• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    टीभीमा समाचार प्रसारण भइरहेका बेला स्टुडियोभित्र छिरेर सम्पादकले देखाइन युद्धविरोध प्लेकार्ड

    412
    SHARES


    एजेन्सी । रूसले छिमेकी युक्रेनमाथि आक्रमण गरेको आज (मंगलबार) २० औं दिन हो। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि विशेष सैन्य कारबाही भनेको यो आक्रमणका कारण २५ लाख बढी युक्रेनी नागरिकले देश छोड्नु परेको छ भने सयौं मानिसहरूले ज्यान गुमाएका छन्।

    संसारका धेरै मुलुकले युक्रेनमाथि रूसी आक्रमणको विरोध गरेका छन्। अमेरिकासहित पश्चिमा मुलुकहरूले रूसमाथि इतिहासकै सबैभन्दा कडा आर्थिक प्रतिबन्धहरू लगाएका छन्। रूसी आक्रमणको विरोध बाहिर मात्र होइन रूसभित्रै पनि हुन थालेको छ।

    सोमबार राति भएको एउटा विरोधको घटनाले भने अहिले संसारभरि चर्चा पाइरहेको छ। बेलायती पत्रिका द गार्डियनका अनुसार रूसी सरकारी स्वामित्वको टेलिभिजन च्यानल वानमा समाचार प्रसारण भइरहेका बेला एक जना महिलाले स्टुडियोभित्र छिरेर युद्धविरोध प्लेकार्ड देखाएकी छन्।

    च्यानल वानकी सम्पादक रहेकी मरिना ओभ्स्याननिकोभाले लाखौं रूसी नागरिकले हेर्ने उक्त समाचारका क्रममा ‘युद्ध रोक। युद्ध चाहिँदैन। यी प्रोपोगान्डामा विश्वास नगर्नुस्, यिनीहरूले झुट बोलिरहेका छन्। रूसी जनता युद्धको विपक्षमा छन्’ लेखिएको प्लेकार्ड देखाएकी थिइन्। मरिना स्टुडियोभित्र पसेर प्लेकार्ड देखाएपछि समाचार वाचिकाले चर्को स्वरमा समाचार पढेकी थिइन्।

    केही सेकेन्डसम्म मरिनाले प्लेकार्ड देखाएपछि टेलिभिजनमा अर्को रेकर्डेड सामग्री बजाइएको थियो। समाचारको बीचमा स्टुडियोभित्र छिरेकी मरिनालाई पक्राउ गरिएको छ। रूसी राष्ट्रपति पुटिनले केही दिनअघि मात्रै युक्रेनमाथि भएको आक्रमणलाई युद्ध भन्न नपाइने कानुन ल्याएका थिए।

    उक्त कानुनले यो आक्रमणलाई सञ्चारमाध्यमहरूले युद्ध भनेका खण्डमा १५ वर्षसम्म जेल हुन सक्ने व्यवस्था गरेको छ। गत फागुन १२ गते युक्रेनमाथि आक्रमण गरेपछि पुटिनले केही स्वतन्त्र सञ्चारमाध्यमहरूलाई बन्द गरिदिएका छन्। रूसी सरकारी सञ्चारमाध्यममा युक्रेन आक्रमणका तस्बिरहरू देखाइँदैन।

    सञ्चारमाध्यममा सबथोक सामान्य रूपमा चलिरहेको देखाइन्छ। यो सबै थाहा पाउँदापाउँदै मरिनाले विरोध गरेकी हुन्। टेलिभिजन समाचारमा प्लेकार्ड देखाउनुअघि उनले एउटा भिडिओ रेकर्ड गरेकी थिइन्।

    मानव अधिकारवादी मिडिया प्रोजेक्ट ओभिडी इन्फोबाट अहिले त्यो पनि प्रसारण भएको छ। उक्त भिडिओमा मरिनालाई वर्षौंदेखि रूसी प्रोपोगान्डा प्रसारण गर्दागर्दै आफू दिक्क भइसकेको बताएकी छन्।

    युक्रेनी झन्डासँग मिल्ने निलो र पहेँलो रङको नेकलेस लगाएकी मरिनाले उक्त भिडिओमा आफ्नीमा आमा युक्रेनी र बुवा रूसी भएको बताउँछन्। लामो समयदेखि आफूहरूले अमानवीय शासन व्यहोरिरहेको भए पनि अहिले रूसी आक्रमणको संसारले विरोध गरेको उनले बताएकी छन्।

    उनले रूसी नागरिकलाई यो आक्रमणको विरोधमा उत्रिन पनि आह्वान गरेकी छन्। मरिनाको उक्त कदमको अहिले संसारभर चर्चा भइरहेको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले उनको साहसको प्रशंसा गरेका छन्।

    सामाजिक सन्जालमा उनको भिडिओ भाइरल छ। उनको फेसबुक पेजमा ४० हजार बढी मानिसले प्रतिक्रिया जनाएका छन् तीमध्ये धेरैले उनको तारिफ गरेका छन्।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ