• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    मोरङ घटनामा १ प्रहरी जवानको मृत्यु, ३२ जना घाइते, स्थित नियन्त्रणमा लिन कर्फ्यु आदेश जारी

    0.9K
    SHARES


    मोरङ । एक महिला प्रहरीको ज्यान जाने गरी मोरङको लेटाङमा भएको घटनाको छानबिन गरिने प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ । प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी अरुण बिसीले घटनाको छानबिन हुने बताएका हुन् ।

    ‘यत्रो ठूलो घटना भएको छ, प्रहरी जवानको नै मृत्यु भएको छ,हामी केही न केही छानबिन गर्छौं,’ बिसीले भने । बिसीले आक्रोशित स्थानीयको भीड नियन्त्रण गर्न गएको प्रहरीमाथि आक्रमण भएको बताए ।

    आइतबार दिउँसो भएको उक्त घटनामा परी २५ जना प्रहरी घाइते भएका छन् भने ७ जनासम्म सर्वसाधारण घाइते भएका छन् । घाइतेमध्ये १४ जना प्रहरीहरुको सामान्य उपचार गरिएको छ र बाँकी १ जना प्रहरीको विराटनगरस्थित न्यूरो अस्पतालमा र अरुको कोशी अञ्चल अस्पताल विराटनगरमा उपचार भइरहेको बिसीले जानकारी दिए ।

    यस्तै, घाइते भएका स्थानीय ७ जनामध्ये १ जनाको कोशी र १ जनाको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ । अन्य सामान्य उपचारपछि घर फर्केको प्रहरीले जनाएको छ ।

    सो घटनामा परी प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको छ । सर्वसाधरणको आक्रमणमा परी उनको मृत्यु भएको हो । मृतक श्रेष्ठ ३ वर्ष अगाडि प्रहरी सेवामा भर्ना भएकी थिइन् । उनको घर खोटाङ रहेको प्रहरीले बताए पनि विस्तृत विवरण दिएको छैन ।

    लेटाङमा कर्फ्यु आदेश
    यसैबीच, थप दुर्घटना हुन नदिन जिल्ला प्रशासन कार्यालय मोरङले लेटाङ गाउँपालिकामा कर्फ्यु आदेश जारी गरेको छ । प्रशासन कार्यालय मोरङले चिसाङ खोला पूर्व, मोरङ्गी खोला पश्चिम, लेटाङको वडा नम्बर ६ को कार्यालय दक्षिण र कमलपुरबाट उत्तर निषेधाज्ञा जारी गरेको हो ।

    बिहान ७ बजेदेखि निषेधाज्ञा कर्फ्यु जारी भएको जिल्ला प्रशासन कार्यालय मोरङले जारी गरेको सूचनामा उल्लेख छ । लेटाङ–५ खेरुवाको शिक्षा विकास माविकी छात्रालाई सोही विद्यालयका शिक्षक मनोज पौडेलले दुर्व्यवहार गरेको भन्दै विद्यार्थी र अभिभावकले दिनभर विद्यालय परिसरमा नाराबाजी र आगजनी गरेका थिए ।

    सोही क्रममा विद्यार्थी र अभिभावकको आक्रमणमा परी प्रहरी जवान श्रेष्ठको मृत्यु भएको हो । आइतबार बिहान ११ बजेदेखि अबेर रातिसम्म लेटाङ अशान्त बनेको थियो ।

    यसरी घट्यो घटना
    होलीका दिन गत शुक्रबार रङ खेल्दै घरमा आएका शिक्षक मनोज पौडेलले आफूलाई यौन दुर्व्यवहार गरेको १२ वर्षीया छात्राले बताएकी थिइन् । सामाजिक शिक्षा पढाउने ५६ वर्षीय पौडलको विषयमा छलफल गर्न आइतबार विद्यालयमा शिक्षक र अभिभावकको बैठक बसेको थियो । बैठकले पौडेललाई प्रहरीको जिम्मा लगाउने निर्णय गरेको थियो ।

    आरोपित शिक्षकलाई बाहिर निकाल्दा आक्रमण हुन सक्ने आकलन गर्दै शिक्षकहरूले प्रहरीलाई नै विद्यालय परिसरमा बोलाएका थिए । स्थानीय प्रशान्त निरौलाका अनुसार विद्यालयमा छलफल चलिरहँदा आक्रोशित भीड पस्यो र शिक्षकलाई बन्दी बनाएर आक्रमणको प्रयास गर्‍यो । स्थिति नियन्त्रणमा लिन आएको प्रहरीसँग झडप भएको हो ।

    यौन दुर्व्यवहार आरोपित पौडेललाई नियन्त्रणमा लिएर लैजान खोज्दा भीडले आक्रमण गर्दा प्रहरी जवान श्रेष्ठको मृत्यु भएको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए । उनका अनुसार आक्रोशित भीडले छुरा प्रहार गरेको थियो ।

    भीडले सवारीसाधनमा आगजनी र तोडफोड गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रुग्यास र हवाई फायर गरेको थियो । लेटाङ–८ का मिलन खड्का र आयुष लिम्बूलाई प्रहरीको गोली लागेको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ