काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगमाथि गम्भीर प्रश्न उठाएका छन् । मतपत्रमा निर्वाचन चिन्हका लागि प्रयोग गरिने रंगलाई लिएर प्रश्न गर्दै आएका उनले मनोनयन दर्ताका लागि दुई दिन छुट्याएकोमा समेत विरोध गरेका छन् ।
आइतबार इलाममा आयोजित पार्टी प्रवेश कार्यक्रममा ओलीले भने, मनेनयन दर्ताका लागि दुई दिन किन चाहियो ? (गठबन्धनमा) खटपट परेर कुरा नमिल्नसक्छ, भोलिपल्ट मिल्न सक्छ भनेर हो ?’ उनले अघि प्रश्न गरे, ‘पाँच दलीय गठबन्धनको खटपट मिलाउने काम निर्वाचन आयोगको हो ?’
ओलीले सत्ता गठबन्धनले निर्वाचन आयोगलाई दुरुपयोग गरेको बताएका छन् । उनले स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी मनोनयनको समय दुई दिन दिएकोमा आपत्ति समेत जनाए । उनले निर्वाचन आयोगलाई एउटा पार्टीको पक्षमा काम नगर्न चेतावनी पनि दिए ।
‘म निर्वाचन आयोगलाई भन्न चाहान्छु, निर्वाचन आयोगले एउटा पार्टीको पक्षमा काम गर्ने होइन निष्पक्ष भएर काम गर्नुपर्छ’, ओलीले भने, ‘अहिले निर्वाचन आयोगले चुनाव चिन्हमा रङ कुन दिने भन्दा रुखको रङ सवैलाई दिने रे । रुखको रङको पनि हरियो, सूर्यको पनि हरियो पारेर, कस्तो अचम्मको निर्वाचन आयोग देखा पर्यो ?’
काँग्रेसको रुख हरियो पार्न हरियो रङ चाहिएको भन्दै प्रश्न गरे । रङबारे दलहरूसँग निर्वाचन आयोगले परामर्श नगरेकोमा समेत आपत्ति जनाए । अध्यक्ष ओलीले सर्वोच्च अदालतप्रति पनि असन्तुष्टि जनाएका थिए ।
‘सार्वभौम सत्ता अदालतमा होइन, नेपाली जनतामा मात्रै छ । अदालतलाई मान्नु पर्दछ । संविधानको सर्वोच्चता अदालतले पनि मान्नु पर्दछ । अदालतले संविधानको व्याख्या गर्न सक्छ । संशोधन होइन’, ओलीको भनाइ छ
प्रतिक्रिया