काठमाडौँ। श्रीलंका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले लगातार दोस्रो जित हात पारेको छ ।मंगलबार पनि नेपाली टोलीले श्रीलंकन नेभीविरुद्धको खेलमा ८१ रनको जित हात पारेको हो ।
यसअघि सोमबार भएको खेलमा पनि नेपालले नेभीलाई १११ रनले पराजित गरेको थियो । नेपालले दिएको १ सय ९७ रनको लक्ष्य पछ्याएको श्रीलंका नेभी ३०.५ ओभरमा १ सय १५ रनमै समेटियो ।
नेपालका पवन सर्राफले ३ र दीपेन्द्रसिंह ऐरीले २ विकेट लिए ।यस्तै बिक्रम सोब, सन्दीप लामिछाने र कुशल भुर्तेलले समान १÷१ विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४३.४ ओभरमा सबै विकेट गुमाएर १ सय ९६ रन बनाएको थियो ।नेपालका दीपेन्द्र सिंह ऐरीले ६३ रनको अर्धशतकीय इनिङ्स खेले ।
त्यसबाहेक भिम सार्कीले २८, विवेक यादबले २६, पवन सर्राफले २२ तथा कप्तान सन्दीप लामिछानेले अविजित १४ रन थपे । पूर्वकप्तान ज्ञानेन्द्र मल्ल १, कुशल भुर्तेल ३, रोहित कुमार पौडेल ८, बिनोद भण्डारी २, बिक्रम सोबले १ रनमै आउट भएका थिए ।
संयुक्त अरब इमिरेट्स (युएई) मा हुने आइसिसी विश्वकप लिग–२ को अन्तिम तयारी स्वरुप नेपालले श्रीलंकामा अभ्यास खेलहरु खेलिरहको छ । त्यहाँ नेपालले चार अभ्यास खेल खेल्नेछ ।
चार अभ्यास खेल सकिएपछि नेपाल त्यतैबाट युएई प्रस्थान गर्नेछ । विश्वकप लिग–२ मा नेपालले पहिलो खेल मार्च १६ मा पपुवा न्युगिनीसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।
प्रतिक्रिया