• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    विदेशीले नेपालमा दुई दलीय व्यवस्था ल्याउन चाहेका छन्- प्रचण्ड

    370
    SHARES


    काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विदेशी शक्तिहरू नेपालमा दुई दलीय व्यवस्था स्थापना गर्न लागिपरेको बताएका छन्।

    आइतबार विराटनगरमा आयोजित पार्टीको प्रदेश–१ स्तरीय प्रशिक्षण कार्यक्रममा उनले माओवादीलाई सिध्याएर दुई दलीय व्यवस्था ल्याउन विदेशी शक्ति लागेको दाबी गरे। तर, कुन विदेशी शक्तिले त्यस्तो गरिरहेको भन्नेबारे उनले थप खुलाएनन्।

    विदेशी षड्यन्त्र असफल पार्न आफ्नो दलले संघ, प्रदेश र स्थानीय तहको निर्वाचन जित्नैपर्ने उनको भनाइ थियो। ‘आउँदो संघ, प्रदेश वा स्थानीय निर्वाचनमा हामी क्रान्तिकारीलाई सिध्याउन र दुई दलीय सिष्टम स्थापित गर्न ‘इन्टरनेशनल रियाक्सन’ लागेको छ’, उनले भने, ‘चुनावको ‘ब्याटल’ जितिएन भने हाम्रो पार्टी र उम्मेदवारले मात्र हार्ने होइन। नेपाल राष्ट्रले हार्छ, जनक्रान्तिका उपलब्धि हार्छ, समावेशी, समानुपातिक लोकतन्त्र हार्छ।’

    माओवादीलाई घेराबन्दी गरेर कमजोर पार्ने कोसिस भए फेरि कठोर संघर्षको बाटोमा जानुपर्ने अवस्था आउन सक्ने भन्दै त्यसका लागि तयार रहन प्रचण्डले कार्यकर्तालाई निर्देशन दिए।

    ‘निर्वाचनको ब्याटललाई समान्य रूपमा नलिनुहोला’, उनले भने। प्रचण्डले समावेशी लोकतन्त्र र संघीय लोकतान्त्रिक गणतन्त्रप्रति आफूहरुको निरन्तरको निष्ठा रहेकाले त्यसलाई उल्ट्याउने षड्यन्त्र असफल पार्न परिस्थितिले जे माग गर्छ त्यहीँ गर्न तत्पर रहेको उल्लेख गरे।

    प्रचण्डले पहिलो संविधानसभा निर्वाचनपछि गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति नबनाएर आफूबाट गल्ती भएको कार्यकर्तामाझ स्वीकार गरे। ‘ठूलो पार्टीका रूपमा स्थापित भएपछि हाम्रो खुट्टा भुइँमा भएन। गिरिजाप्रसाद कोइराला विचरा, त्यो बुढो मान्छे। जोसँग हस्ताक्षर गरेर शान्ति सम्झौता भएको हो। उहाँले राष्ट्रपति बन्न खोज्दा दिइएन’, प्रचण्डले भने, ‘खुरूक्क गिरिजाप्रसादलाई राष्ट्रपति दिन पाएको भए पाँचै वर्ष हाम्रो सरकार हुन्थ्यो। अहिले फर्केर हेर्दा अनौठो लाग्छ।’

    यस्तै रूक्मांगद कटवाललाई प्रधानसेनापतिबाट हटाउन डा. बाबुराम भट्टराई र रामबहादुर थापा बादलले अनावश्यक दबाब दिएको प्रचण्डले बताए। तीन महिनामा कार्यकाल सकेर घर जान लागेका कटवाललाई चलाउँदा माओवादीले सरकारको नेतृत्वसहित धेरै विषय गुमाएको स्मरण उनले गरे।

    ‘दायाँ र बायाँ बस्नेहरू ठोक भन्छन् । म अली उदार मान्छे। दायाँ बाबुराम छन् बायाँ बादल छन्’, उनले भने, ‘बढो क्रान्तिकारी भएर तीन महिनापछि जान लागेको रुक्मांगद कटलाललाई हटाउँदा सरकार, राष्ट्रपति सबै गयो।’ त्यतिबेला प्रचण्ड प्रधानमन्त्री थिए भने बाबुराम अर्थ तथा बादल रक्षामन्त्री थिए।

    प्रचण्डले २०७४ को निर्वाचनपछि कांग्रेस सभापति शेरबहादुर देउवा र मधेस केन्द्रित दलका नेता बारम्बार आफ्नो निवास खुमलटार आएर पाँच वर्षका लागि एकलौटी प्रधानमन्त्री बन्न आग्रह गर्दासमेत बामगठबन्धनको भावनाअनुसार केपी ओलीलाई प्रधानमन्त्री बनाएको बताए। तर, चार वर्षमै आफूले पटकपटक बुढानिलकण्ठ गएर देउवालाई प्रधानमन्त्री बनिदिन आग्रह गर्नुपर्ने अवस्था आउनुलाई उनले विचित्रताको संज्ञा दिए।

    ‘२०७४ को चुनावपछि शेरबहादुरजी र मधेसवादी दलका नेताहरू खुमलटार आउनुहुन्थ्यो र मलाई प्रधानमन्त्री भइदिनुहोस्। पाँच वर्षको निम्ति एकलौटी माओवादीले मात्र सरकार चलाए हुन्छ भन्नुहुन्थ्यो। मैले हुँदैन हामीले वाम गठबन्धन गरेर चुनाव लड्यौं। कम्युनिष्टहरुलाई एकताबद्ध गर्न भनेर चुनाव लडिएकाले अहिले मैले काँग्रेस र मधेसवादी दलको समर्थन लिएर प्रधानमन्त्री भएँ भने अरुले के भन्छन् थाहा छैन । मैले आफैंले आफैंलाई धिक्कार भन्नुपर्ने हुन्छ । त्यस्तो प्रधानमन्त्री मलाई मान्य छैन भनेर इन्कार गरेको थिएँ’, उनले भने, ‘तर, चार वर्ष बित्दानबित्दै मैले फेरि बुढानीलकण्ठ देउवाजीलाई तपाई प्रम भइदिनुस् हामी साथ दिन्छौं भन्ने परिस्थिति पैदा भयो। यसलाई राजनीतिको विचित्र बिडम्बना भन्नुपर्छ । राजननीतिमा कुनै पनि कुरा असम्भव छैन भन्ने यसबाट देखिन्छ।’ देउवालाई प्रधानमन्त्री बन्नका लागि मनाउन आफूलाई हत्तौं लागेको उनले सुनाए।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ