ज्यान गएपनि रुससँग नझुक्ने बताएका छन्। ‘तपाइँहरू आफ्ना सहरका चोक तथा सडकमा आउनुस्। देखिनुस् र सुनिनुस्। मानिसको जीवनको महत्त्व छ, स्वतन्त्रताको महत्त्व छ, शान्तिको महत्त्व छ अनि युक्रेनको महत्त्व छ भनेर बोल्नुस्’ उनले भने,‘मार्च २४ मा युद्ध रोक्न चाहने सबैजना एकत्रित हुनुस्।’
अमेरिकाले यस क्रममा युक्रेनलाई रुसविरुद्ध लड्न ९६ अर्ब ६४ करोड रुपैयाँको हतियार सहयोग गर्ने भएको छ भने बेलायतले युक्रेनलाई ६ हजार क्षेप्यास्त्र र चार अर्ब रुपैयाँ भन्दा बढी सहयोग दिने वाचा गरेको छ।
प्रतिक्रिया