• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    भारत भ्रमण रद्द गरेर अचानक अफगानिस्तान किन पुगे चिनियाँ विदेशमन्त्री ? यस्तो छ कारण

    520
    SHARES


    काठमाडौं । चिनियाँ विदेश मन्त्री वाङ् यी भारत भ्रमण रद्द गरेर अफगानिस्तानको काबुल पुगेका छन् । उनी पाकिस्तानको इस्लामावादबाट अफगानिस्तान प्रस्थान गरेका हुन् ।

    काबुलबाट वाङ् शुक्रबार नेपाल आउने छन् । यसअघि वाङ् यीले भारतको पनि भ्रमण गर्ने तय थियो । तर पछिल्लो समय जम्मु कश्मिरका बारेमा चीनले गरेको टिप्पणीप्रति भारतले कडा प्रतिक्रिया दिएपछि वाङ भारत भ्रमणमा जान अनिच्छुक भएका थिए ।

    भारतले जम्मु कश्मिरसँग जोडिएको मुद्दा भारतको आन्तरिक मामिला भएको भन्दै यस बारेमा नबोल्न चीनसहितका देशलाई चेतावनी दिएको थियो । त्यसैकारण वाङ भारत नआइ काबुल गएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

    लद्दाख आसपासका क्षेत्रमा भारत र चीनबिच सीमा विवाद पनि छ । वाङ्को भारत भ्रमणका बेलामा यो सीमा विवादबारे पनि छलफल गर्ने तय थियो । भारत र चीनबिच यो सीमा विवाद समाधानका लागि पटक–पटक वार्ता भए पनि कुनै सहमति भएको छैन ।

    यता देउवा सरकारले चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीको भ्रमणका क्रममा करिब एक दर्जन विषयमा समझदारी गर्न गृहकार्य गरेको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०१६ मा चीनको भ्रमण गरेदेखि हालसम्म दुई मुलुकबीच ५० भन्दा बढी विषयमा सहकार्य गर्ने सम्झौता गरिएकामा अधिकांश कार्यान्वयन भएका छैनन् ।

    परराष्ट्र मन्त्रालय स्रोतका अनुसार परराष्ट्रमन्त्री खड्का र चिनियाँ समकक्षी वाङबीच शनिबार औपचारिक रूपमा द्विपक्षीय वार्ता भएपछि १० देखि १२ वटा विषयमा दुई मुलुकबीच सहमति गर्ने तयारी छ । चीनले पनि ‘बीआरआई कार्यान्वयन सम्झौता’ अघि बढाउन परराष्ट्रमार्फत नेपाल सरकारलाई आग्रह गरेको छ ।

    चिनियाँ दूतावासले परराष्ट्र मन्त्रालयलाई कार्यान्वयन सम्झौता नगरे बीआरआई अघि बढाउन गाह्रो हुने सन्देश दिइसकेको छ । यस विषयमा गृहकार्य गरिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपालको उच्च नेतृत्व तहबाट स्वीकृत भए वाङको भ्रमणमा नेपाल र चीनबीच बीआरआई कार्यान्वयन सम्झौता हुनेछ ।

    नेपालले सन् २०१७ मा बीआरआईमा हस्ताक्षर गरे पनि हालसम्म वस्तुगत प्रगति भएको छैन । नेपालले बीआरआईबाट ऋण होइन, अनुदान लिन चाहेको छ । अनुदान दिन मिल्ने वा नमिल्ने भन्नेबारे चीनसँग छलफल भइरहेको एक सरकारी अधिकारीले बताए ।

    नेपालले सुरुआतमा बीआरआईबाट फाइदा लिनका लागि ३५ वटा परियोजना अघि सारेको थियो तर चीनले त्यसलाई एक अंकमा घटाउन भनेपछि नेपालले नौवटा बनाएर पठाएको बताइएको थियो । आधिकारिक रूपमा भने नेपालले बीआरआईका लागि भनेर कुनै पनि परियोजनाबारे निर्णय गरेको छैन ।

    वाङको भ्रमणमा नेपाल र चीनबीच हुने छलफलमा नेपाल–चीन सीमापार रेलमार्गको सम्भाव्यता अध्ययन, रसुवागढी र तातोपानीबाहेक अन्य एक नाका (कोरला) को औपचारिक सुरुवात गर्नेलगायत विषयलाई अघि बढाउन परराष्ट्रले गृहकार्य गरेको स्रोतले बतायो । परराष्ट्र स्रोतका अनुसार वाङले नेपालको स्वास्थ्य क्षेत्रमा केही सहयोग गर्ने खालको परियोजनामा पनि सहकार्य गर्न सक्नेछन् ।

    चीनका लागि पूर्वराजदूतहरूले पनि नयाँ सम्झौताभन्दा पुरानैलाई कार्यान्वयन तहमा लैजाने गरी अघि बढाउन सुझाव दिएका छन् । मंगलबार परराष्ट्रमन्त्री नारायण खड्कासँगको भेटमा पूर्वराजदूतहरू लीलामणि पौडेल, टंक कार्की, राजेश्वर आचार्य र महेश मास्केले ‘बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)’ लाई अघि बढाउन आग्रह गरेका हुन् ।

    विदेशमन्त्री वाङले नेपाल आउनुअघि पाकिस्तान र भारतको पनि भ्रमण गर्नेछन् । तीनदिने औपचारिक भ्रमणका लागि उनी शुक्रबार बेलुकी नेपाल उत्रनेछन् । काठमाडौंस्थित चिनियाँ दूतावासका कर्मचारीसँग छलफल गरेपछि वाङले शनिबार परराष्ट्रमन्त्री खड्कासँग द्विपक्षीय वार्ता गर्नेछन् ।

    वाङले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । उनले प्रमुख प्रतिपक्ष एमाले अध्यक्ष केपी शर्मा ओली र सत्तारूढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग पनि भेटवार्ता गर्दै छन् ।

    संघीय संसद्बाट अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता अनुमोदन भएको एक महिनाभित्रै वाङले काठमाडौं आएर नेपाल र चीनबीच सहकार्यका लागि बाटो खुला गर्न लागेका हुन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ