काठमाडौँ । प्रधानमन्त्री शेर बहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । सहरी विकास मन्त्री राम कुमारी झाँक्रीका अनुसार देउवाले आइतबार दिउँसो चार बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।
नियमित मन्त्रिपरिषद्को बैठक सोमबार बस्ने भए पनि देउवाले आजका लागि बोलाएको बैठक महत्वपूर्ण रुपमा हेरिएको छ ।
यस्तै प्रधानमन्त्री देउवाले आगामी निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सबै प्रतिबद्ध हुनुपर्ने बताएका छन् ।
उलले आज काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिकाको पोखरी नारायणस्थानमा नवनिर्मित प्रशासकीय भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै निर्वाचनलाई सबै पक्षले निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्नुपर्ने आवश्यकता औँल्याए ।
“देश अहिले स्थानीय तहको निर्वाचनको सङ्घारमा छ, निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सबै प्रतिबद्ध हुनु आवश्यक छ”, उनले भने ।
प्रम देउवाले जनप्रतिनिधिले जनसवालका काम मात्र गरेर नहुने भएकाले काममा पारदर्शिता, गुणस्तरीयता, जवाफदेहिता र जनताको अपनत्व पनि सुनिश्चित गर्नसमेत आवश्यक रहेको बताए । उनले थपे, “त्यसतर्फ ध्यान दिन म गाउँपालिकाका सबै पदाधिकारीहरूलाई आग्रह गर्छु ।”
मुलुकमा तीन तहको सङ्घीय शासनप्रणाली लागू भएसँगै संविधानले स्थानीय तहलाई विकास निर्माण र सेवा प्रवाहको क्षेत्रमा विभिन्न महत्वपूर्ण अधिकार र जिम्मेवारी प्रदान गरेको उनको धारणा थियो । प्रम देउवाले नागरिकको नजिकको सरकार भनेकै स्थानीय तह भएकाले यस सरकारसँग अपेक्षा हुनु स्वाधाविक रहेको उल्लेख गरे ।
प्रतिक्रिया