• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    बागमती समाचार

    होलीका नाममा यी काम गरे सिधै पक्राउ, आज काठमाडौँमा के गर्न पाइन्छ के पाइदैन ?

    729
    SHARES


    काठमाडौँ । जिल्ला प्रशासन कार्यालय भक्तपुरले होली पर्वका नाममा जथाभावीरुपमा गैरकानुनी कार्य गरेमा तत्काल पक्राउ गरी कारबाही गर्ने भएको छ ।

    जिल्ला प्रशासन कार्यालयले बुधबार सार्वजनिक अपिल जारी गर्दै कसैको इच्छाविपरीत फोहोर पानी फाल्ने, केमिकलसहितको रङ दल्ने, प्लाष्टिकजन्य लोला हान्ने, रासायनिक पदार्थ छ्याप्ने, बाटोमा हिँड्ने व्यक्तिलाई अनावश्यक दुःख दिने, बाटो अवरोध गरी सवारी साधनबाट रकम असुल्ने, यातायात आवागमनमा अवरोध गरे कारबाही गर्ने भनेको छ ।

    प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले यसबारेमा सार्वजनिक अपिल जारी गर्दै कानुनले बन्देज लगाएका क्रियाकलाप नगर्न अनुरोध गरे । यस्ता कार्य गरेमा कानुनबमोजिम कारबाही गरिने उनले बताए ।

    सांस्कृतिक पर्व होली मनाउने क्रममा व्यक्तिको धार्मिक तथा सांस्कृतिक मूल्य मान्यतामा आँच आउने कुनै पनि कार्य नगर्न उनको आह्वान छ ।

    उनले ऐतिहासिक जिल्ला भक्तपुरमा होली मनाउँदा आ–आफ्नो धार्मिक, सांस्कृतिक, सामाजिक परम्पराको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गरी सभ्य, भव्य तथा सुसंस्कृतिरुपमा मनाउन आह्वान गरे ।

    फागु पूर्णिमालाई ध्यानमा राखी हुनसक्ने अप्रिय घटना नियन्त्रण गर्न उपत्यकामा करिब ४ हजार बढी प्रहरी परिचालित गरिँदै छ। काठमाडौं, ललितपुर र भक्तपुरले छुट्टै योजना बनाई सुरक्षा तयारी गरेको हो ।

    महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरका अनुसार उपत्यकामा अप्रिय घटना हुन नदिन सुरक्षा व्यवस्था कडा पारिएको छ। महानगरीय प्रहरी कार्यालयका अनुसार काठमाडौंमा करिब २ हजार ५ सय, ललितपुरमा ७ सय र भक्तपुरमा ४ सय प्रहरी परिचालित हुनेछन् ।

    त्योबाहेक आवश्यकताको आधारमा थप प्रहरी परिचालन गर्ने तयारी पनि भएको छ । होलीमा उपत्यकामा महानगरीय अपराध महाशाखाबाट सयभन्दा बढी सादा पोशाकमा खटाइने भएको छ।

    त्यसैगरी प्रहरीले सार्वजनिक गरेको होलीलक्षित सुरक्षा योजनाअन्तर्गत ४५ ठाउँमा मोबाइल भ्यान, ७३ कन्ट्रोल रूम भेहिकल (सीआरभी) र करिब ८० वटा मोटरसाइकल गस्ती गरिने बताइएको छ।

    प्रहरी टोलीसँगै मापसे चेकिङका लागि मुख्य सडकमा ट्राफिक परिचालित हुनेछन्।  काठमाडौं जिल्ला प्रशासन कार्यालयले करिब २ दर्जन स्थानमा मात्रै होली खेल्न आग्रह गरेको छ ।

    प्रहरीले होलीमा विशेष रमझम हुने काठमाडौंका वसन्तपुर दरबारक्षेत्र, पाटन दरबारक्षेत्र, भक्तपुर दरबारक्षेत्रमा विशेष सुरक्षा व्यवस्था गरेको छ । त्यस्तै तीनैवटा जिल्लाका पर्यटकीय क्षेत्र, ठूला सपिङमललगायतका स्थानमा सुरक्षा कडाइ गर्ने भएको छ।

    केही वर्षयता कोरोना भाइरसको महामारीका कारण होलीमा चहल पहल कम भएको थियो। कोरोना संक्रमण घटेसँगै यो वर्ष होलीमा बढी भिडभाड हुने भएकोले आवश्यकताको आधारमा प्रहरी परिचालन गर्ने योजना बनाइएको पनि प्रवक्ता राठौरले जानकारी दिए।

    होलीको पूर्व सन्ध्यामा होली पर्वलाई सभ्य र सुरक्षित तरिकाले सम्पन्न गराउन महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले सबै ट्राफिक इकाइ तथा इन्चार्जलाई ट्राफिक व्यवस्थापन कडा बनाउन निर्देशन दिनुका साथै खटिने प्रहरी कर्मचारीलाई बुधबार ब्रिफिङसमेत गरेका छन्।

    उच्छ्रृङ्खल तथा अवान्छित तरिकाले सवारीसाधनको प्रयोग गर्ने, तीव्र गति र जिकज्याक गरी मोटरसाइकल चलाउने, मादक पदार्थ सेवन गरी मोटरसाइकल हुइँक्याउने, मोटरसाइकलमा हेल्मेट नलगाउने, मोटरसाइकलमा तीन जनाभन्दा बढी सवार गरी चलाउने, सवारीसाधनको प्रयोग गरी महिलाहरूलाई लक्षित गरी रङ लोला हान्ने र अभद्र व्यवहार गर्ने, ठूलो आवाज निकाल्ने र मोडिफाई गरी सवारी चलाउने, सवारी चालक अनुमतिपत्र नभएकाहरूले सवारीसाधन चलाउने, ट्राफिक नियमविपरीत सवारी चलाउने माथि विशेष निगरानी गर्ने गरी महाशाखाले सुरक्षा योजना तयार गरेको जनाइएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ