• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    बाराक ओबामालाई कोरोना संक्रमण, केछ अवस्था ?

    2K
    SHARES


    Obama

    काठमाडौं। अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामालाई कोरोना भाइरसको संक्रमण भएको छ । पूर्व राष्ट्रपति ओबामाले सामाजिक सञ्जाल ट्विटरमार्फत् जानकारी दिँदै आफूलाई कोरोना भाइरसको संक्रमण भएको बताएका हुन् ।

    ‘मेरो टेस्टमा भर्खरै कोरोना पोजेटिभ देखियो ।’ उनको ट्विटमा उल्लेख छ, ‘केही दिन देखि घाँटी दुखिरहेको थियो, तैपनि म तन्दुरुस्त नै छु ।’ उनको स्वास्थ्य अवस्था बिग्रिएपछि उनका साथी तथा हालका अमेरिकी राष्ट्रपति जो बाइडेनसमेत चिन्तित बनेका छन् ।

    पूर्व प्रथम महिला मिसेल ओबामा र आफू दुवैले कोरोनाविरुद्ध बुस्टर डोज खोप लगाइसकेको उल्लेख गर्दै ओबामाले अरुलाई पनि खोप लगाउन आह्वान गरे ।

    पछिल्लो समय कोरोना संक्रमण घट्दै जाँदा अमेरिकामा जनस्वास्थ्य मापदण्डहरू पनि विस्तारै खुकुलो पारिँदै लगिएका छन् । पछिल्लो साता औसतमा ३५ हजार नयाँ संक्रमित देखिएका थिए ।

    जोन्स होप्किन्स विश्वविद्यालयको आँकडाअनुसार अमेरिकामा कोरोना भाइरसका कारण हालसम्म ९ लाख ६७ हजार भन्दा धेरैले ज्यान गुमाइसकेका छन् ।

    त्यस्तै, अमेरिकाको संघीय रोग नियन्त्रण एवम् रोकथाम केन्द्रका अनुसार ७५ प्रतिशत भन्दा धेरै अमेरिकीहरूले पूर्ण खोपको मात्रा पाएका छन् भने ४७ प्रतिशतले बुस्टर डोज पनि लगाइसकेका छन् । यता भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या दिनप्रति दिन घट्दै गइरहेको छ ।

    भारतमा पछिल्लो २४ घण्टामा थप दुई हजार ५०३ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जानकारी दिएको छ । भारतमा कोरोनाभाइरस सङ्क्रमणको अहिलेसम्म पाँच लाख १५ हजार ८७७ को मृत्यु भएको छ ।

    तीमध्ये २७ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो । ती मध्ये केरला राज्यमा मात्र १५ जनाको मृत्यु भएको समाचारमा जाइएको छ । भारतमा हालसम्म कूल कोरोना सङ्क्रमितको संख्या चार करोड २९ लाख ९३ हजार ४९४ रहेको समाचारमा जनाइएको छ ।

    योसँगै भारतमा अहिले सक्रिय सङ्क्रमितको संख्या भने ३६ हजार १६८ रहेको अधिकारीले जनाएका छन् । सक्रिय सङ्क्रमितको यो संख्या कूल सङ्क्रमितको शून्य दशमलब ८ प्रतिशत रहेको जनाइएको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार सोही अवधिमा चार हजार ३७७ कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । एउटै अवधिमा नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै भएकाले सक्रिय सङ्क्रमितको सङ्ख्या पनि घट्दै गइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

    भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भइसकेकाको सङ्ख्या चार करोड २४ लाख ४१ हजार ४४९ पुगेको छ । भारतमा कोरोना भाइरस सङ्क्रमण मुक्त दर ९८ दशमलब ७२ प्रतिशत रहेको समाचारमा जनाइएको छ ।

    गत आइतबार एकै दिनमा भारतमा पाँच लाख ३२ हजार २३२ को कोरोना परीक्षण गरिएको जनाइएको छ । भारतमा कोरोना शुरु भएबाट हालसम्म ७७ करोड ९० लाखभन्दा बढी व्यक्तिको कोरोना परीक्षण भइसकेको छ ।

    भारत सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयबाट हालसम्म कोरोना भाइरसविरुद्धको एक अर्ब ८० करोड १९ लाखभन्दा बढी डोज खोप लगाइएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ