काठमाडौं । युक्रेनमा आक्रमण गर्दै आएको रुसी फौजले मुलुकको पश्चिममा रहेको लभिभ शहरस्थित विमानस्थललाई लक्षित गरी क्षेप्यास्त्र प्रहार गरेको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएअनुसार पोल्यान्डको सीमानजिक रहेको लभिभ शहरबाट ६ किलोमिटरको दूरीमा रहेको डानिलो हल्यात्स्की विमानस्थललाई लक्षित गरी भएको आक्रमणमा विमान मर्मत गर्ने भवन ध्वस्त भएको स्थानीय अधिकारीले जनाएका छन् ।
कृष्ण सागरस्थित रुसी सैनिक क्षेत्रबाट चार क्रुज क्षेप्यास्त्र प्रहार गरिएको बताइएको छ । यस्तै युक्रेनी फौजको हवाई प्रतिरोधी दस्ताले अरु दुई क्षेप्यास्त्र बीच आकाशबाटै खसालेको दाबी गरेको छ ।
लभिभ शहरका मेयर आन्द्रेई सादोभीले घटनास्थलमा उद्धारकर्ताहरु खटिएको बताए । यद्यपि विमान मर्मत गर्ने सो भवन यसअघि नै बन्द अवस्थामा रहेकाले कुनै मानवीय क्षति भने नभएको उनको भनाइ छ ।
गत आइतबार रुसी फौजले लभिभ शहर नजिकै रहेको सैनिक तालिम केन्द्रमा आक्रमण गरेको थियो । हालसम्म लभिभ शहरमा उल्लेख्य सैनिक गतिविधि नभएपनि यो शहर युरोपका अरु देशबाट युक्रेनलाई प्राप्त हुने सहायता आपूर्ति र युक्रेनबाट बाहिर जाने शरणार्थीहरूका लागि प्रमुख केन्द्रको रुपमा रहँदै आएको छ ।
यता युरोपका पूर्व एवम् वर्तमान राजनीतिक नेताहरुले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई नोबेल शान्ति पुरस्कारका लागि मनोनयन गर्न नर्वेको नोबेल शान्ति समितिसमक्ष आग्रह गरेका छन् ।
‘त्यसैले हामी तपाई, समितिलाई आग्रह गर्छौँ– राष्ट्रपति जेलेन्स्की र युक्रेनी जनतालाई नोबेल शान्ति पुरस्कारमा मनोनयन गर्न मनोनयन प्रक्रिया मार्च ३१, २०२२ सम्मका लागि पुनः खुला गरियोस् ।’ मार्च ११ मिति राखेर जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।
नोबेल शान्ति पुरस्कारको मनोनयनको म्याद ३१ जनवरीसम्म रहेको बताइएको छ । नोबेल शान्ति समितिले यसबारे कुनै टिप्पणी गरेको छैन । यस वर्ष नोबेल शान्ति पुरस्कारका लागि ३४३ वटा मनोनयन प्राप्त भएको नर्वेजियन नोबेल प्रतिष्ठानलाई उद्धृत गर्दै एफपीले जनाएको छ ।
नोबेल शान्ति पुरस्कार दिइने व्यक्तिको नाम यसै वर्षको अक्टोबर ३ देखि १० सम्म सार्वजनिक हुने बताइएको छ ।
प्रतिक्रिया