काठमाडौं । रुस–युक्रेन युद्धमा नक्कली राष्ट्रपतिको प्रयोग भएको पाइएको छ । ट्वीटरमा हालै रुसी राष्ट्रपतिको एउटा भिडियो पोस्ट गरिएको छ जसमा उनले युद्ध समाप्त गर्ने घोषणा गरिरहेका छन् ।
यसैबीच युट्युब र मेटाले पनि यसै हप्ता युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको एउटा भिडियो हटाएको छ जसमा उनले रुससमक्ष आत्मसमर्पण गर्ने बताइरहेका छन् । विशेषज्ञको हवाला दिँदै बीबीसीले यी दुवै भिडियो ‘डीपफेक’ अर्थात नक्कली भएको बताएको छ ।
युद्धमा दुवै पक्षले प्रभावित पार्ने खालका मिडिया कन्टेन्ट प्रयोग गरिरहेका छन् । तर, यस्ता भिडियोले के दर्शाउँछन् र मानिसहरुले यी भिडियो सामग्रीलाई विश्वास गरिरहेका छन् वा छैनन् भन्ने प्रश्न महत्वपूर्ण हुन्छ । युक्रेनी राष्ट्रपति जेलेन्स्कीको भिडियो धेरै विश्वसनीय थिएन र युक्रेनका धेरै मानिसहरुले यसलाई मजाकमा लिए ।
यो भिडियोमा युक्रेनी राष्ट्रपति एक पोडियमपछाडिबाट बोलिरहेका छन् ।उनी युक्रेनीहरुसँग आत्मसमर्पण गर्न भनिरहेका छन् । भिडियोमा उनको टाउको शरीरको तुलनामा अधिक ठूलो र धमिलो देखिएको छ ।
उनको आवाज पनि अधिक गहिरो सुनिएको छ । आफ्नो आधिकारिक इन्स्टाग्राममा पोस्ट गरिएको अर्को भिडियोमा जेलेन्स्कीले यसलाई केटाकेटी हर्कत भनेका छन् ।
युक्रेनको सेन्टर फर स्टटेजिक कम्युनिकेसनले रुसको सरकारले यस्तै डीपफेक भिडियो प्रयोग गरेर युक्रेनी जनतालाई आत्मसमर्पण गर्न उक्साउन सक्ने चेतावनी दिएको छ ।
मेटाका सुरक्षा नीति प्रमुख नथालियन ग्लाइसरले ट्वीटरमा कैयौं सिलसिलेवार ट्वीट गरेर आफूले तत्काल डीपफेक भिडियोको समीक्षा गरेको र भ्रामक मिडियाका विषयमा कम्पनीको नीति अनुसार त्यसलाई हटाएको बताएका छन् । युट्युबले पनि भ्रामक भिडियो सम्बन्धी आफ्नो नीति अनुसार यो भिडियो हटाएको बताएको छ ।
यस्तै विश्वका २० शक्तिशाली राष्ट्रको समूह जी–२० बाट रुसलाई निस्कासित गर्न पश्चिमा राष्ट्रहरुले तयारी थालेका छन्। तर चीनले भने पश्चिमा राष्ट्रको त्यस्तो तयारीको विरोध गरेको छ।
चीनको विदेश मन्त्रालयका प्रवक्ता वांग वेनबिनले बुधबार भनेका छन्,‘जी–२० बाट कसैलाई पनि कसैले निस्कासित गर्ने अधिकार राख्दैनन्।’ रोयटर्सका अनुसार जी–२० बाट रुसलाई हटाउन अमेरिकासहितका पश्चिमा राष्ट्रले परामर्श थालेका छन्।
जी–२० विश्वको सबैभन्दा बढी अर्थव्यवस्था भएका राष्ट्रको समूह हो। यसको उद्देश्य विश्वलाई प्रभावित गर्ने वैश्विक अर्थव्यवस्था, जलवायु परिवर्तन र विकासका काममा मिलेर अगाडि बढ्नु हो।
यदी रुसलाई जी–२० बाट हटाइए रुसले ठूलो आर्थिक प्रतिबन्धहरु झेल्नसक्छ। यद्यपी भारत, चीन र साउदी अरबजस्ता राष्ट्रले त्यसो हुन नदिन भिटो शक्तिको प्रयोग गर्नसक्छन्।
किनभने युक्रेनलाई रुसले आक्रमण गरिरहँदा यी राष्ट्रले रुसको आलोचना गरेका छैनन् भने रुसमाथि कुनै किसिमको प्रतिबन्ध पनि लगाएका छैनन्।
प्रतिक्रिया