रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका-९ मा दुई पक्ष बीच ग्याङ फाइट हुँदा पाँच जना घाइते भएका छन् । पुरानो रिसिबीका कारण नेपाली काँग्रेसका नगर सभापति राम अयोध्या यादव समुह र एमाले समर्थित वडा अध्यक्ष जगरनाथ यादव समुहबीच झडप भएको हो ।
काँग्रेस पक्षका फेंकु यादवको श्रीमती अनर्वा देवी र एमाले पक्षका पुनीत रायकी श्रीमतीबीच शनिबार दिउँसो भनाभन हुँदै सुरु भएको विवाद दुई पक्षबीच झडपमा परिणत भएको थियो ।
झडपमा परेर वर्ष ६० का फेंकु यादव, ५८ वर्षीय रामबाबु यादव, ५५ वर्षीया अनर्वा देवी, चुनचुन यादव र २५ वर्षीय रवीन्द्र यादव घाइते भएका छन् ।
घाइते मध्ये टाउकोमा चोट लागेका रामबाबु यादवको नेशनल मेडिकल कलेज वीरगन्ज र बाँकीको गरुडा स्थित विभिन्न अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी श्रीराम भण्डारीले बताएका छन् ।
घटनामा संलग्न रहेको आरोपमा नेपाली काँग्रेसका नगर सभापति राम अयोध्या यादव, वडा अध्यक्ष जगरनाथ यादवसहित दुवै पक्षका गरी ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गोनाही गाउँमा थप घटना हुन नदिन व्यापकरुपमा प्रहरी परिचालन गरिएको छ ।
रौतहटकै कटहरीया नगरपालिका–९ डुमरिया गाउँमा होली मनाउने क्रममा दुई पक्षबीच झडप भएको छ । शुक्रबार राति भएको झडपमा ई राउण्ड हवाई फायर भएको प्रहरीले जनाएको छ ।
तर कसले गो’ली चलायो भन्ने अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । झडपका क्रममा दुई पक्षबीच ढुंगा हानाहान भएको र घाइतेलाई उद्धार गर्न गएका तीन वटा एम्बुलेन्समा क्षति पुगेको प्रहरीले जानकारी दिएको छ ।
होली खेल्दै गर्दा बाबा डिस्टिलरीका सञ्चालक ओम प्रकाश जयसवाल र कटहरिया–९ डुमरियाका वडा अध्यक्ष रामाज्ञा यादव पक्षबीच भएको दोहोरो झडपमा दुवै पक्षका गरी तीन जना घाइते भएका छन् ।
घाइतेमध्ये वडा अध्यक्ष यादवका भतिज राजकुमार यादवको टाउकोमा गहिरो चोट लागेको र उनकै पक्षका महबुब मिंयाको अनुहारमा गहिरो चोट लागेको छ ।
उनीहरुलाई थप उपचारको लागि राति नै एम्बुलेन्सबाट विरगञ्ज पठाईएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी श्रीराम भण्डारीले जानकारी दिए ।
त्यसैगरी जयसवाल पक्षका घाइते जटाशंकर साहको गरुडास्थित एउटा नीजि अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । प्रहरीले वडा अध्यक्ष रामाज्ञा यादव सहित ५ जना लाई नियन्त्रणमा लिएर सोधपुछ गरेको छ ।
प्रतिक्रिया