• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    मतगणना स्थलबाट भिडियो लाइभ हुने, सामाजिक सञ्जालमाथि कडा निगरानी

    521
    SHARES


    काठमाडौँ । आगामी निर्वाचनमा संवेदनशील मतगणना स्थलबाट निर्वाचन आयोगमा भिडियो लाइभको व्यवस्था गरिने भएको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनपछि मतगणनाका क्रममा केही रणनीतिक स्थलहरू, अलि बढी खतराजनक स्थलमा यस्तो व्यवस्था गर्न लागिएको हो ।

    संवेदनशील स्थल भनेर आयोग र सुरक्षा निकायले पहिचान गरेका मतगणना स्थलबाट आयोगमा प्रत्यक्ष प्रसारणको व्यवस्था गर्न लागिएको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।

    प्रत्येक मतगणना स्थलमा यो व्यवस्था गर्न नसकिए पनि विवाद आउन सक्ने सम्भावित स्थलमा यस्तो व्यवस्था गर्न लागिएको उनले बताए । मतगणना स्थलमा भइरहेको मतगणनाको विवरण केन्द्रमा बसेर प्रत्यक्ष हेर्ने र केही विवाद आए समाधानको काम गर्ने अर्यालले बताए ।

    उनले भने, ‘मतगणना स्थलमा भिडियो छायाङ्कन गर्ने, त्यहाँको वस्तुस्थिति बुझ्ने र त्यहाँबाट सिधै आयोगमा दृश्यहरू आउने, केही गडबडी लागेको छ भने आयोगले तुरुन्तै त्यसलाई सच्याउने योजना छ ।’ यसका लागि आयोगले छुट्टै बजेटको व्यवस्था पनि गरेको उनले जानकारी दिए ।

    आगामी स्थानीय तहको निर्वाचनका लागि आयोगले सामाजिक सञ्जाल निगरानीका लागि विशेष आइटी टोली बनाउने भएको छ । आयोगले अघिल्लो पटक भएको निर्वाचनको तुलनामा अहिलेको निर्वाचनमा बढी मात्रामा सामाजिक सञ्जालमा राजनीतिक गतिविधिका सूचना पोष्ट हुने आङ्कलन गरेको छ ।

    सामाजिक सञ्जालबाट हुने निर्वाचन आचार संहिता विपरीतका गतिविधि रोक्न अनुगमन संयन्त्र बनाउन लागेको अर्यालले जानकारी दिए । त्यसका लागि अनुगमन तथा व्यवस्थापन संयन्त्रको प्रस्ताव गरिएको छ ।

    आयोगको सह–सचिवको संयोजकत्वमा आइटीहरूको एउटा विज्ञ टोली आयोगमा रहन्छ । जसमा युएनडिपी र आइपिएस नेपालबाट पनि एकएक जना ‘सोसल मिडिया एक्सपर्ट’ले चुनाव अवधिभर काम गर्ने तयारी छ । ती निकायहरूले आइटी विज्ञ जनशक्ति उपलब्ध गराउने भनेको अर्यालले बताए ।

    यस्तै निर्वाचन आयोगका प्राविधिक, सामाजिक सञ्जाल हेर्ने आइटी इन्जिनियरमार्फत चौबिसै घण्टा सामाजिक सञ्जालमा प्रवाह भइरहेका सन्देशहरूलाई निगरानी गर्ने आयोगको भनाइ छ ।

    साथै विभिन्न सञ्चारमाध्यमका नियामक निकाय प्रेस काउन्सिल, विज्ञापन बोर्डजस्ता संस्थाहरूबाट पनि सामाजिक सञ्जालबाट पुर्‍याउने क्षति कम गर्न, गलत सूचना, भ्रमित सूचना, घृणाजन्य अभिव्यक्ति, गाली गलौच अथवा दुष्प्रचारका कुराहरूलाई तुरुन्तै रोक्न, तिनको स्रोत पहिचान गर्न र निरन्तर रूपमा त्यस्ता सामग्री आउने साइटलाई नेपालमा खुल्न नसक्ने बनाउन दूरसञ्चार प्रदायकसँग समन्वय गर्ने अर्यालले बताए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ