• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    प्रकाश सपुतको विवादित गीतबारे प्रचण्डले मुख खोले, दिए यस्तो प्रतिक्रिया

    1.3K
    SHARES


    धनगढी । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रकाश सपुतको गीत ‘पीर’को म्युजिक भिडियोमा भइरहेको विवादबारे प्रतिक्रिया दिएका छन् ।

    माओवादीका जनवर्गीय संगठनसँगै केही नेताहरुले सपुतको उक्त गीतको म्युजिक भिडियो युट्युबबाट हटाउनुपर्ने चेतावनी दिइरहेका बेला प्रचण्डले सोमबार धनगढी विमानस्थलमा पत्रकारसँग भने, ‘मैले पूरै गीत हेर्न पाएको छैन, मिडियाबाट थाहा पाएको हुँ । अहिले हामी कोही उत्तेजित हुनुपर्ने पनि छैन ।’

    शान्ति प्रक्रियामा ल्याएर माओवादीले बर्बाद गर्‍यो भन्ने पनि नरहेको उल्लेख गर्दै प्रचण्डले जनयुद्धप्रति हल्का टिप्पणी गर्न पनि नमिल्ने बताए । तर, यो विषयमा सयौं वर्षसम्म पनि बहस रहने उल्लेख गर्दै प्रचण्डले तर्क/वितर्क,पक्ष/विपक्षलाई स्वभाविक रूपले लिनुपर्ने बताए । जनयुद्धबाट शान्ति प्रक्रियामा आउनु ठिक थियो कि थिएन भन्नेमा पनि बहस भइरहने उनले बताए ।

    यता प्रकाश सपुतको पछिल्लो गीत ‘पीर’ ले माओवादी खेमामा खैलाबैला मच्चाएको छ। माओवादी जनयुद्धका कथावस्तुमा तयार पारिएको भिडियोलाई लिएर माओवादी नेताहरुले विरोध जनाएका छन्। भिडियोका दृश्यका कारण यतिबेला सामाजिक सञ्जाल दुई खेमामा बाँडिएका छन्।

    माओवादी नेता-कार्यकर्ताहरुले सामाजिक सञ्जालमा रोष प्रकट गर्दै गर्दा आम सामाजिक सञ्जालकर्ताहरुले भने प्रकाश सपुतको समर्थन गरेका छन्। उनीहरुले माओवादी नेता कार्यकर्तामाथि जाइलागेका छन्। पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपा माओवादी केन्दका भातृ संगठनहरुले प्रकाश सपुतको पीर गीतको विरोध गर्दै वक्तव्य जारी गरेका छन।

    हाल चर्चामा रहेको सपुतको ‘पीर’ गीतबारे संयुक्त विज्ञप्ति जारी गर्दै माओवादी केन्द्रका भाृतसंगठनहरुले गीत युट्युबबाट हटाउनका साथै माफी माग्न चेतावनी दिएका छन्।

    संयुक्त प्रेस विज्ञप्तिको पूर्णपाठ

    २०७८ फागुन २७ गते शुक्रबार प्रकाश सपुत युट्यूव च्यानलबाट सार्वजनिक गरिएको म्यूजिक भिडियो ‘पीर’ले चित्रण गरेको विषयवस्तुप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। दश बर्षे महान जनयुद्धमा जनमुक्ति सेनाहरुले गरेको योगदानप्रति अपमान गर्दै जनयुद्धलाई नै विदु्रपीकरण गर्न खोजिएको उक्त म्यूजिक भिडियो सार्वजनिक गरिएको घटनाप्रति हामी घोर आपत्ति प्रकट गर्दै तत्काल युट्यूव च्यानलबाट हटाउन जोडदार माग गर्दछौं।

    दश बर्षे जनयुद्धले व्यवस्था परिवर्तन गरे पनि योद्धाहरुको जीवन परिवर्तन नभएको उद्घोषबाट सुरु गरिएको म्यूजिक भिडियोमा जनमुक्ति सेना र घाइते योद्धाहरुलाई अहिले आफ्नो जीवन धान्नको लागि देह व्यापार र परस्त्रीगमनमा लागेको भ्रमपूर्ण दृश्यहरु देखाइएको छ।

    भिडियोको अन्तमा शून्यताको प्रतिविम्ब प्रदर्शन गर्दै देश छोड्नु पर्नेसम्मको निकृष्ट, कपोकल्पित, झूट, राजनैतिक पूर्वाग्रह साँधिएको छ। महिलाहरुको चरित्र हत्या गरी अश्लील र घोर अपमानजनक ढंगले प्रस्तुत गरिएको छ। यस गलत क्रियाकलापको जति निन्दा गर्दा पनि कम हुन्छ। उनले विगतमा बजारमा ल्याएका अन्य म्यूजिक भिडियोहरुका कारण पटक पटक विवादित हुँदै आएका थिए। पछिल्लो भिडियोमा पनि उनले समाजको संवेदनशील विषयलाई दुरुपयोग गर्दै अप्रासांगिक दृश्य र संवाद राखेर आफु चर्चामा आउने वदनियत राखेका छन्।

    जनयुद्ध र जनआन्दोलनमा जीवनको वलिदानीलाई गौरव ठान्ने योद्धाहरु आज राष्ट्र, राष्ट्रियता र संविधानको रक्षा गर्ने महत्वपूर्ण अंगहरुको नेतृत्व गरिरहेका छन्। साथै उत्पादनसँगको संघर्षमा पनि सामुहिक रुपले आफ्नो जीवनयापनको निम्ति श्रमरत छन्।

    भलै हिजो उठाइएका कतिपय मुद्दाहरुमा सम्बोधन अपुग भएको छ तर जनयोद्धाहरुलाई जीविकाको कारण देखाई देह व्यापारमा लागेको देखाउनु निकै भ्रामक र दुराशयपूर्ण छ। सिङ्गो परिवर्तनकारी शक्तिको मानमर्दन गर्ने, घृणा र द्वेष फैलाउने कार्यका साथै विचारधारात्मक तथा राजनैतिक मुलप्रवाहलाई नै मजाक गरिएको अभिव्यक्ति एवं दृश्य माओवादी आन्दोलनको लागि खेदपूर्ण छ।

    सामन्तवादी राजतन्त्रात्मक राज्य व्यवस्थाको अन्त गरी संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्नुका साथै वर्गीय, जातीय, लिङ्गीय एवं क्षेत्रीय उत्पीडन एवं सबैखाले विभेदको अन्त्य गर्न जनयुद्धको महत्वपूर्ण देन रहेको छ। हिजो जनताको न्यायपूर्ण विद्रोहलाई दवाएर सामन्तवादको रक्षामा तल्लीन प्रतिक्रियावादी राजनैतिक शक्तिहरु आजको संघीय लोकतान्त्रिक गणतन्त्रको हिमायती बन्न खोजेका छन्। उनीहरुको समेत उपहास हुने गरी निर्माण गरिएको म्यूजिक भिडियो प्रकाश सपुतको मात्र सिर्जना मान्न सकिदैन।

    यसको पृष्ठभूमिमा प्रतिगामी तत्वहरुले वैचारिक र राजनीतिक रुपमा परिचालन र संरक्षण गर्न खोजिएको कुरा सजिलै अनुमान गर्न सकिन्छ। भिडियोको सारवस्तु समग्रमा ऐतिहासिक जनआन्दोलन, दश बर्षे जनयुद्धमा होमिएका महिलालाई देह व्यापार र पुरुषलाई परस्त्रीगमनजस्तो अनैतिक कार्यसँग तुलना गर्नुरजोड्नु अत्यन्तै दुःखद र आपत्तिजनक छ। यसर्थ नितान्त पूर्वाग्रही, झुट र भ्रामक कार्य गर्ने उपर तुरुन्त कानुनी कार्वाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउँछौं। साथै उक्त म्यूजिक भिडियो युट्यूव च्यानलबाट तुरुन्त हटाई यस्ता निन्दनीय गतिविधि तुरुन्त बन्द गर्न र आम नेपाली जनतासामु सार्वजनिक रुपमा अपराध स्वीकार गरी माफी माग्नसमेत आग्रह गर्दछौं।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ