• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    सभामुख सापकोटा र फ्रान्सेली संसदीय प्रतिनिधिमण्डलबीच शिष्टाचार भेट

    730
    SHARES


    काठमाडौँ। सभामुख अग्निप्रसाद सापकोटा र फ्रान्स–नेपाल संसदीय मैत्री समूहका अध्यक्ष भेरोनिक रियोटन​ नेतृत्वको प्रतिनिधिमण्डलबीच शिष्टाचार भेट भएको छ ।

    सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बुधबार भएको भेटमा सभामुख सापकोटाले नेपाल र फ्रान्सबीच ७३ बर्ष देखिको कुटनीतिक सम्बन्ध सुमधुर र उदाहरणीय रहेको बताए ।

    उनले कोभिड १९ विरुद्ध लड्न फ्रान्सले चिकित्सा क्षेत्रमा र कोभ्याक्स अन्तरगतको सहयोगका लागि फ्रान्स सरकार र फ्रान्सेली जनतालाई धन्यवाद ज्ञापन गरे ।

    सभामुख सापकोटाले नेपालको आर्थिक र सामाजिक विकासमा फ्रान्सको सहयोगका लागि आभार व्यक्त गर्दै कोभिड पछिको आर्थिक पुनरुत्थानमा सहयोग रहने विश्वास व्यक्त गरे ।

    सभामुख सापकोटाले नेपाल र फ्रान्सबीच पर्यटन, कृषि र व्यापारको क्षेत्रमा थप सहकार्यको सम्भावना रहेको चर्चा गर्दै नेपालले सन् २०२६ मा कम विकसित राष्ट्रको स्थितिबाट स्तरोन्नतिका लागि दुई देशबीचको साझेदारी महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।

    स्वतन्त्रता, समानता र भातृत्वको विषयमा नेपाल र फ्रान्सको समान दृष्टिकोण रहेको बताउँदै उनले दुई देशबीचको सम्बन्धलाई जनस्तरसम्म पुर्याउनु पर्नेमा जोड दिएका थिए ।

    जलवायु परिवर्तनका कारण सृजित समस्या सम्बोधनका लागि फ्रान्सको भूमिका महत्वपूर्ण हुने बताउँदै सभामुख सापकोटाले सन् २०१५ को पेरिस सम्झौता स्मरणीय रहने भन्दै शान्तिका लागि सहकार्य र समझदारी आवश्यक रहेको बताए ।
    ‘बुद्धको देशको सभामुखको हैसियतले भन्छु, विश्व शान्तिका लागि सबैले आ–आफ्नो स्थानबाट पहल गरौं’, सापकोटाको भनाइ छ ।

    भेटमा फ्रान्स–नेपाल संसदीय मैत्री समूहका अध्यक्ष भेरोनिक रियोटन​ले आफ्नो टिमलाई नेपालमा गरिएको आतिथ्यताका लागि आभार व्यक्त गर्दै सम्मानित महसुस गरिरहेको बताए ।

    दुई देशबीच आपसी सहयोग र सहकार्यका लागि छलफल गरेर क्षेत्र छनौट गर्न सकिने उनको भनाइ थियो । प्रतिनिधिमण्डलमा सहभागी अन्य सदस्यहरुले फ्रान्सको तल्लो सदन नेशनल एसेम्ब्लीले गरेका अभ्यासहरूबारे जानकारी गराउँदै दुई पक्षीय भ्रमण आदान प्रदानबाट दुबै संसदका लागि सिकाइको अवसर हुने धारणा राखेका थिए ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया