• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय समाचार

    रुस र युक्रेनबीच पुन: वार्ता हुँदै

    0.9K
    SHARES


    काठमाडौं । रुस र युक्रेनले सोमबार नयाँ चरणको वार्ता गर्ने भएका छन् । दुवै पक्षबीच आज भिडियो कन्फेरेन्समार्फत् वार्ता हुने अधिकारीहरूले बताएका हुन् ।  युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका सल्लाहकार एवं वार्ता टोलीका सदस्य मिखाइलो पोडोलियाकले ट्विटर गर्दै रुस र युक्रेनबीच भिडियो कन्फेरेन्समार्फत् वार्ता हुने जानकारी गराएका हुन् ।

    ‘भिडियो कन्फेरेन्समार्फत् वार्ता जारी रहने छ’ पोडोलियाकले आइतबारको ट्विटमा लेखेका छन्, ‘मार्च १४ अर्थात् सोमबार वार्तासम्बन्धी सत्र बसेर प्रारम्भिक नतिजाको निष्कर्ष निकालिने छ ।’ पोडोलियाकको ट्विटले पुन: वार्ता हुने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोभको भनाइलाई समेत पुष्टि गरेको छ ।

    यसअघि रुसी समाचार माध्यमले पेस्कोभलाई उदृत गर्दै सोमबार पुन: वार्ता सुरु हुने जनाएका थिए । रुसी र युक्रेनी सेनाबीच १९ दिनदेखि लडाइँ जारी छ । उक्त लडाइँ अन्त्य गर्ने प्रयास स्वरुप यसअघि भएका वार्तामा प्रगति भएको दुवै पक्षले दाबी गरेका छन् । सोही दाबीबीच पछिल्लो चरणको वार्ता हुन लागेको हो ।

    यस्तै यता युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनी तथा रुसी प्रतिनिधिहरूबीच जारी वार्तालाई जटिल तथा कठिन तर शान्तिसुरक्षाका निम्ति आवश्यक बताएका छन्। उनले युक्रेनी अधिकारीहरू दुई देशका नेताबीच प्रत्यक्ष शान्तिवार्ताका निम्ति प्रयत्नरत रहेको बताए। वार्ता मानिसहरूले पर्खिरहेको पनि उनले बताए।

    दुई पक्षबीचको थप कुराकानी सोमवार भिडिओ लिङ्कमार्फत् हुने बताइएको छ। आइतवार दुई पक्षका वार्ताकारहरूले सतर्कतापूर्ण आशा प्रकट गरेका थिए। यसबीच फ्रान्सका विदेशमन्त्री जाँ यिभ ल द्रियाँले एक फ्रेन्च रेडियोसँग कुरा गर्दै युक्रेनको लडाइँ लामो हुने भन्दै सबभन्दा खराब चरण आउनै बाँकी रहेको सम्भावना व्यक्त गरेका छन्।

    रुस-युक्रेन युद्ध जारी रहे विश्वमा गहुँ, तेल, ग्यास र कोइलाको चरम अभाव हुने
    केवल पश्चिमी प्रतिबन्धमात्रै होइन, युक्रेनमा रुसी हमलाले आपूर्ति शृङ्खलामा आएको समस्याले पनि बजारमा विभिन्न बस्तुको मूल्य बढेको छ । युक्रेनमा रुसको हमलापछि उक्त क्षेत्रको धातु र अन्नको आपूर्तिमा पनि रोकावट आएको छ । कयौं पश्चिमा देशले पहिले नै रुसी तेल र ग्यासको आयातमा प्रतिबन्ध लगाइसकेका छन् ।

    रुस र युक्रेनले विश्वको कमोडिटी बजारमा ठूलै रणनीतिक भूमिका निर्वाह गर्छन् । दुवै देश आधारभूत कच्चा पदार्थका ठूला निर्यातक हुन् । गहुँदेखि लिएर तेल, ग्यास, कोइला बाहेक अन्य मूल्यवान धातुका ठूला आपूर्तिकर्ता मुलुक हुन् युक्रेन र रुस ।तर रुस र युक्रेनको लडाइँले यी बस्तुको आपूर्ति रोकिएका छन् । यसले कोभिडबाट माथि उठ्दै गरेको विश्वको अर्थव्यवस्थालाई ठूलै धक्का लाग्ने आशंका पैदा भएको छ । तर चार किसिमका बस्तुहरु जसको आपूर्ति लामो समयसम्म रोकिएमा विश्व अर्थव्यवस्थाका सामु कठिनाइ खडा हुन सक्छ ।

    तेल–ग्यास
    रुसको अर्थव्यवस्था कच्चा तेल र ग्यासको निर्यातमा निर्भर रहँदै आएको छ । युक्रेनमाथिको हमलाभन्दा पहिले विश्वमा प्रयोग हुने प्रत्येक १० व्यारेलमध्ये १ व्यारेल कच्चा तेल रुसको हुने गर्दथ्यो । तर युद्धका कारण अमेरिका, क्यानडा र बेलायतले रुसी तेल र ग्यासको आयातमा प्रतिबन्ध लगाएका छन् ।विशेषज्ञका अनुसार लडाइँका कारण तेल र ग्यासको मूल्यमा वृद्धि हुन सक्छ । किनकि रुस १ दिनमा ५० लाख ग्यालन तेल निर्यात गर्छ । आपूर्ति रोकिनाले विश्वव्यापी बजारमा यसको पूर्ति गर्न मुश्किल हुने छ ।

    तेल निर्यातक देशका संगठन ओपेकका सेक्रेटरी जनरल मोहम्मद बराकिन्डोले रुसी उत्पादनको पूर्ति मुश्किल भएको बताए । जुन देशले रुसको तेल कम आयात गर्छन्, उनीहरुलाई पनि अप्ठ्यारो महसुस भएको छ । विश्वव्यापी बजारमा तेलको मूल्य अझै पनि बढ्न सक्छ ।

    दुवै देशलाई युरोपको ‘रोटीको टोकरी’ अर्थात् ‘ब्रेड बास्केट’ भनिन्छ । विश्व बजारमा आउने गहुँमा २९ प्रतिशत र मकैको १९ प्रतिशत हिस्सा युक्रेन र रुसको छ । सूूर्यमुखी तेलको सबैभन्दा ठूलो उत्पादक युक्रेन हो । यो मामिलामा रुस दोस्रो स्थानमा छ । एस एन्ड पी ग्लोबल प्लेटका अनुसार दुवै मिलेर सूूर्यमुखी तेलको उत्पादनमा ६० प्रतिशत हिस्सा राख्छन् । तर लडाइँका कारण कमोडिटीको भाउ १४ वर्षकै उच्च विन्दुमा पुगेको छ । विशेषज्ञका अनुसार लडाइँले अन्नको उत्पादनमा असर पर्छ । यदि रुस र युक्रेनको लडाइँका कारण आपूर्ति रोकियो भने अन्तर्राष्ट्रिय बजारमा गहुँको मूल्य दुुई गुुणाले वृद्धि हुनेछ ।

    टर्की र इजिप्टले आफ्नो आवश्यकताको ७० प्रतिशतन गहुँ रुस र युक्रेनबाट आयात गर्छन् । युक्रेन चीनको प्रमुख मकै आपूर्तिकर्ता मुलुक हो । वर्ल्ड फूडका निर्देशक डेभिड बेसले लडाइँका कारण विश्वभरि खाद्य पदार्थको मूल्यमा आउने वृद्धिले गरिब देशमा व्यापक असर पर्ने बताएका छन् ।

    मेटल
    रुस आल्मुनियमदेखि लिएर तामा र कार बनाउन प्रयोग हुने धातुको ठूलो निर्यातकर्ता मुलुक हो । यो विश्वको चौथो ठूलो आल्मुनियम निर्यातक हो । यो स्टिल, निकेल, पालाडियम र तामाको शीर्ष ५ निर्यातकमा समावेश छ । युक्रेन इन्डस्ट्रियल धातुको पनि व्यापक ठूलो उत्पादक हो । पालाडियम र प्लाटिनियमको निर्यात बजारमा पनि यसको महत्वपूर्ण हिस्सा छ । यसको अर्थ आगामी समयमा आल्मुनियमको डिब्बामा प्राप्त हुने बस्तु र तामाको तार महँगो हुन जान्छ ।

    लन्डन मेटल एक्सचेन्जका निर्देशक म्याथ्यू चेम्बरलेनले भने, ‘यस वर्षको सुरुवातदेखि हालसम्म आल्मुनियम र निकेलको मूल्यमा ३० प्रतिशतसम्म वृद्धि भइसकेको छ । यसको असर तल्लो तहसम्म जान्छ किनकि आल्मुनियमको डिब्बामा बिक्री हुने पेय पदार्थ महँगो हुन जान्छ । कपर वायरिङ पनि महँगो हुन जान्छ ।’

    वर्ल्ड गोल्ड काउन्सिलका अनुसार अस्ट्रेलिया र चीनपछि रुस सुनको तेस्रो ठूलो उत्पादक मुलुक हो । गत वर्ष रुसले ३५० टन सुन उत्पादन गरेको थियो । विगत केही दिनदेखि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढिरहेको छ । यदि रुस र युक्रेनको लडाइँ जारी रह्यो भने सुनको मूल्यमा थप वृद्धि हुनेछ ।

    रुस र युक्रेनबाट आपूर्ति हुने निकेल र पालाडियम पनि महँगो हुन सक्छ । पालाडियमको आपूर्तिमा प्रतिबन्ध लाग्यो भने विश्वभरि सवारी साधनको निर्माता कम्पनी सामु कठिनाई आउन सक्छ । निकेलको प्रयोग लिथियम–आइरन ब्याट्री बनाउनमा हुन्छ । मार्चको सुरुवातमा यसको मूल्य ७६ प्रतिशतले बढिसकेको छ । पालाडियम पनि महँगो भइरहेको छ । यसको प्रयोग कारमा क्याटालिक कन्भर्टर बनाउनमा हुन्छ । विश्वभरिमा पालाडियमको उत्पादनमा ३८ प्रतिशत हिस्सा रुसको छ ।

    नियोन
    युक्रेन क्रिप्टाने र नियोन जस्ता शुद्ध ग्यासको प्रमुख आपूर्तिकर्ता हो । नियोनको प्रयोग सेमिकन्डक्टर बनाउनमा हुन्छ । यो कार बनाउनमा प्रयोग हुन्छ । ट्रेडफोर्सको डेटा अनुसार विश्वमा निर्यात हुने शुद्ध नियोन ग्यासमा युक्रेनको हिस्सा लगभग ७० प्रतिशत छ । अमेरिकामा चिप उद्योगले जति नियोन ग्यासको प्रयोग गर्छ, त्यसको ९० प्रतिशतभन्दा बढी हिस्सा युक्रेनबाट आउँछ । यो आपूर्तिमा अवरोध आयो भने माइक्रेचिपको व्यापक कमी उत्पन्न हुन सक्छ । गत वर्षदेखिनै माइक्रोचिपको आपूर्ति घटेको छ ।

    मूडिज एनालाइटिक्सको टिम यूवाले हालैको एक रिपोर्टमा लेखेको छ, ‘रुसले विश्वको ४० प्रतिशत पालाडियमको आपूर्ति गर्छ । युक्रेन पनि विश्वमा आपूर्ति हुने नियोनको आपूर्तिमा ७० प्रतिशतको हिस्सा राख्छ । यदि लडाइँ अझै बढ्यो भने विश्वभरिमा चिपको अभाव हुन सक्छ ।’ २०१४–१५ मा पनि जब क्राइमियाको विषयलाई लिएर युक्रेनमा लडाइँ भइरहेको थियो, नियोनको मूूल्यमा कयौं गुुणा वृद्धि भएको थियो । यसबाट पनि सेमिकन्डक्टर उद्योगका लागि युद्धबाट हुने संकट कत्तिको गम्भीर छ भन्ने बुझ्न सकिन्छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ