• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय समाचार

    रुस-युक्रेन युद्ध जारी रहेका बेला देश छोडेर कहाँ गए अमेरिकी राष्ट्रपति ?

    1.1K
    SHARES


    काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेन युक्रेनलाई समर्थन गर्ने अन्तरराष्ट्रिय प्रयासहरूबारे छलफल गर्न युरोप भ्रमणका क्रममा पोल्याण्डको जाने भएका छन् । यस हप्ता राष्ट्रपति जोसेफ आर बाइडेन जुनियरले ब्रसेल्सको बैठक पछि पोल्याण्डको यात्रा गर्ने ह्वाइटहाउसले जनाएको छ।

    उक्त भ्रमण नेटो सहयोगीहरू, जि ७ नेताहरू र युरोपेली संघका नेताहरूसँग युक्रेनलाई समर्थन गर्ने अन्तरराष्ट्रिय प्रयासहरूबारे छलफल गर्न र रुसमाथि थप दबाब सृजना गर्न विशेष केन्द्रित हुने ह्वाइट हाउसका प्रवक्ता जेन साकीले विज्ञप्तिमार्फत जनाएका छन् ।

    मार्च २५ मा राष्ट्रपति बाइडेन पोल्याण्डको वारसा पुग्ने र त्यहाँ उनले राष्ट्रपति एन्ड्रेज डुडासँग द्विपक्षीय बैठक गर्ने तयारी छ। राष्ट्रपतिले हाम्रा सहयोगी र साझेदारहरूसँगै संयुक्त राज्य अमेरिकाले कसरी प्रतिक्रिया दिन्छ भनेर छलफल गर्नुहुनेछ’, ह्वाइटहाउसले उल्लेख गरेको छ। मार्च २३ मा बाइडेन बेल्जियमको ब्रसेल्स पुग्नुहुनेछ।

    मार्च २४ मा बाइडेनले युक्रेनमा रूसको अप्रत्याशित र अनुचित आक्रमणको प्रतिक्रियामा चलिरहेको प्रतिरोध र रक्षा प्रयासहरूबारे छलफल गर्न एक असाधारण नेटो शिखर सम्मेलनमा भाग लिनेछन्। राष्ट्रपतिले हाम्रा नेटो सहयोगीहरू र नेटो क्षेत्रको रक्षा गर्नको लागि कडा प्रतिबद्धता जनाएका छन्।

    यस्तै रूस र युक्रेनबीच युद्ध अन्त्य गर्ने वार्ता सफलता नजिक पुगेको मध्यस्थकर्ता टर्कीले जानकारी दिएको छ । दुवै पक्ष युद्ध अन्त्य गर्ने सहमति नजिक पुगेको टर्कीका विदेशमन्त्री मेब्लुत चोवाशुग्लूले बताएका हुन् । ​चोवाशुग्लूले भनेका छन्, ‘युद्धमा आम नागरिक मारिइरहँदा सजिलै सहमति कायम हुँदैन, तर यस्तो स्थितिबीच पनि वार्ता अघि बढिरहेको छ ।’

    दुवै पक्ष सम्झौताको नजिक पुगेको आफूहरूले देखेको चोवाशुग्लूले दाबी गरेका हुन् । ​चोवाशुग्लू गत साता युक्रेन र रूस दुवै मुलुक पुगेका थिए । युद्धरत दुवै मुलुकसँग टर्कीको बलियो सम्बन्ध छ । टर्कीले नै युद्ध अन्त्य गराउन मध्यस्थकर्ताको भूमिका निभाउने प्रयास गरिरहेको छ । गत साता नै टर्कीले युक्रेन र रूसका विदेशमन्त्रीलाई अंकारामा स्वागत गरेको थियो ।

    चोवाशुग्लूले टर्की दुवै देशका वार्ताकार समितिको सम्पर्कमा रहेको पनि बताएका छन् । टर्कीले इमानदार मध्यस्थकर्ताको भूमिका निभाइरहेको उनको भनाइ छ । टर्कीका राष्ट्रपति रेचेप तैयप अर्दोआनका विदेश नीति सल्लाहकार इब्राहिम कालिनले पनि एक अखबारसँग कुरा गर्दै रूस र युक्रेनबीच ६ बुँदे सहमति प्रस्तावमाथि वार्ता भइरहेको बताएका थिए ।

    ६ बुँदाहरूमा युक्रेनको तटस्थता, असैनिकीकरण तथा सुरक्षा ग्यारेन्टी, गैर नाजीकरण, युक्रेनमा रूसी भाषा प्रयोगमा अवरोध अन्त्य र पृथकतावादी डोनबास क्षेत्रमा रूसको नियन्त्रण तथा सन् २०१४ देखि रूसको नियन्त्रणमा रहेको क्रिमियाको स्थिति सामेल गरिएको छ ।

    युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शान्तिका लागि लगातार अपील गरिरहेका छन् । उनले रूसलाई वार्ता प्रस्ताव स्वीकार्न र आक्रमण रोक्न आग्रह गरेका हुन् । शनिबार उनले भनेका थिए, ‘यो मिल्ने र कुराकानी गर्ने समय हो । युक्रेनको क्षेत्रीय अखण्डता र निष्पक्षता नवीकरण गर्ने समय हो ।’

    टर्कीले युक्रेनी राष्ट्रपति जेलेन्स्की र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई स्वागत गर्न तयार रहेको पनि बताएको छ । चोवाशुग्लूले शान्तिका लागि आफूहरूले दिनरात काम गरिरहेको र युद्धविराम गर्नेमा आशावादी रहेको बताएका हुन् । रूसी सेनाले फेब्रुअरी २४ देखि युक्रेनमाथि आक्रमण थालेको हो ।

    रूसी राष्ट्रपति पुटिनले युक्रेन आक्रमणलाई रूसको विशेष सैन्य अभियान भएको बताइरहेका छन् । युक्रेन र पश्चिमा मुलुकहरूले भने पुटिनले युक्रेनमा हिंस्रक युद्ध गरिरहेको जनाएका छन् । रूसले केही दिनयता युक्रेनमा अत्याधुनिक हाइपरसोनिक क्षेप्यास्त्र दागिरहेको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ