• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    सभामुखदेखि आयोगसम्म, को-को छन् ओलीको टार्गेटमा ?

    671
    SHARES


    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार, सभामुख, अदालत र निर्वाचन अयोग एमालेको विरुद्धमा रहेको आरोप लगाएका छन् । मंगलबार अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा काठमाडौँमा अखिल नेपाल महिला संघले गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सरकार अदालतले मुद्दा जिताइदिएर बनाएको र सभामुख स्वेच्छाचारी भएको दाबी गरे ।

    उनले निर्वाचन आयोगले आगामी निर्वाचनमा हरियो रङ्गको चुनाव चिन्ह राख्ने निर्णय अमान्य हुने बताए । अध्यक्ष ओलीले सरकार, अदालत, सभामुखका साथै निर्वाचन आयोग समेत एमालेको विरुद्धमा लागिरहेको आरोप लगाउँदै आयोगको सो निर्णयबारे पदाधिकारीहरूसँग कुरा गर्ने बताए ।

    उनले के का लागि हरियो रङ्गको चुनाव चिह्न बनाउन लागेको भन्दै प्रश्न गरे । अध्यक्ष ओलीले भने–‘मतपत्रमा हरियो रङ्गको चुनाव चिह्न राख्ने निर्णय भयो रे ? हरियो चिन्ह किन राख्ने ? के कारणले राख्ने, निर्वाचन आयोगले बताउनुपर्‍यो ? हो कि हैन निर्वाचन आयोगले बताउनुपर्‍यो । निर्वाचन आयोगसँग सोध्न पाएको छैन, म अत्यन्तै व्यस्त छु । उहाँहरूसँग सोधुँला बुझुँला ।’

    अध्यक्ष ओलीले अगाडि भने–‘यदि हो भने कुन हिसाबले राख्ने ? यो राजनीतिक हिसाबले राख्ने हो ? के हिसाबले हरियो चिन्ह राख्ने हो ? अथवा कसैको हरियो चिन्ह देखिने छ, त्यसकारण राख्ने ? आँखा कमजोर हुने जनताले सबै चिन्ह रुखै रुख देखुन् भनेर राख्ने हो ? किन हरियो राख्ने ? यदि हैन मिडियाले गलत लेखेको हो भने मिडियाले सच्याउनुपर्छ, यदि आयोगको निर्णय हो भने आयोगले सच्याउनुपर्छ । हरियो सरियो हुँदैन ।’ उनले अहिलेको सरकार चुनावबाट आएको नभई मुद्दा जितेर आएको भन्दै व्यङ्ग्य गरे ।

    सभामुख स्वेच्छाचारी भए
    अध्यक्ष ओलीले सभामुख अग्नि सापकोटाको आलोचना गर्दै सभामुखले मनपरी गरेको आरोप लगाए । उनले सभामुख स्वेच्छाचारी भएको टिप्पणी गर्दै एमालेप्रति विभेद गरेको बताए ।

    सभामुख सापकोटाले तमासा देखाएको आरोप लगाउँदै उनले भने–‘सभामुखको तर्फबाट नियम कानुन भन्ने कुराको कुनै मतलब छैन । स्वेच्छाचारिता, मनपरितन्त्र, कुनै पार्टीको अध्यक्षले ब्यक्तिगत तवरमा गरेको निर्णयका आधारमा सूचना जारी गरिदिने, कुनै पार्टीले केन्द्रीय कमिटीले निर्णय गरेको पार्टीको सरकार ढाल्ने, पार्टी फुटाएर हिँड्ने, प्रतिक्रियावादीहरूलाई फाइदा पुर्‍याउने, दुई तिहाइको आसपासमा पुगेको वामपन्थी आन्दोलनलाई चकनाचुर पारेर दक्षिणपन्थीहरूको पाउ मोल्न जानेहरूलाई निकालेको पनि सदर नगरी सभामुख बसिरहेका छन् ।’

    उनले परमादेशबाट मुद्दा जितेर बनेको सरकार एमालेको विरोधी स्वाभाविक भएको बताउँदै मुद्दा जितेर पनि कहीँ सरकार बन्छ भन्दै प्रश्न गरे । उनले भने–‘अव मुद्दा जितेर कोही स्थानीय तहको मेयर बन्छ रु मुद्दा जितेर मन्त्री, प्रधानमन्त्री बन्ने कस्तो जमाना आयो । लोकतन्त्र भनेको छ मुद्दा जितेर आएको छ ।’ उनले समृद्ध नेपाल सुखी नेपाली भनेर आफूले पढाए पनि आफ्ना विरोधीहरूले त्यो सिक्नै नसकेको दाबी गरे ।

    अहिलेको लडाइँ परमादेशी र जनादेशीबीचको हो
    अध्यक्ष ओलीले राजनीतिमा अबको लडाइँ सत्य र असत्यबीचको भएको उल्लेख गरेका छन् । मंगलबार नै पोखराको एक कार्यक्रममा सहभागी भएका ओलीले राजनीतिमा अबको लडाइँ सत्य र असत्यबीचको हुने उल्लेख गरे ।

    उनले सत्य र असत्यको लडाइँ बेलाबेलामा हुने गरेको दृष्टान्त दिँदै अबको लडाइँ परमादेशी र जनादेशीबीचको भएको बताए । उनले एमाले जनताको पक्षमा लड्ने पार्टी भएको पनि बताए ।

    उनले भने, ‘सत्य र असत्यको लडाइँ समय समयमा हुन्छ, कहिले रावण र रामका बीचमा हुन्छ । कहिले पाण्डव र कौरवका बीचमा हुन्छ । कहिले कृष्ण र कंशका रूपमा हुन्छ । अनेक रूपमा सत्य र असत्यका बीचमा लडाइँ हुन्छ । आजको परमादेशी र जनादेशीका बीचमा भएको लडाइँ हो । \असत्यको प्रतीकको लडाइँ भनेको परामादेशी शक्तिहरू हुन् । जनादेशको पक्षमा रहेका जनादेशमा जाने जनताको अभिमतबाट अघि बढ्न खोज्ने हामी जनताको पक्षमा लडिरहेका छौँ ।’ अध्यक्ष ओलीले राजनीतिक मैदानका सर्वश्रेष्ठ सिद्धान्तबाट एमाले अघि बढ्ने बताए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ