• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    नेपालमा रूसभन्दा युक्रेनबाट भित्रिन्छ १० अर्ब बढीका सामान, के-के आउँछ यी २ देशबाट?

    1.2K
    SHARES


    काठमाडौँ । शक्तिशाली देश रूसले युक्रेनमाथि आक्रमण गरेको आज पन्ध्र दिन भयो। युक्रेन रूससँग युद्धको सामना गरिरहेको छ। दुई देशको लडाइँबीच विश्व अर्थतन्त्र भने अन्योलमा छ।

    यसको सबैभन्दा बढी असर पेट्रोलियम पदार्थ, सुन, खाद्यान्न लगायतमा देखिएको छ। रूस पेट्रोलियम पदार्थ उत्पादनमा विश्वकै तेस्रो स्थानमा पर्ने देश हो। त्यस्तै रूस र युक्रेन दुवै कृषि उत्पादन निर्यात गर्ने देश हुन्। ती देशबाट हाम्रोमा सिधै कृषि उत्पादन आयात नभए पनि अन्य सामग्री आयात हुने गरेको छ।

    हामीकहाँ पनि युक्रेन र रूसबाट विभिन्न सामग्री आयात हुन्छ। यो आर्थिक वर्षको सात महिना (साउनदेखि माघसम्म) रूस र युक्रेन दुवै देश गरी १८ अर्ब ७३ करोड मूल्य बराबरका सामग्री आयात भएको भन्सार विभागको तथ्यांक छ। यसमध्ये रूसबाट चार अर्ब ३१ करोडको सामान आयात भएको हो।

    रसियाबाट आएका सामानहरू यस्ता छन्- वालपेपर, पशुका लागि आवश्यक खोप, लत्ताकपडा, खेलौना, भान्साका सामान, सूर्यमुखीको कच्चा तेल तथा दाना, रसायन, स्याम्पू, साबुन, स्मार्टकार्ड, धनियाँको दाना, किताब–कापी, पोष्टकार्ड, हवाइजहाजका पाटपूर्जा तथा सामग्री, जर्नल–पत्रिका, तोरीको दाना, मेडिकल सामग्री, लुब्रिकेन्टस्, चकलेट र सौन्दर्य सामग्री।

    युक्रेनबाट भने रूसबाट भन्दा धेरै सामान नेपाल भित्रिन्छ। खासगरी लत्ताकपडा, मेडिकल सामग्री, सूर्यमुखी दाना, मोबाइल तथा ग्याजेटहरू, धनियाँको दाना, विद्युतीय सामग्री तथा पार्टपुर्जा, भाँडाकुँडा, सौन्दर्य सामग्री, केराउ, कुकुर र बिरालोको खानेकुरा जस्ता सामान युक्रेनबाट आएको छ।

    यी सामानको मूल्य १४ अर्ब ४२ करोड रूपैयाँ बराबर छ। रूसबाट भन्दा युक्रेनबाट झन्डै दस अर्ब बढीको सामान नेपालमा भित्रिन्छ। यीमध्ये अन्य फुटकर सामान थोरै परिमाणमा आएका हुन् भने सूर्यमुखी र तोरीको दाना तथा कच्चाको ठूलो हिस्सा छ।

    दुवै देशबाट सबभन्दा बढी यहाँ आयात हुने सूर्यमुखी, तोरीको दाना र कच्चा तेल हो। भन्सार विभागको पछिल्लो तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउनदेखि माघसम्म युक्रेनबाट मात्र दस अर्ब ३४ करोड मूल्य बराबरको भटमास र सूर्यमुखीको कच्चा तेल तथा दाना आयात भएको छ।

    त्यस्तै, रसियाबाट तीन अर्ब ३४ करोड मूल्य बराबरको तोरीको दाना र सूर्यमुखीको कच्चा तेल आयात भएको छ। प्रशोधित तेल उत्पादनका लागि आयात हुने कच्चा तेल युक्रेन र रूसबाट आयात हुने नेपाल चामल, तेल, दाल उत्पादक संघका अध्यक्ष सुवोध कुमार गुप्ताले जानकारी दिए।

    अब कच्चा तेल पठाउने दुवै मुलुक द्वन्द्वमा भएपछि के हामीकहाँ तेल अभाव हुन्छ ? गुप्ता भन्छन्, ‘अभाव त हुँदैन, तर महँगी १० देखि १५ प्रतिशत बढ्छ।’

    यसै पनि खाने तेलको भाउ निरन्तर उकालो लागिरहेको छ। खुद्रा व्यवसायी तथा नेपाल चेम्बर अफ कमर्सको आपूर्ति समितिका अनुसार हाल बजारमा भुटेको तोरीको तेल प्रतिलिटर तीन सय ४० रूपैयाँ पर्छ। काँचो तोरीको तेल दुई सय ५०, भटमासको दुई सय ३० र सूर्यमुखी दुई सय ५० रूपैयाँ छ।

    यहाँ मात्रै नभएर विश्वमै रूस र युक्रेनले सूर्यमुखी तेल, मकै, गहुँ लगायतका खाद्यान्न पूरै विश्व बजारमै पुर्‍याउने भएकाले महँगीको मार दीर्घकालीन रहने उत्पादक संघका अध्यक्ष सुवोध कुमार गुप्ता बताउँछन्। अर्कातिर राष्ट्र बैंकले अहिले सामान आयात गर्दा शतप्रतिशत पैसा मार्जिन राख्नुपर्ने व्यवस्था गरेकाले महँगी झनै बढ्ने उनको भनाइ छ।

    ‘सबै लगानीकर्ताले एकैपटक नगद पैसा तिर्न सक्दैनन्,’ उनले भने, ‘राष्ट्र बैंकको निर्णयले आयात निरूत्साहित गरेको छ। यसबाट आयातित सामानको भाउ महँगिने देखिएको छ।’

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ