• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    मधेश समाचार

    तराईमा आज होली मनाइँदै

    801
    SHARES


    काठमाडौँ । फागु पूर्णीमाको भोलिपल्ट आज तराईमा होली पर्व मनाइँदै छ। पहाडी क्षेत्रमा होली मनाएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने चलन छ । पहाडी जिल्लामा फागुन शुक्ल पूर्णिमाका दिन होली मनाउने र अष्टमीका दिन गाडिएको चीर ढलाई दहन गरेपछि होली पर्व सम्पन्न हुन्छ ।

    तराईका जिल्लाहरुमा आज रंग/अवीर दलेर शुभकामना साटासाट गर्दै, विभिन्न गीत गाउँदै होली पर्व मनाउने गरिन्छ । होली पर्व मनाउने तराईका जिल्लाहरुमा आज सार्वजनिक बिदा दिइएको छ ।

    असत्यमाथि सत्यको विजयको हार्षोल्लासका रूपमा होली मनाइन्छ। होलीसम्बन्धी अर्को किंवदन्ती पनि पाइन्छ। हिरण्यकस्यपुले विष्णुभक्त छोरा प्रह्लादलाई भष्म गर्ने उद्देश्यले अग्निमा नजल्ने वरदान पाएकी होलिकासँग अग्निमा राखेपछि होलिका स्वयं भष्म भएको तर प्रह्लाद सकुशल रहेको किंवदन्तीअनुसार पनि होली पर्व मनाउने गरिन्छ।

    यस्तै मधेश प्रदेशको प्राचीन मिथिलामा ‘महाकुम्भ’ भनिने मिथिला मध्यमा (माध्यमिकी) परिक्रमा सम्पन्न भएको छ । महोत्तरी, धनुषा र मित्रराष्ट्र भारतको मधुवनी जिल्लाका विभिन्न तीर्थस्थल घुम्दै १३३ किलोमिटरको वृत्ताकारमा गरिने १५ दिने मध्यमा परिक्रमा आज बिहान पावन नगरी जनकपुरधामको अन्तर्गृह परिक्रमा गरिएसँगै सम्पन्न भएको हो ।

    कूल १५ दिनको यस यात्रामा महोत्तरीमा पाँच, धनुषामा छ र भारतको मधुवनी जिल्लामा चार रात्रि बासको परम्परा छ । जनकपुरधामको रङ्गभूमि मैदानमा १५ औँ दिनको रात्रीबास गरेर १६ औँ दिन बिहान जनकपुरधामको अन्तर्गृह परिक्रमा गरेपछि मध्यमा परिक्रमा सम्पन्न हुने परम्परा छ ।

    जनकपुरधामको अन्तर्गृह भनिने परिक्रमालाई ‘पञ्चकोशी’ पनि भनिन्छ । फागुन औँसीका दिन धनुषाको ठेराकचुरीस्थित मिथिला विहारी मठबाट अवधविहारी (श्रीराम)को प्रतिमा राखिएको डोला बोकिएसँगै यो यात्रा प्रारम्भ हुन्छ । श्रीरामको डोला जनकपुर पुगेपछि अग्निकुण्ड स्थानबाट निस्कने श्री किशोरीजीको डोला मिसिएपछि यात्रा औपचारिकरुपमा प्रारम्भ हुने परम्परा छ ।

    रामसीताका प्रतिमा राखिएका डोलासँगै गरिने यो यात्रा मोक्षदायक, कल्याणदायक र आरोग्यदायक हुने हिन्दू मैथिल जनविश्वास छ । त्रेता युगमा श्रीराम र श्री सीताजीको विवाहपश्चात् यो जोडिले विहारकै क्रममा मिथिलाका विभिन्न क्षेत्रको भ्रमण गरेको सम्झनामा मिथिला माध्यमिकी परिक्रमा परम्परा सुरु भएको महोत्तरीको मटिहानीस्थित लक्ष्मीनारायण मठका सन्त रवीन्द्रदास वैष्णव बताउँछन् ।

    ‘यो मर्यादा पुरुष्वत्तम श्रीराम र मिथिला नन्दिनी श्री जानकीजीको पदचिन्ह पछ्याउने यात्रा नै हो’, सन्त वैष्णव भन्छन्, ‘यो यात्राको अभिष्ठ आरोग्यता, कल्याण र मोक्षको कामना नै हो ।’ हजारौँ हजार साधुसन्त, गृहस्थ जीवनका नरनारी १५ दिनभरि सांसारिक सबै कुरा बिर्सेर यो यात्रामा सहभागी हुँदै आएका परम्परा छ । मध्यमा यात्रा १८ औँ सताब्दीमा प्रारम्भ भएको मानिन्छ ।

    मिथिलामा बृहत् मिथिला परिक्रमा, मध्यमा मिथिला परिक्रमा र अन्तर्गृह (पञ्चकोशी) परिक्रमाको वर्णन मिथिला माहात्म्यमा गरिएको छ । हरिहरक्षेत्र, कोशी नदीसहित प्राचीन मिथिलाका सबै भेग पर्ने गरी हुने बृहत् मिथिला परिक्रमा अब हराइसकेको छ । अहिले बर्सेनि फागुन औँसीदेखि पूर्णिमासम्मको मध्यमा परिक्रमा हुँदैछ । यो परिक्रमा पनि अन्तर्गृह गरिएपछि पूरा भएको मानिन्छ । यद्यपि मध्यमा परिक्रमा गर्न नपाएका वा नभ्याएकाले यो पञ्चकोशी परिक्रमाबाटै मोक्षको कामना गर्छन् ।

    फागुन शुक्लपक्षभरिको यो यात्रा रामसीताका पदचाप पछ्याउने भनिए पनि यससँगै अन्य परम्परासमेत जोडिएको पाइन्छ । यात्राको १५ औँ दिनको राति ‘होलिकादहन’ र १६ औँ दिन बिहान अन्तर्गृह परिक्रमा टुङ्ग्याइँदै गरिदा ‘धुरा’ उडाउने परम्परा रामजानकी यात्राभन्दा फरक प्रसङ्ग भएको मटिहानीस्थित राजकीय संस्कृत माध्यमिक विद्यालयका प्राचार्य ईश्वरी पौडेल बताउँछन् ।

    ‘होलिकादहन’ र ‘धुरा’ उडाउने सत्ययुगकालीन घटना स्मरण गरिएको विश्वास गरिन्छ । दानवराज हिरण्यकशिपुले विष्णुभक्त छोरालाई मार्न आगोले नपोल्ने अभय वरदान पाएकी बहिनी होलिकाको काखमा छोरा प्रह्लादलाई अग्निकुण्डमा राखिँदा होलीका आगोले भष्म भएकी पुराणमा वर्णन छ। विष्णुभक्त प्रह्लादलाई भने आगोले नछोएको कथामा उल्लेख छ ।

    परिक्रमाको अन्तिम राति सोही घटनाको सम्झनामा दानवीय प्रकृतिकी होलीकाको अन्त्य भएको सम्झनामा उनको आकृतिलाई आगो लगाउने हिन्दू मैथिल परम्परा छ । भोलिपल्ट होलीका दहन गरिएको खरानीको धुलो उडाएर राक्षसी प्रवृति अन्त्य भएको खुसियाली मनाइएको पौराणिक कथालाई पछि ‘धुरा’ उडाउने भनिएको मानिन्छ।

    मिथिलामा मनाइने उल्लासको पर्व ‘होली’ यसै पौराणिक कथामा आधारित रहेको मैथिल बताउँछन् । सत्यको विजय र राक्षसी प्रवृत्तिको अन्त्यको प्रतिकका रुपमा ‘होली’ पर्व परम्परा चलेको याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ मटिहानीका सहप्राध्यापक ध्रुव राय बताउँछन् ।

    मध्यमा परिक्रमा यात्रा श्रीराम जानकीको पदचाप पछ्याउनै थालिएको र यसै अवधिमा सत्य युगकालीन भक्त प्रह्लाद सम्बन्धित घटना पनि जोडिएको हुँदा यात्रा परम्परामा ‘होलीका दहन’ र ‘धुरा’ उडाउनेसँगै होली पर्व परम्परा परेको पाका मैथिल बताउँछन् । जनकपुरधाममा ‘होली’ पर्व अन्तर्गृह परिक्रमामा ‘धुरा’ उडाइएको भोलिपल्ट मनाइने परम्परा रहँदै आएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ